
ललितपुर । लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘Emotional Intelligence: Perspective on Faculty Retention’ पुस्तकको बिहीबार ललितपुरस्थित एलए स्कुल प्रिमाइस हलमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ । अपरान्ह् ३ बजेबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि एल ए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठ रहेका थिए भने पेन इन्टरनेसनल नेपाल च्याप्टरका अध्यक्ष भीष्म उप्रेतीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा एलएका फाइनान्स हेड राजेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै अनुसन्धानमुखी शैक्षिक प्रकाशनले नेपालको उच्च शिक्षामा नयाँ बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पूर्व प्लेफ्टिनेन्ट जनरल, अवकाशप्राप्त) पीबी लिम्बु विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
पुस्तकमाथिको समीक्षा पत्रकार तथा अध्येता सुजना घिमिरेबाट सुरु भएको थियो। उनले पुस्तकले भावनात्मक बौद्धिकताको महत्वलाई उच्च शिक्षा व्यवस्थापनसँग जोड्दै समसामयिक बहस अघि सारेको बताइन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM) की एसोसिएट डिन एसोसिएट प्रोफेसर डा. रोशी लामिछानेले भावनात्मक बौद्धिकता आजको नेतृत्व विकासको अपरिहार्य आधार बनेको उल्लेख गरिन् । अन्त्यमा काठमाडौं विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक तथा पूर्व डिन प्रोफेसर डा. पन्ना थापाले पुस्तकले अनुसन्धान, सिद्धान्त र व्यवहारलाई प्रभावकारी रूपमा जोडेको भन्दै यसलाई उच्च शिक्षाका नेतृत्वकर्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा व्याख्या गरे ।

लेखक डा. मित्रबन्धु पौडेलले आफ्नो लेखन यात्रा केही साझा गरे । आफ्नो लेखन यात्राबारे अनुभव सुनाउँदै भावनात्मक बौद्धिकतालाई गहिरो रूपमा बुझ्ने उद्देश्यले पुस्तक तयार पारेको बताए ।
प्रमुख अतिथि उमेश श्रेष्ठले अहिलेको कृत्रिम बौद्धिकता (Artificial Intelligence) को युगमा भावनात्मक बौद्धिकता (Emotional Intelligence) को महत्व झन् बढेर गएको बताए । प्रविधिले धेरै काम सहज बनाए पनि मानवीय संवेदनशीलता, सहानुभूति, सम्बन्ध व्यवस्थापन र भावनात्मक नेतृत्वको कुनै विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षीय मन्तव्यमा भीष्म उप्रेतीले ‘Emotional Intelligence: Perspective on Faculty Retention’ प्रकाशित गर्नु पेन इन्टरनेसनल नेपाल च्याप्टरका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले शिक्षा, अनुसन्धान तथा संस्थागत व्यवस्थापनमा नयाँ बहस सुरु गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन एलए स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले गरेका थिए । कार्यक्रममा शिक्षा, साहित्य, सञ्चार, अनुसन्धान, सार्वजनिक सेवा तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया