युएईका विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गर्ने ९ जना कन्सन्टेल्सीका सञ्चालकहरू पक्राउ

काठमाडौं । युएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गरेको अभियोगमा ९ जना कन्सन्टेल्सीका संचालकहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं डिल्लीबजारस्थित Eduport Pvt. Ltd. कन्सल्टेन्सीका संचालकहरू गोकर्णेश्वर नगरपालिका-८ माकलबारी घर भएका ४० वर्षीय रूपक कोईराला, कास्की घर भएका ३७ वर्षीय राजेश भण्डारी, बारा घर भएका ३७ वर्षीय सन्तोष खतिवडा, काठमाडौं पुतलीसडकस्थित Westford Education Pvt. Ltd. कन्सल्टेन्सीका संचालक काठमाडौं चावहिल बस्ने चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), काठमाडौं बानेश्वरस्थित प्रोप एभिएसन प्रालि कन्सल्टेन्सीका संचालकहरू ललितपुर पाक्साटोल बस्ने ३८ वर्षीय सुरेन्द्र महर्जन, सर्लाही घर भएका ३५ वर्षीय दिवस पोखरेल, सिराहा घर भएका २६ वर्षीय मनित आचार्य, धनकुटा घर भएका ३९ वर्षीय शेखर पाण्डे र काठमाडौं कालिमाटीस्थित एस्पायर ग्लोवल प्रालि कन्सल्टेन्सीका संचालक सुनसरी घर भएका २७ वर्षीय विशाल चापागाई रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौंस्थित विभिन्न स्थानमा कन्सल्टेन्सी संचालन गरी नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिलका लागि युएईमा संचालित शैक्षिक संस्थाहरूलाई अनुमति दिने आधिकारिक, उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय MOHESR/ Commission for Academic Accreditation (CAA) बाट समेत स्वीकृति नलिएको कलेजमा अध्ययन गराउन पठाई सो अध्ययन मार्फत फ्रान्स तथा अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेजमा Credit Transfer समेत हुने भनी झुक्यानमा पारी ठगी गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया