
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन त्यहाँ नपुगेको पाइएको छ । राहदानी विभागले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे प्रारम्भिक प्रष्टीकरण दिएको हो ।
विभागका अनुसार बिहीबार दिउँसो अन्दाजी १ः३८ बजेको समयमा काठमाडौं महानगरपालिका– ११ त्रिपुरेश्वरमा एक युवकले आफ्नै शरीरमा आगो लगाई घाइते भएको घटनाप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटना लगत्तै विभागको सिसिटिभि फुटेज, प्रत्यक्षदर्शीहरू र सम्बन्धित निकायहरूबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार ती घाइते युवक राहदानी वा कन्सुलर सेवा लिन आएको नदेखिएको विभागले स्पष्ट पारेको छ ।
प्रहरी प्रशासनको सहयोगमा घाइतेलाई तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको र हाल उनको उपचार भइरहेको विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय, राहदानी विभागले घाइते व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
प्रहरीका अनुसार मुगु जिल्लाको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले राहदानी विभागको गेट बाहिर आफ्नै शरीरमा आगो लगाएका थिए । उनी पठाओ चालक रहेको खुलेको छ ।
विभागले विज्ञप्तिमा भनेको छ, ‘उक्त घटनाको सम्बन्धमा राहदानी विभागको सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीहरू र सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार घाइते हुनुभएका व्यक्ति राहदानीरकन्सुलर सेवा लिन आएको नदेखिएको प्रारम्भिक जानकारी प्राप्त हुन आएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

प्रतिक्रिया