
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार अधिनायकवादी सत्ता चलाउने प्रयास गरिरहेको बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानले आयोजना गरेको छलफलका कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकार नागरिकको मुख थुन्नतर्फ लागेको बताएका हुन् । ‘राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ,’ थापाले भने ।
४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा आयोजित वृहत् बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्याउने कुनै अधिकार राज्यले राख्दैन ।’
आफ्नो निवास अगाडि पनि गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडीमा चढेर गएको स्थानीय बासिन्दाबाट जानकारी पाएको थापाले बताए । सोमबार थापाको निवास अगाडि पनि गाडी तेर्स्याइएको थियो ।
कानुनले दिएको निकास नखोजेर सरकार आफैले समस्या सिर्जना गरिरहेको उनले बताए । ‘सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको छ,’ उनले भने ।
कांग्रेसको छलफलमा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति र प्रतिष्ठानका सदस्यको उपस्थिति थिए ।
प्रतिक्रिया