
हाम्रो समाजमा अहिले पनि केही रोग यो उमेरमा हुन्छ, यसमा हुँदैन भनेर हेरेको पाइन्छ । तर, रोगहरू यसरी बिस्तारीकरण हुँदै छन् कि, सबै उमेर समूहमा सबै रोगले प्रवेश पाएको छ । कसलाई कुन उमेरमा के रोग लाग्छ भन्न सक्ने अवस्था छैन । पछिल्लो समय नसर्ने रोगले विकराल बन्दै गएको हाम्रो समाजमा बालबालिका पनि उत्तिकै प्रभावित भएको पाइन्छ । निकै जोखिम र महँगो रोगमा पर्ने नसर्ने रोगको प्रभाव साना बालबालिकामा पनि उत्तिकै रहेको पाइन्छ ।
रोगहरूकै भिडमा निकै चुनौती बनेको मानसिक स्वास्थ्य समस्याले बालबालिबालाई पनि छोडेको छैन । खासगरी तनावपूर्ण जीवनयापन गर्ने युवा वा पाकालाई मात्रै हुन्छ भन्ने यो समस्या पछिल्लो समय बालबालिकामा पनि उत्तिकै भएको पाइन्छ । धेरैलाई विश्वास लाग्दैन, बालबालिकालाई के को तनाव, के को चिन्ता ? कसरी हुन्छ मानसिक समस्या ? तर, प्रश्न एकातिर छ, समस्या भने बिस्तारै फैलँदै छ । बच्चालाई पनि यो समस्या हुनसक्ने विज्ञको भनाइ छ । कसैमा बाल्यकालको सुरुआतबाटै यसको लक्षण देखिन सक्छ । जसले पछि गएर जीवनको गुणस्तरमै प्रभाव पार्न सक्छ ।
पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्दो क्रममा रहेको विज्ञ बताउँछन् । बालबालिका स–साना कुरामा रिसाउने, चिढिने र गलत कदम उठाउने जस्ता क्रियाकलापमा अग्रसर भएको पाइन्छ । प्रविधिको प्रयोग, अभिभावकको व्यस्तता, पढाइको बोझलगायत विभिन्न कारणले बालबालिकामा मानसिक समस्या बढ्दै गएको विज्ञ बताउँछन् । समस्या बढ्दै जाँदा बालबालिकामा मानसिक सन्तुलन नै गुमाउने खालको अवस्था सानै उमेरमा देखा पर्न सक्ने बताइन्छ ।
विज्ञका अनुसार कुनै बच्चामा बोली फुट्नु अगाडि वा जन्मजातै पनि मानसिक समस्या हुन सक्छ । तर त्यो समस्या बालबालिको उमेर १२–१३ वर्ष भएपछि मात्र अभिभावकले थाहा पाउँछन् । कतिपय बालबालिकामा कडा खालको मानसिक रोग सानै उमेरमा पनि देखिने बताइन्छ । केही बालबालिकामा मानसिक सन्तुलन नै गुमाउने खालको समस्या कलिलै उमेरमा देखापर्ने गरेको नेपाल र बाहिरी देशका विभिन्न अनुसन्धानले देखाएको विज्ञ बताउँछन् ।
००००
कसरी थाहा पाउने ?
प्रायः बालबालिकाले आफूमा भएको समस्या प्रष्टसँग अभिभावकसँग भन्न सक्दैनन् । एउटा समस्या भए उसले झन् अर्के समस्या देखाउन सक्छ । विद्यालय जान मन लागेन वा कुनै कुराले डर लागेमा टाउको पेट दुखेको बहाना बनाउन सक्ला ? जे भनेर बहाना बनाउन सक्छ त्यसैको प्रयोग गर्छ । त्यस्तो अवस्थामा अभिभावकले ऊ केही समस्यामा छ भन्ने बुझ्न सकेन भने, समस्या बढ्न सक्छ । यस्तै बालबालिकाले कुनै समस्या सुनाएमा त्यसको जबाफ दिने वा सुन्ने गरिएन भने पनि त्यसले समस्या बढाउन सक्छ । अझ बालबालिकाले गरेको काममा ध्यान दिएन भने पनि त्यसले असर पुग्न सक्छ ।
पहिला पहिला बालबालिका संयुक्त परिवार वा समाजमा हुर्कन्थे । घरमा धेरै दाजुभाइ दिदीबहिनी मिलेर बस्थे । तर, अहिले त्यस्तो पाइन्न । बालबालिकाले विद्यालयबाहेक आफ्ना कुरा सुनाउने, अरूका कुरा सुन्ने र खेल्ने साथी पनि पाउँदैनन् । अहिलेका बालबालिका घर वा कोठाभित्र मोबाइल वा डिजिटल डिभाइसमा बढी समय बिताउँछन् । खेल्ने र रमाउने समयमा आफ्ना समस्या मनमै गुम्साएर राख्छन् । त्यसले गर्दा पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढेको विज्ञ बताउँछन् । जब मान्छे एक्लै हुन्छ अनेक कुरा मनमा आउन सक्छ । यसमा अभिभावकले ख्याल गर्नुपर्ने हुन्छ ।
यस्ता समस्याबाट टाढा राख्न बालबालिकालाई अभिभावकले समय दिनुपर्छ । उनीहरूसँग कुरा गर्ने, उनीहरूका भावना बुझिदिने उनीहरूले भन्न खोजिरहेको कुरालाई समय लगाएर सुनिदिने गर्नुपर्छ । कहिलेकाहिँ उनीहरूकै सोचाइ, उनीहरूकै भावना अनुसार सँगसँगै बसेर खेल्ने र काम गर्ने गर्दा उनीहरूमा एक्लोपन हुँदैन । कतिपय अवस्थामा उनीहरूसँग साथीको व्यवहार गर्दा खुलेर कुरा गर्न सक्छन् । बच्चामा हुनसक्ने मानसिक समस्यालाई अन्य सामान्य रोग जस्तै सानो समस्या हो भनेर अभिभावकले पनि बुझ्नुपर्ने विज्ञ बताउँछन् । सुरुआती चरणमा थेरापीकै माध्यमबाट यसको उपचार गर्न सकिने बताइन्छ । त्यसैले यसलाई लुकाएर वा बेवास्ता गरिएमा समस्या बढ्न सकने बिज्ञ बताउँछन् ।
०००
उपचार विधि
पहिलो कुरा समस्या कस्तो हो भनेर बुझेर पहिचान गनुपर्छ । समस्या के हो ? किन भइरहेको छ भन्ने बुझेर मात्रै उपचार गर्नु उचित हुन्छ । सुरुआती समयमा औषधिको प्रयोग नगरी थेरापीको माध्यमबाट उपचार गर्दा राम्रो हुने विज्ञ बताउँछन् । अन्य शारीरिक समस्या जस्तै यो पनि उपचार गर्दा निको हुने समस्या हो । मानसिक समस्या अन्य सामान्य रोग जस्तै सानो समस्या हो भनेर अभिभावकले बुझेर सुरुआती चरणमा थेरापीकै माध्यमबाट उपचार गर्नुपर्छ ।
विज्ञका अनुसार मानसिक समस्याबाट बालबालिकालाई ढाटा राख्न गर्भावस्थादेखि नै ख्याल गर्नुपर्छ । गर्भवतीको खानपानले पनि शिशुलाई असर गर्ने बताइन्छ । गर्भवतीले मदिरा सेवन गरेको छ भने बालबालिकामा जन्मजातै मानसिक समस्याहरू आउन सक्छ । त्यसैले सकेसम्म गर्भवती आमाले गलत क्रियाकलाप गर्नु नहुने बताइन्छ । बच्चा जन्मिएपछि पनि समाजमै हुर्काउने वातावरण बनाउनु धेरै राम्रो हुन्छ । समाजमा घुलमिल भएर बालबालिकालाई हुर्काउन सकियो भने यो समस्यामा कमी आउने बताइन्छ ।
वंशाणुगत समस्या
कतिपय मनसिक समस्यामा वंशाणुगत पनि देखिने गरेको विज्ञ बताउँछन् । घरपरिवारमा कसैलाई यस्तो समस्या छ र उसको उपचार गरिएको छैन भने त्यसको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्ने गर्दछ । धेरै खालका मानसिक समस्या विद्यालयबाटै पनि सुरु हुन्छन् । शिक्षकले गर्ने व्यवहारबाट पनि बालबालिका तर्सिने हुन सक्छन् । त्यसैले विद्यालयमा शिक्षकले पनि बालबालिकाको मनोभाव बुझेर त्यही अनुसारको व्यवहार गर्नुपर्छ ।
बालबालिकाको दोस्रो घरको रूपमा विद्यालयलाई भनिन्छ । उनीहरूलाई कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावक, विद्यालय र शिक्षकको बराबरी हुन्छ । धेरै खालका मानसिक समस्या विद्यालयबाटै पनि सुरु हुने गरेको बताइन्छ । शिक्षकले गर्ने व्यवहारबाट पनि बालबालिका तर्सिने हुन सक्छन् । त्यसैले विद्यालयमा शिक्षकले पनि बालबालिकाको मनोभाव बुझेर त्यही अनुसारको व्यवहार गर्नुपर्छ । संवेदनशील विषयलाई त्यही ढंगले बुझाउने र विद्यार्थीसँग साथीको जस्तै व्यवहार गरेर समस्या सुन्न सक्नुपर्छ ।
अहिले पनि धेरैलाई बाल अवस्थामा पनि मानसिक समस्या वा रोग हुन्छ भन्ने धेरैजसो मानिसलाई थाहा नै हुँदैन । तर, युवावस्था तथा त्यो भन्दा बढी उमेरका व्यक्तिमा जति प्रकारको मानसिक रोग हुन्छ, त्यति प्रकारको मानसिक रोग बच्चाहरूमा पनि हुने गर्छ । मानिसलाई जन्मिने बित्तिकैदेखि तनाव सुरु हुन्छ । बच्चा जन्मिसकेपछि उसको ध्यान आमाले दूध खुवाउँछिन्, खुवाउँदिनन् भन्नेमा हुन्छ । आमाले दूध दिइनन् भने बच्चालाई त्यही बेलादेखि तनाव सुरु हुन्छ । त्यस्तो बेलामा बच्चाले आफ्नो तनावलाई चिच्याएर, रोयर वा यस्तै प्रकारका अन्य क्रियाकलाप गरेर निकाल्ने गर्छ ।
बच्चाको उमेरसँगै तनाव पनि बढ्दै जान सक्छ । घरभित्र वा बाहिर, घरपरिवारको वा साथीभाइसँगको तनावलाई बच्चाले आफ्नै तरिकाले बुझ्ने गर्छ । विद्यालयमा वा घरपरिवारमा तनावजन्य वातावरण छ भने बच्चामा चिन्ता, उदासीनताको समस्या देखिन्छ । कतिपय अवस्थामा बालबालिकाका आवश्यकता सामान्य हुन्छन् । तर, त्यो कुरा विद्यालय वा घरले बुझिरहेको हुँदैन । जसले बुझेर आवश्यकता पूरा गर्छ बच्चाहरूको समस्या पनि समाधान भएर जान्छ । बच्चाहरूमा जहिले पनि आफ्ना कुरा ठूला मानिसले सुनिदिउन्, बुझिदिउन् भन्ने भावना हुन्छ । घरमा अभिभावकले र विद्यालयमा शिक्षकले बुझ्नुपर्छ ।
१०–११ वर्षपछि टिनएज प्रवेशको समयमा उनीहरूको मनमा विभिन्न शारीरिक परिवर्तन सँगसँगै मानसिक परिवर्तन आउने गर्छ । शारीरिक परिवर्तनसँगै बालबालिकाको मानसिक अवस्थामा परिवर्तन आउँछ । त्यो बेलामा भावनात्मक परिवर्तन, इरिटेसन, रिसजस्ता थुप्रै समस्या आएका हुन्छन् । यो समयमा उनीहरूलाई सम्झाउने, बुझाउने गर्नु आवश्यक हुन्छ । बालबालिकाका समस्यालाई पन्छाउने, झर्को मानेर बेवास्ता गर्दा उनीहरू आफन्तबाट टाढा हुने र समस्या बढ्दै जाने हुन सक्छ । त्यसैले उनीहरूसँग सधैँ भावनात्मक सम्बन्ध राख्नुपर्छ ।
०००
बालबालिकामा मानसिक समस्या गम्भीर चुनौती बनेको छ : प्राडा सरोज ओझा, मानसिक रोग विशेषज्ञ

पछिल्लो समय बच्चामा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । बच्चा भनेर पनि दुई वटा समूह हुन्छ । एउटा ५–१० मुनिका समूह अर्को १०–१६ वर्षसम्मका । नेपालको १८ वर्ष मुनिका जनसंख्या ४० प्रतिशत रहेका छन् । नेपालमा गरेको सर्वेअनुसार हरेक ८ देखि १० जना मध्ये १ जना बालबालिकामा मानसिक स्वास्थ्यको समस्या हुने गरेको भनिन्छ ।
अहिले आएर यो समस्या अझ बढेको अवस्था छ । ७ वर्षमुनिका बालबालिकामा जन्मँदै समस्या भएका कारण अटिजम पनि हुने गरेको पाइन्छ । अर्को चकचके प्रकृतिको पनि हुने गरेको पाइएको छ । यो समूहलाई जन्मँदैको समस्या र कडा प्रकारका ज्वरो आएको अवस्थामा पनि हुने गर्छ । तर, १० वर्ष पछिका समूहमा देखिने मानसिक स्वास्थ्यको समस्या भनेको कतिलाई एन्जाइटिक हुने गरेको पाइन्छ । यसमा मन डराउने, चिन्ता, छट्पटी हुने, वास्तविक वा काल्पनिक घटनाहरूमा आधारित भविष्यको डरले तन र मन दुवैमा असर पार्छ । कतिलाई भने डिप्रेसन पनि हुने गर्छ । यसैगरी कतिपयलाई लागुपदार्थको लत हुने, कतिलाई इन्टरनेटको लत बस्ने गरेको पाइन्छ । इन्टरनेटको नजिक हुनेहरूले नराम्रो साइटहरू हेर्ने, गेममा व्यस्त रहने गरेको पाइन्छ ।
माथिका कारणले उनीहरूको शारीरिक स्वास्थ्य राम्रो हुन पाउँदैन । अर्कोतर्फ ध्यान अन्त केन्द्रित हुँदा पढाइमा पनि असर पर्छ । शारीरिक स्वास्थ्यका साथै मनोविज्ञानमा पनि असर पर्ने गरेको छ । सामाजिक सञ्जालमा धेरै व्यस्त रहने, धूमपान गर्ने, लागुऔषधको सेवन गर्ने जस्ता कार्यमा लाग्दा मानसिक अवस्था खलबलिने गरेकाले विभिन्न प्रकारका मानसिक स्वास्थ्यको समस्या बढिरहेको छ ।
कुनै पनि रोगको कारणमा पहिलो नम्बरमा वंशाणुगत कारण पहिलो हुन सक्छ । दोस्रो नम्बरमा मनोविज्ञान हुन सक्छ । मनोविज्ञानका रूपमा बच्चा आमाको पेटमा रहँदाको वातावरण, जन्मिएको ठाउँको अवस्था । हुर्कने क्रममा उसको स्वास्थ्य अवस्था, कडा ज्वरो आयो कि ? कुनै चोटपटक लाग्यो कि ? खानपिन पोषण कस्तो रह्यो ? ती मनोविज्ञानले पनि असर गर्छ ।
यसका साथै बालबालिकामा देखिने मानसिक स्वास्थ्य समस्या सामाजिक कारणले पनि हुन्छ । यसमा सामाजिक सञ्जालको प्रयोग, साथीभाइको संगत, पारिवारिक रूपमा आमाबुबा वा परिवारभित्रको सम्बन्ध, अभिभावक विदेश हुनु, आर्थिक समस्या जस्ता कारण हुने गरेका छन् । अभिभावकको व्यवहार, सम्बन्ध र आर्थिक पाटोले पनि समस्या सिर्जना हुने गरेको छ ।
बालिबालिकामा देखिने मानसिक समस्याको अर्को पाटो भनेको उनीहरूको दैनिकी पनि हो । अहिले बालबालिका बिहानदेखि बेलुकासम्म विद्यालयमा हुन्छ । खेल्न पाउँदैन । खानपिन बाहिरको धेरै हुन्छ । खेल्ने मान्छेसँग घुलमिले हुने समय नै हुँदैन । यसका साथै स्कुलबाट घर आउँछ । बाबुआमासँग बच्चाका लागि समय हुँदैन । सबैको जीवन व्यस्त छ । समय भयो भने, मोबाइलमा व्यस्त हुन्छ । खाना पनि भोक मेटाउनका लागि मात्रै हुन्छ । बच्चाले घरमा न खेल्ने साथी पाउँछ न बोल्ने नै ।
अहिलेको हाम्रो समाज बालबालिकाका लागि आवश्यक हुने स्वस्थ्य मनोविज्ञानभन्दा बाहिर छ । अभिभावकदेखि सन्तानसम्म सामाजिक सञ्जालमा व्यस्त छ । धेरैका आमाबुबा वैदेशिक रोजगारको क्रममा बाहिर छन् । सन्तानलाई होस्टलमा राख्छन् यसले पनि समस्या बढाएको छ । यो हाम्रो समाजका लागि गम्भीर चुनौती हो । यदि बालबालिकाको स्वस्थ भविष्य बनाउने हो भने, विकसित देशमा जसरी १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट वञ्चित गरेको छ त्यसैगरी हाम्रोमा पनि गर्नुपर्छ ।
आफ्ना बालबालिकाको मनोविज्ञान स्वस्थ राख्ने हो भने, हरेक आमाबुबाले आफूले आफ्ना बाबुआमासँग कस्तो अपेक्षा गरको थियो ? त्यो बिर्सन भएन त्यही भावनाले आफ्ना छोराछोरीलाई हेर्नुपर्छ । उसको इच्छा, बानीबेहोरा, भावना के छ ? साथीभाइसँगको संगत र सम्बन्ध कस्तो छ ? उनीहरूको खानपिन र रहनसहन कस्तो हुँदै छ । जस्ता कुरा बुझेर उनीहरूसँग गरिने व्यवहारले सन्तान कस्तो बनाउने भन्ने हुन्छ । यसका लागि आमाबुबाको साथ सहयोग नै सबैभन्दा महTवपूर्ण हुन्छ ।
यदि बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत हुने हो भने घरमा आमाबुबाको, विद्यालयमा शिक्षकको, समाजमा छिमेकीको भूमिका महTवपूर्ण हुन्छ । त्यसैले बालबालिकाको मानसिक स्वास्थ्य राम्रो बनाउन हामी सबै जिम्मेवार हुनै पर्छ । पन्छिन मिल्दैन ।
प्रतिक्रिया