होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाएका सुकुमवासी बस्तीका विस्थापितको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले शनिबार सूचना जारी गर्दै काठमाडौँका विभिन्न नदी किनारका बस्तीबाट हटाइएका र हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरूको व्यवस्थापनका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो ।

समितिका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले आवश्यक प्रक्रिया सुरु गरिएको हो । त्यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणलाई आधार मानिनेछ । सूचनामा उल्लेख भएअनुसार होल्डिङ सेन्टरमा रहेका विस्थापितमध्ये बागमती सभ्यता विकास समितिको डिजिटल विवरणमा समावेश लाभग्राहीलाई समितिले तोकेको विधिअनुसार व्यवस्थापन गर्नेछ । त्यसका लागि आवश्यकताअनुसार सम्बन्धित व्यक्तिलाई समितिले नै सम्पर्क गर्नेछ । समितिले सम्बन्धित सबैलाई सूचनाबारे जानकारी लिन तथा आवश्यक समन्वयका लागि सम्पर्कमा रहन आग्रह गरेको छ ।

पहिलो चरणमा बागमती सभ्यता विकास समितिले २ हजार ६०८ सुकुमवासीको ट्र्याकिङ गरेको थियो । सुकुमवासी दाबी गर्ने २ हजार ६०८ परिवारमध्ये २ हजार २२० परिवारले आफैँ व्यवस्थापन गर्ने बताएका थिए भने बाँकी ३८८ परिवारलाई सरकारले होल्डिङ सेन्टरमा राखेको थियो । पछि सरकारले उनीहरूलाई आ–आफ्नो व्यवस्थापन गर्न भन्दै सुरुआती व्यवस्थापनका लागि प्रतिपरिवार २५ हजार रुपैयाँका दरले उपलब्ध गराउने र त्यसपछि ३ महिनाका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ कोठा भाडा उपलब्ध गराउने निर्णय गरेको थियो । सोअनुसार अधिकांश परिवारले सरकारले दिने भनेको स्वव्यवस्थापन रकम लिएर होल्डिङ सेन्टर छाडेका थिए भने आफैँ व्यवस्थापन गर्न नसक्ने केही परिवार र सरकारी निर्णय अवज्ञा गर्ने केही परिवार भने होल्डिङ सेन्टरमै बसिरहेका छन् ।

यसैबीच, अविरल वर्षापछि शुक्रबार राति आएको बाढीका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरू पुनः विस्थापित भएका छन् । बाढीका कारण राति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखिरहेका छन् । विस्थापितहरूलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि हाललाई उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ ।

प्रतिक्रिया