लागूऔषधको चपेटामा मधेस

युवा पुस्तामा डरलाग्दो कुलत, अपराध नियन्त्रणमा चुनौती

जनकपुरधाम । नेपाल–भारत खुला सीमाको दुरुपयोगसँगै मधेस प्रदेशमा लागुऔषधको ओसारपसार र प्रयोग दुवै बढ्दै गएको छ । सीमावर्ती भारतीय बजारबाट प्रतिबन्धित लागुऔषध सहजै नेपाल भित्रिन थालेपछि विशेष गरी किशोर र युवा पुस्तामा यसको लत चिन्ताजनक रूपमा बढेको छ । लागुऔषधको कुलतले पारिवारिक, सामाजिक र व्यक्तिगत जीवनमा गम्भीर असर पार्नुका साथै चोरी, लुटपाट, हिंसा र अन्य आपराधिक गतिविधिसमेत बढाएको सरोकारवालाहरू बताउँछन् ।

भारतसँग सीमा जोडिएका मधेस प्रदेशका ८ जिल्लामा करिब ३६५ किलोमिटर खुला सीमा छ । सीमापारका बजारमा लागुऔषध सहजै उपलब्ध हुने र निगरानी चुनौतीपूर्ण रहेकाले यसको अवैध ओसारपसार रोक्न कठिन हुँदै गएको सुरक्षा निकायको भनाइ छ । प्रहरीका अनुसार धनुषामा मात्रै पछिल्लो ३ वर्षमा लागुऔषधसम्बन्धी १७० वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा २२० जना पक्राउ परेका छन् । पक्राउ पर्ने तथा प्रयोगकर्तामध्ये अधिकांश १५ देखि २८ वर्ष उमेर समूहका युवा छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार गएको असार १ देखि २४ गतेसम्म प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषधसहित ८० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । सो अवधिमा गाँजा, ब्राउन सुगर, ट्रामाडोल, नाइट्राजेपाम, स्पास्मो, कोडिन फोस्फेटलगायत विभिन्न लागुऔषध बरामद गरिएको छ । जेठ महिनामा मात्रै ५२ जना पक्राउ परेका थिए भने ओसारपसारमा प्रयोग भएका १३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको थियो । खुला सीमाका कारण फरार प्रतिवादी नियन्त्रणमा लिन पनि चुनौती बढेको प्रहरी बताउँछ । जेठ महिनामा मात्रै मधेस प्रदेशका विभिन्न जिल्लाबाट ५२९ फरार प्रतिवादी पक्राउ परेका थिए ।

गृह मन्त्रालयको सर्वेक्षणले पनि मधेस प्रदेशमा २० वर्षमुनिका लागुऔषध प्रयोगकर्ताको संख्या राष्ट्रिय औसतभन्दा उल्लेख्य रूपमा बढी रहेको देखाएको छ । सर्वेक्षणअनुसार प्रदेशका १४.८ प्रतिशत प्रयोगकर्ता २० वर्षभन्दा कम उमेरका छन्, जबकि राष्ट्रिय औसत ७.४ प्रतिशत मात्रै छ । लागुऔषधको बढ्दो प्रयोगसँगै चोरी, लुटपाट, हिंसात्मक घटना, सामाजिक विकृति र सवारी दुर्घटनासमेत बढेको सुरक्षा निकायको निष्कर्ष छ । अभिभावकको कमजोर निगरानी, गलत संगत, बेरोजगारी तथा सीमापारबाट हुने अवैध आपूर्तिलाई यसको प्रमुख कारण मानिएको छ ।

मधेस प्रदेश प्रहरीले सञ्चालन गरेको लागुऔषध प्रयोगकर्ता खोजी तथा सुधार अभियानअन्तर्गत गत २ महिनामा ४ हजार ९१६ जनाको परीक्षण गर्दा २६४ जना लागुऔषध प्रयोगकर्ता फेला परेका थिए । तीमध्ये २२० जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने २३ जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार देशभर लागुऔषधसम्बन्धी पक्राउ पर्नेको संख्या पनि निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ४ हजार ६२६ जना पक्राउ परेकामा आर्थिक वर्ष २०८१÷८२ मा यो संख्या बढेर ७ हजार ८९० पुगेको छ । सीमा क्षेत्रबाट भित्रिने लागुऔषध मधेसमा मात्र सीमित नरही देशका अन्य भागसम्म पुग्ने गरेको तथ्यांकले देखाउँछ ।
वरिष्ठ चिकित्सक डा. रामनरेश पण्डितका अनुसार लागुऔषधको समस्या मधेसमा स्वास्थ्य मात्र नभई सामाजिक संकटका रूपमा देखिन थालेको छ । किशोर तथा युवा पुस्ता जिज्ञासा, साथीहरूको दबाब, बेरोजगारी, पारिवारिक निगरानीको कमी र मानसिक तनावका कारण कुलतमा फसिरहेका छन् । समयमै उपचार र मनोसामाजिक परामर्श नपाए डिप्रेसन, आत्महत्या, हिंसा तथा दीर्घकालीन मानसिक समस्या निम्तिन सक्ने उनको भनाइ छ ।

वरिष्ठ चिकित्सक डा. प्रमोद यादवले अस्पतालमा लागुऔषधका कारण उपचारका लागि आउने युवाको संख्या बढ्दै गएको बताए । उनका अनुसार ब्राउन सुगर, नसालु ट्याब्लेटलगायत लागुऔषधले व्यक्तिको स्वास्थ्य, पढाइ, रोजगारी र पारिवारिक जीवनमा गम्भीर असर पु¥याइरहेको छ । प्रहरी कारबाहीसँगै समुदायस्तरमा जनचेतना र पुनस्र्थापना सेवाको विस्तार आवश्यक रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भारतसँगको खुला सीमाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहे पनि सीमावर्ती क्षेत्रमा निगरानी, विशेष अपरेसन, सूचना संकलन र अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाइएको जनाएको छ । लागुऔषध कारोबारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने र विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिइएको प्रहरीको भनाइ छ ।

सरोकारवालाहरूका अनुसार लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा निगरानी थप कडा बनाउनुका साथै परिवार, विद्यालय, समुदाय र तीनै तहका सरकारबीच समन्वय आवश्यक छ । लागुऔषधविरुद्धको अभियान प्रहरीको मात्रै जिम्मेवारी नभई राज्य र समाजको साझा दायित्व भएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया