
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिहीबार राहदानी विभाग अगाडि आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छ । प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्नेमा मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् । उनले बिहीबार दिउँसो करिब १ः४५ बजे आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
पेसाले राइड सेयरिङ चालक रहेका नेपालीले काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँगको विवादपछि आवेशमा आएर यस्तो अप्रत्याशित कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिहीबार यात्रुलाई विभाग अगाडि छाडेर उनले आफ्नो मोटरसाइकल त्यहीँ रोकेका थिए । सो क्षेत्रमा पार्किङ निषेध गरिएको भन्दै महानगर प्रहरीको टोलीले उनको मोटरसाइकलमा ह्वील लक लगाइदिएपछि नेपाली र नगर प्रहरीबीच भनाभन सुरु भएको थियो ।
विवाद बढ्दै जाँदा महानगर प्रहरीले मोटरसाइकल उठाएर गाडीमा राख्न थालेपछि आक्रोशित बनेका नेपालीले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका हुन् ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्कालै आगो निभाएर उनको उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याएको थियो । नेपालीको शरीरको करिब ६५ प्रतिशत भाग जलेको हुनाले अवस्था गम्भीर छ। हाल वीर अस्पतालको बर्न युनिटमा उपचाररत उनी हल्का बोल्न सक्ने अवस्थामा रहेका छन् ।
महानगर प्रहरीको ह्वील लककै कारण उनले आत्मदाहको प्रयास गरेका हुन् वा अन्य कुनै कारण पनि थियो भन्नेबारे प्रहरीले सूक्ष्म रूपमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया