मेसीले अर्जेन्टिनाको युवा टोलीलाई विश्व युवा च्याम्पियनसिप जिताउन महŒवपूर्ण भूमिका खेलेपछि अगस्ट २००५ मा सिनियर टोलीमा स्थान पाएका थिए । तर, इंग्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा उनी सहभागी हुन सकेनन्, किनकि डेब्यु खेलमै रातो कार्ड पाएपछि उनी
निलम्बनमा थिए

काठमाडौँ । फुटबल मैदानमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले हासिल गर्न बाँकी धेरै कुरा अब लगभग छैनन् । उनले विश्व फुटबलका अधिकांश ठुला उपलब्धि आफ्नो नाममा लेखाइसकेका छन् । तर, अन्तर्राष्ट्रिय फुटबलमा लामो यात्रा तय गरिसकेका यी महान् खेलाडीका लागि इंग्ल्यान्डविरुद्धको आगामी खेल भने नयाँ अनुभव बन्ने भएको छ । अर्जेन्टिना र इंग्ल्यान्डबीचको विश्वकपको सेमिफाइनल खेल नेपाली समयअनुसार बिहीबार बिहान १२ः४५ बजे अमेरिकाको एटलान्टामा हुँदै छ । यो खेल मेसीका लागि विशेष हुनेछ, किनकि उनले आफ्नो करियरमा पहिलोपटक इंग्ल्यान्डको राष्ट्रिय टोलीविरुद्ध खेल्ने अवसर पाउँदै छन् ।
८ पटकका बालोन डि’ओर विजेता मेसीले अर्जेन्टिनाका लागि २०० भन्दा बढी खेल खेलिसकेका छन् भने १२५ गोल गरिसकेका छन् । उनले आफ्नो देशका लागि धेरै ऐतिहासिक खेल खेले पनि इंग्ल्यान्डसँग भने अहिलेसम्म मैदानमा आमनेसामने भएका छैनन् । शनिबार भएको क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले केही समय अर्जेन्टिनामाथि दबाब कायम राख्दा मेसीको इंग्ल्यान्डविरुद्ध खेल्ने सपना पूरा नहुने सम्भावना देखिएको थियो । तर, अर्जेन्टिनाले अतिरिक्त समयमा उत्कृष्ट पुनरागमन गर्दै ३–१ को जित निकाल्यो र सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
स्विट्जरल्यान्डविरुद्धको खेलमा मेसीले यस प्रतियोगितामा पहिलोपटक गोल गर्न सकेनन् । यद्यपि, उनी अझै पनि सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका किलियन एम्बाप्पेसँगै अगाडि छन् । उनले प्रतियोगितामा ८ गोल गरिसकेका छन् र विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् । बिबिसीका फुटबल विश्लेषक माइका रिचड्र्सले मेसीको क्षमताको प्रशंसा गर्दै इंग्ल्यान्डका लागि उनलाई रोक्नु निकै कठिन हुने बताएका छन् । ‘इंग्ल्यान्डसँग अर्जेन्टिनाभन्दा बढी दौडने क्षमता हुन सक्छ, तर अर्जेन्टिनासँग मेस्सी जस्तो अद्भुत प्रतिभा छ । सबै खेलाडी उनीकै लागि खेल्छन् । त्यसैले सबैजना यो खेलका लागि उत्साहित हुनुपर्छ,’ रिचड्र्सले भने ।
उनका अनुसार मेसीलाई नियन्त्रण गर्न सामान्य रणनीतिले काम गर्दैन । उनले मैदानमा खाली स्थान खोज्ने, सही समयमा सक्रिय हुने र उत्कृष्ट निर्णय गर्ने क्षमता राख्छन् । ‘मेसीलाई मार्क गर्नु लगभग असम्भव छ । उनी सधैँ पछाडि फर्केर दौडिँदैनन्, तर उनी यस्ता ठाउँमा पुग्छन् जहाँ सामान्य खेलाडी पुग्न सक्दैनन् । उनको प्राविधिक क्षमता, खेल बुझ्ने क्षमता र गोल गर्ने क्षमता अद्भुत छ,’ रिचड्र्सले भने । उनले मेसीको व्यक्तित्व र प्रभावलाई पनि विशेष रूपमा उल्लेख गरे । उनका अनुसार मेसीको आत्मविश्वास र प्रभाव अन्य कुनै पनि फुटबलरभन्दा फरक स्तरको छ । ‘मेसीसँग त्यस्तो आभा छ, जुन अर्को स्तरको छ । उनी मैदानमा हुँदा खेलको माहोल नै परिवर्तन हुन्छ,’ रिचड्र्सले भने ।
तर, इंग्ल्यान्डले मेसीबाट कति डराउनुपर्छ भन्ने प्रश्न पनि उठेको छ । बिबिसी रेडियो ५ लाइभका विश्लेषक क्रिस सटनका अनुसार हालको अर्जेन्टिना टोली विगतका महान् अर्जेन्टिना टोलीजस्तो बलियो नभए पनि उनले कठिन अवस्थामा पनि जित निकाल्ने क्षमता राख्छन् । ‘थोमस टुकेल र इंग्ल्यान्डका खेलाडीहरू अहिलेको अर्जेन्टिनाविरुद्ध खेल्न उत्साहित हुनेछन् । यो उत्कृष्ट अर्जेन्टिना टोली होइन, तर उनीहरू कुनै न कुनै तरिकाले जित निकाल्ने बानी भएका टोली हुन्,’ सटनले भने । पूर्वइंग्ल्यान्ड स्ट्राइकर वाइन रुनीले पनि मेसीको खेलशैलीबारे टिप्पणी गरेका छन् । उनका अनुसार मेसीले रक्षात्मक पक्षमा धेरै योगदान नगरे पनि खेलको निर्णायक क्षणमा आफ्नो क्षमता देखाउन सक्छन् ।
‘मेसी अर्जेन्टिनाका लागि रक्षात्मक रूपमा कमजोरी बन्न सक्छन्, किनकि उनी धेरैपटक पछाडि फर्केर दौडिँदैनन् । तर उनीसँग खेल परिवर्तन गर्ने ठुलो क्षण सिर्जना गर्ने क्षमता छ,’ रुनीले भने । रुनीका अनुसार मेसीलाई रोक्न शारीरिक बलभन्दा बढी एकाग्रता र टोलीबीचको राम्रो समन्वय आवश्यक हुन्छ । मेसीलाई रोक्नका लागि खेलाडीबीच निरन्तर संवाद आवश्यक हुन्छ । सामान्य अवस्थामा नलिने स्थान पनि लिनुपर्ने हुन सक्छ, किनकि उनी सानो ठाउँबाट पनि अवसर सिर्जना गर्न सक्छन्,’ उनले भने । दक्षिण अमेरिकी फुटबल विशेषज्ञ टिम भिकेरीका अनुसार अर्जेन्टिनाका समर्थकहरूले इंग्ल्यान्डलाई आफ्नो सबैभन्दा ठुलो प्रतिद्वन्द्वीका रूपमा हेर्ने गरेका छन् । त्यसैले मेसीको अन्तर्राष्ट्रिय करियरमा इंग्ल्यान्डविरुद्ध खेल नहुनु अधुरो अध्यायजस्तै थियो ।
‘२०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेपछि मेसीले अर्जेन्टिनाका समर्थकहरूले सबैभन्दा ठुलो प्रतिद्वन्द्वी मान्ने टोलीविरुद्ध नखेलेर आफ्नो करियर समाप्त गर्न सक्दैनथे,’ भिकेरीले भने । अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिद्वन्द्विता विश्व फुटबलकै चर्चितमध्ये एक हो । सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलदेखि लिएर सन् १९९८ को विश्वकपमा डेभिड बेकहमले रातो कार्ड पाएको घटनासम्म यी २ टोलीबीचका खेलहरू सधैँ विवाद र रोमाञ्चकले भरिएका छन् । तर, यसपटकको भेट भने करिब २१ वर्षपछि हुन लागेको हो । मेसीले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसपछि यी २ टोली केवल एकपटक मात्र भिडेका छन्, त्यो पनि मेसीको पहिलो अन्तर्राष्ट्रिय खेलपछि केही महिनामै ।
मेसीले अर्जेन्टिनाको युवा टोलीलाई विश्व युवा च्याम्पियनसिप जिताउन महŒवपूर्ण भूमिका खेलेपछि अगस्ट २००५ मा सिनियर टोलीमा स्थान पाएका थिए । तर, इंग्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा उनी सहभागी हुन सकेनन्, किनकि डेब्यु खेलमै रातो कार्ड पाएपछि उनी निलम्बनमा थिए । हंगेरीविरुद्ध बुडापेस्टमा भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले विपक्षी खेलाडी विल्मोस भान्जाकसँग भएको घटनापछि रातो कार्ड पाएका थिए । रेफ्री मार्कुस मर्कले उनलाई सिधै मैदानबाट बाहिर पठाएका थिए । मेसीबिनाको उक्त रोमाञ्चक खेलमा अर्जेन्टिनाले दुईपटक अग्रता लिए पनि इंग्ल्यान्डका माइकल ओवेनले अन्तिम समयमा २ गोल गर्दै टोलीलाई ३–२ को जित दिलाएका थिए ।
अहिले मेसी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउँदै कप्तानी गरेपछि उनको महानता अझ बढेको छ । मेसीले विश्वका लगभग सबै टोलीविरुद्ध गोल गरेका छन् । तर केही टोलीविरुद्ध उनको प्रदर्शन अझ विशेष देखिन्छ । बोलिभिया उनका लागि सबैभन्दा सफल प्रतिद्वन्द्वीमध्ये एक हो, जसविरुद्ध उनले १२ खेलमा ११ गोल गरेका छन् । भेनेजुएला र इक्वेडरविरुद्ध उनले क्रमशः ७–७ गोल गरेका छन् । उरुग्वेविरुद्ध ६ र ब्राजिलविरुद्ध ५ गोल गरेका छन् । युरोपेली टोलीविरुद्ध पनि उनको प्रभाव कम छैन । क्रोएसिया, स्विट्जरल्यान्ड र फ्रान्सविरुद्ध उनले समान ३ गोल गरेका छन् ।
फ्रान्सविरुद्धका ती ३ गोलमध्ये २ गोल उनले २०२२ को विश्वकप फाइनलमा गरेका थिए, जुन खेल फुटबल इतिहासकै उत्कृष्ट फाइनलमध्ये एक मानिन्छ । मेसीले एकभन्दा बढीपटक खेलेका राष्ट्रहरूमध्ये उनलाई गोल गर्नबाट रोक्न सफल भएको टोली भने कतार मात्र हो । कतारविरुद्ध उनले २ खेल खेले पनि गोल गर्न सकेका छैनन् । अब इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा विश्व फुटबलका २ ठुला नाम आमनेसामने हुँदै छन् । एकातिर इतिहास, अनुभव र मेसीको जादु छ भने अर्कोतिर नयाँ पुस्ताका उत्कृष्ट खेलाडीले भरिएको इंग्ल्यान्ड टोली छ । त्यसैले यो भिडन्त विश्वभरका फुटबल समर्थकका लागि निकै प्रतिक्षित बनेको छ ।
प्रतिक्रिया