
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियानकर्ता दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं उत्रिएलगत्तै प्रहरीले विशेष सुरक्षा घेरामा राखेर उनको घरसम्म पुर्याएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ प्रसाईंलाई काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईको गाडीमा हालेर सिधै गन्तव्यतर्फ लगिएको प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरीका अनुसार विमानस्थल संवेदनशील र निषेधित क्षेत्र भएको हुनाले त्यहाँ हुन सक्ने सम्भावित विरोध कार्यक्रम वा तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै सुरक्षाका कारण उनलाई एसपीको गाडीमा राखेर घर पुर्याइएको हो ।
प्रसाईं काठमाडौं आउने भएपछि विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । सम्भावित भीडभाड र प्रदर्शनलाई रोक्न प्रहरीले विमानस्थलको मुख्य गेटबाटै पत्रकार तथा दुर्गा प्रसाईंका समर्थकहरूलाई भित्र प्रवेश गर्न दिएको थिएन भने भित्र पनि व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको थियो ।
प्रसाईं आउने क्रममा विमानस्थल पुगेका युट्यूवरहरूले भित्र पस्न पाएनन् । प्रहरीले उनीहरूलाई विमानस्थलको गोल्डेन गेटमै रोकेर राखेको थियो । अचम्म चाहीँ के भयो भने प्रसाईँ विमानस्थलबाट प्रहरीको गाडीमा निस्किए ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले प्रसाईं विमानस्थलमा ओर्लिनासाथ नियन्त्रणमा लिएर आफ्नो गाडीमा हालेका थिए । पछिल्लो समय सुकुम्बासीहरुको उठिवासलगायतका विषयमा सरकारको चौतर्फी आलोचना भइरहँदा प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएर माहोल झनै भड्काउने डरले प्रहरीले यो कदन चालेको बुझिएको छ ।








प्रतिक्रिया