नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि व्यापारीले भरियो (तस्विरहरु)

काठमाडौं । केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे ।

दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो ।

तर आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ ।

उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए।नगर प्रहरी सडकमा कम देखिन थालेपछि काठमाडौंका न्युरोडसहित विभिन्न स्थानमा फुटपाथ पुनः व्यापारीले भरिन थालेको छ ।

अव्यवस्थित पार्किङसमेत बढेको देखिएको छ । फुटपाथमा व्यापार बढ्दा पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन् । यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जामसमेत बढेको स्थानीयले बताएका छन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया