
भरतपुर । चितवनको खैरहनीमा बालिकामाथि यौनजन्य दुर्व्यवहार र सामाजिक सञ्जालमार्फत अश्लील सामग्री पठाई उत्पीडन गरेको आरोपमा एक होटल संचालक पक्राउ परेका छन् । खैरहनी नगरपालिका– १० बस्ने ३५ वर्षीय विकास कुमार श्रेष्ठलाई प्रहरीले बालबालिका विरुद्धको कसुरमा नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार श्रेष्ठले खैरहनी नगरपालिकामा सञ्चालित आफ्नो ‘होटेल नमस्ते मिलिजुली खाजा घर’ मा काम गर्ने १७ वर्षीया बालिकालाई गत असार १९ गते होटलकै कोठामा बोलाएर अनैतिक प्रस्ताव राखेका थिए ।
उनले बालिकालाई ५० हजार रुपैयाँ नगदको प्रलोभन देखाउँदै शारीरिक सम्पर्कका लागि दबाब दिएको र बालिकाले उक्त प्रस्ताव अस्वीकार गर्दा यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा समातेर जबरजस्ती दुर्व्यवहार गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यति मात्र नभई, आरोपी श्रेष्ठले बालिकाले प्रयोग गर्ने ह्वाट्सएप र इन्स्टाग्राममा आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूबाट निरन्तर अश्लील शब्द, सन्देश तथा अश्लील भिडियोहरू समेत पठाएर मानसिक तनाव दिने गरेको अनुसन्धानबाट खुलेको छ ।
उक्त घटनाबारे पीडित बालिकाका तर्फबाट गत असार २७ गते ईलाका प्रहरी कार्यालय खैरहनीमा जानकारी गराइएको थियो । घटनाको सूचना प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोलीले होटल सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार पक्राउ परेका श्रेष्ठमाथि बालबालिका विरुद्धको कसुर अन्तर्गत थप कानुनी कारबाही र अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ ।
प्रतिक्रिया