आत्मदाह गरेका गणेश नेपालीको परिवार, संघीय सरकार र महानगरबीच ९ बुँदे सहमति

काठमाडौं । गत बिहीबार आफ्नै शरीरमा पेट्राेल छर्केर आगो लगाइ त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपाली आत्मदाहसम्बन्धी घटनाबारे संघीय सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा आइतबार भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमति अनुसार घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत, मृतककी श्रीमतीलाई रोजगारी र छोरीको उच्च शिक्षाको व्यवस्था गरिने भएको छ।

सहमति अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्ने छ । समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष बुझाउने भएको छ । त्यस्तै, गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

घटनाको दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने छ । उनीहरूमाथिको थप कारबाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा गरिने छ ।

काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था गर्ने सहमति भएको छ । यसका लागि सम्बन्धित सरकारी निकायले आवश्यक समन्वय गर्ने छन् ।

यस्तै, महानगरको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहत रकम उपलब्ध गराइने छ । अन्तिम संस्कार र काठमाडौंमा हुने काजक्रियाको सम्पूर्ण व्यवस्थापन पनि महानगरपालिकाले गर्ने भएको छ । पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमसहितका कानुनी प्रक्रियामा सहयोग गर्ने तथा अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिने सहमति भएको छ ।

यसका साथै, मृतकका एकाघरका परिवारको काठमाडौं आउजाउ, बसोबास र काजक्रियाका सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने छ भने परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने छ ।

सहमतिपत्रमा सरकार तथा स्थानीय तहका तर्फबाट प्रमुख जिल्ला अधिकारी पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

गत बिहीबार काठमाडौं महानगर प्रहरीसँग भनाभन भएपछि गणेशले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । उपचारका लागि वीर अस्पताल लगिएकोमा उनको शुक्रबार निधन भएको थिो । यस घटनापछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया