
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनाधिकृत पहुँच पुर्याएर ठगी गर्ने एक जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला लिखु गाउँपालिका– ४ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने १९ वर्षीय विवेक सुनार रहेका छन् ।
प्रहरीका अनुसार सुनारले पीडितहरूको फेसबुक अकाउन्ट ह्याक गरी अनाधिकृत रूपमा नियन्त्रणमा लिने र त्यसपछि पीडितकै पहिचान प्रयोग गरेर उनका आफन्त तथा साथीभाइलाई भ्रममा पारी रकम माग गर्ने गरेका थिए ।
यसरी रकम माग गरी ठगी गरेको भन्दै पीडितले दिएको निवेदनका आधारमा साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण सुरु गरेको थियो । ब्यूरोबाट खटिएको टोलीले उनलाई यही असार २४ गते बुधबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सुनारमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । अपराधको थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पाँच दिन को म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
प्रतिक्रिया