हरायो कोटेश्वर–बालकुमारी सडकमा फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ । फुटपाथ निर्माण गरिएका केही स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रु जोखिम मोलेर सडकको किनार हुँदै हिँड्न बाध्य भएका छन् ।

यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म नियमित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि अचानक फुटपाथ अन्त्य हुने र त्यसको सट्टा फलामका प्लेट राखिएको अवस्था छ । ती फलामका प्लेटहरू धेरै स्थानमा भासिएका छन् भने कतिपय ठाउँमा फलाम नै निस्किएको छ। जोखिम कम गर्न केही स्थानमा अस्थायी रूपमा बाँस टेकेर काम चलाइएको देखिन्छ ।

स्थानीयका अनुसार भासिएको फलामका कारण कतिपय पैदलयात्रीको खुट्टा समेत फसेको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रातिको समयमा हिँड्नेहरूका लागि यो अवस्था अझ जोखिमपूर्ण बनेको छ ।

फलामका प्लेट कुनै पनि बेला भासिन सक्ने डरका कारण धेरै पैदलयात्री फुटपाथ छाडेर सडकको किनार हुँदै हिँडिरहेका देखिन्छन् । यसले तीव्र गतिमा गुड्ने सवारीसाधनसँग दुर्घटनाको जोखिम समेत बढाएको छ ।

संघीय राजधानीकै व्यस्त सडकमा पैदलयात्रीका लागि सुरक्षित र निरन्तर फुटपाथको व्यवस्था नहुँदा दैनिक हजारौँ सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।–तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया