
काठमाडौं । नेपाली लोकसांगीतिक क्षेत्रमा मौलिक स्वाद बोकेको नयाँ लोकदोहोरी गीत ‘मदनले झैँ मुनालाई’ सार्वजनिक भएको छ । कलाकार रायन बस्यालको शब्द, संगीत, कथा तथा निर्देशनमा तयार भएको गीतमा प्रताप दास र सुष्मा लोहनीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा मुना लोहनीको अभिनयले गीतलाई थप जीवन्त बनाएको छ ।
राजधानीमा आयोजित विशेष समारोहबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष तथा गायक कुलेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यमा गीतको भिडियो सार्वजनिक गरिएको हो । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा कला, संगीत र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सुष्मा लोहनीको प्रस्तुतिमा सार्वजनिक भएको गीतको संगीत संयोजन चर्चित संगीतकार कृष्ण विक ‘भान्जा’ले गरेका हुन् । गीतमा प्रेम, विछोड र नेपाली समाजको जीवन्त यथार्थलाई भावुक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा रायन बस्याल, सन्जना गुरुङ र सुष्मा लोहनीको सशक्त अभिनय देख्न सकिन्छ ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि कुलेन्द्र विश्वकर्माले गीतले नेपाली लोकसंगीतको मौलिकता र सांस्कृतिक भावनालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै रायन बस्यालको निर्देशन र सम्पूर्ण निर्माण टोलीको मेहनतको प्रशंसा गरे । उनले यो गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिक लोकसंस्कृतिमा आधारित सिर्जनाहरूको संरक्षण र प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए । रायन बस्यालजस्ता युवा सर्जकले नेपाली समाजको यथार्थलाई समेटेर सिर्जना गरेका गीतलाई सबैले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।
विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको ‘मदनले झैँ मुनालाई’ गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
प्रतिक्रिया