बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएका अश्विन राउतको निधन

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न डा. पीयुष दाहालका अनुसार, व्यवसायी राउतको शरीरमा ६० प्रतिशत जलन भएको छ ।

जलनका बिरामीका उपचार गरिने वीर अस्पतालको बर्न आईसीयूमा राखेर उपचार भइरहेकोमा व्यवसायी राउतको निधन भएको उनले बताए । पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका थिए । उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।

त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया