धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

आज बिहान बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित त्यसमा सवार ५ जना र उपमेयर सवार गाडीका ३ जना गरी कुल ८ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ ।

एम्बुलेन्समा सवार घाइतेहरूमध्ये चालक मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्र कुमार महतो, गौशाला नगरपालिका(५ का ४५ वर्षीय बसन्त कुमार सिंह, मिथिला नगरपालिका–९ की ६० वर्षीया राजु देवी र सोही ठाउँका ६५ वर्षीय लक्ष्मी महतोको अवस्था सामान्य रहेको छ ।

एम्बुलेन्समा सवार गौशाला नगरपालिका–५ की ४० वर्षीया रेणु कुमारी महतोको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै, सरकारी गाडीमा सवार धनुषाधाम नगरपालिकाकी उपमेयर ६५ वर्षीया विद्या भुजेल, चालक ५० वर्षीय बद्री भुजेल र ७० वर्षीय भीमराज भुजेल पनि घाइते भएका छन् र उनीहरूको अवस्था सामान्य रहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया