
काठमाडौं । नेपाली लोकदोहोरी भन्नासाथ हाम्रा दिमागमा गाउँघरका चौतारी, हरियाली डाँडाकाँडा र मादलको परम्परागत ताल झल्किन्छ। तर, नेपाली लोकसंगीतको यो दायरा अब कति फराकिलो र अन्तर्राष्ट्रिय भइसकेको छ भन्ने उदाहरण गायक तथा सर्जक सुरेश अञ्जनले प्रस्तुत गरेका छन् ।
उनको नयाँ गीत ‘लौननी यस्तो भएँ म किन ?’ ले नेपाली लोकदोहोरीलाई सिधै अफ्रिकी महादेशको नाइजेरिया पुर्याएर एउटा इतिहास रचेको छ । नेपाली र नाइजेरियन कलाकारहरूको अभूतपूर्व सांस्कृतिक फ्युजन रहेको यो गीत सार्वजनिक भएको साता दिनमै युट्युबमा मिलियन क्लव अर्थात् १० लाख भ्यूज पार गर्दै सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
यस गीतको सबैभन्दा बलियो र आकर्षक पक्ष नै यसको भिडियो निर्माणको फरक शैली हो । अफ्रिकाको नाइजेरियामा छायांकन गरिएको यस भिडियोमा नेपाली मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय परिवेशमा ढालिएको छ ।
भिडियोमा नेपालका स्थापित कलाकार र नाइजेरियाका स्थानीय कलाकारहरूले एउटै तालमा कम्मर मर्काएका छन्। संगीतको कुनै भूगोल र भाषा हुँदैन भन्ने कुरालाई यो सहकार्यले पर्दामा प्रमाणित गरिदिएको छ ।
गीतमा सुरेश अञ्जन र चर्चित गायिका अञ्जिता विश्वकर्माको सुमधुर स्वर रहेको छ भने सुरेश अञ्जनकै शब्द र संगीत रहेको छ । यसमा परदेशको पीडा, प्रेम, बिछोड र जीवनका यथार्थ कथाहरूलाई मार्मिक ढंगले उनिएको छ, जसले सुन्ने जो(कोहीको मन छुन्छ । परम्परागत लोकभाकाको स्वाद मर्न नदिई यसमा शिवा कनौजे मगरले गरेको आधुनिक संगीत संयोजनले युवा पुस्तालाई समेत आकर्षित गरेको छ ।
भिडियोको मुख्य भूमिकामा अनुष्का घर्ती क्षेत्री, ध्रुवे, विष्णु गिरी र नाइजेरियन कलाकार आइशात सनुसीको स्वाभाविक अभिनय देख्न सकिन्छ। नृत्यतर्फ नेपाली कलाकार गणेश थापासँगै नाइजेरियन नर्तकहरू ओलायिन्का बाबाटुन्डे, वालिउ अडेटोये, अडेबिसी, इम्यानुएल, ओक्पान मिराकल हान्नाह, आयोमिडे अडे, चिकान्गोजी र जोयको आकर्षक प्रस्तुतिले भिडियोलाई निकै भव्य बनाएको छ ।
ुसुरेश अञ्जन २०२६ु युट्युब च्यानलबाट सार्वजनिक भएको यो भिडियोको निर्देशन तथा कोरियोग्राफी अनुष्का घर्ती क्षेत्रीले गरेकी हुन् भने नाइजेरियाका प्राविधिक टीजे ओलादेजोले छायांकन र राजकुमार मगरले सम्पादन गरेका हुन् । नेपाली लोकसंगीतलाई विश्वमञ्चमा पुर्याउने र नयाँ प्रयोग गर्न रुचाउनेहरूका लागि ‘लौननी यस्तो भएँ म किन ?’ यस वर्षकै एउटा फरक र सफल प्रयोग सावित भएको छ ।
प्रतिक्रिया