
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाको विश्व वरीयतामा रहेका शीर्ष ४ टोली पहिलो पटक एकै पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएका छन् । यसअघि विश्वकप इतिहासमा यस्तो समीकरण कहिल्यै देखिएको थिएन । यस पटक विश्वकप ड्र हुँदाको विश्व वरीयताको पहिलो स्थानमा रहेको स्पेन, दोस्रो स्थानको अर्जेन्टिना, तेस्रो स्थानको फ्रान्स र चौथो स्थानको इंग्ल्यान्डले अन्तिम ४ मा स्थान सुरक्षित गर्दै नयाँ इतिहास रचेका हुन् । नेपाली सययअनुसार आइतबार बिहान भएको पहिलो खेलमा नर्वेलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्डले अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो । यस्तै, दोस्रो खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले हराएर साविक विजेता अर्जेन्टिनाले सेमिफाइनल पक्का गरेको हो । यसअघि, मोरक्कोलाई हराएर फ्रान्सले र बेल्जियमलाई हराएर स्पेनले अन्तिम ४ मा स्थान सुरक्षित गरिसकेका थिए ।
हाल पनि यिनै ४ टोली फिफा वरीयताको शीर्ष ४ मा कायमै छन् । अहिले फ्रान्स पहिलो, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो र इंग्ल्यान्ड चौथोमा यथावत् छन् । यी चारै टोलीको सेमिफाइनल यात्रामा जारी विश्वकपका लागि लागू गरेको नयाँ ड्र प्रणालीले पनि महत्वपूर्ण भूमिका खेलेको मानिएको छ । प्रतियोगिताको ड्र सार्वजनिक गर्दा फिफाले विश्व वरीयताका शीर्ष ४ टोलीलाई अलग–अलग क्वाड्रान्टमा राखेको थियो । यस व्यवस्थाअनुसार ती टोलीहरू सेमिफाइनलअघि एकअर्कासँग प्रतिस्पर्धा गर्न सक्दैनथे । यसले शीर्ष टोलीहरूलाई प्रारम्भिक नकआउट चरणमै एकअर्कासँग भिड्नुपर्ने सम्भावना हटाएको थियो । यद्यपि यो सुविधा प्राप्त गर्न ती सबै टोलीले आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्नुपर्ने सर्त थियो ।
स्पेन, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरे । त्यसपछि तय गरिएको ब्राकेटअनुसार स्पेन र अर्जेन्टिना फाइनलअघि आमनेसामने हुन नसक्ने सुनिश्चित भयो । त्यसैगरी, इंग्ल्यान्ड र फ्रान्सलाई पनि नकआउट चरणमा फरक पटमा राखिएको थियो, जसका कारण उनीहरूले सेमिफाइनलसम्म एकअर्कासँग खेल्नुपरेन । यसको परिणामस्वरूप सेमिफाइनलमा नेपाली समयअनुसार बुधबार फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने बिहीबार इंग्ल्यान्ड र अर्जेन्टिनाबीच अर्को रोमाञ्चक खेल हुनेछ । विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूबीच हुने यी खेललाई विश्वकपकै सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये हेरिएको छ ।
फिफाले यो नयाँ प्रणालीलाई ‘प्रतिस्पर्धात्मक सन्तुलन’ कायम गर्ने उद्देश्यले लागू गरिएको जनाएको छ । संस्थाका अनुसार शीर्ष वरीयताका टोलीलाई छुट्टाछुट्टै बाटो दिँदा प्रतियोगिताको अन्तिम चरणसम्म उत्कृष्ट टोलीहरूको उपस्थिति सुनिश्चित गर्न सकिन्छ । यसले समर्थकलाई पनि प्रतियोगिताको उत्तराद्र्धमा उच्चस्तरीय खेल हेर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यस्तै प्रकारको प्रणाली अन्य प्रतिष्ठित फुटबल प्रतियोगितामा पनि प्रयोग हुँदै आएको छ । उदाहरणका लागि, नयाँ स्वरूपको युइएफए च्याम्पियन्स लिगमा पनि शीर्ष वरीयताका टोलीलाई निश्चित चरणसम्म अलग राख्ने व्यवस्था अपनाइएको छ ।
फिफाको विश्व वरीयता प्रणाली सन् १९९४ मा सुरु गरिएको भए पनि त्यस वर्षको विश्वकपमा यसको प्रयोग गरिएको थिएन । त्यसयता भने विश्व वरीयता प्रतियोगिताको तयारी र ड्र प्रक्रियामा महत्वपूर्ण आधार बन्दै आएको छ । तर, विगतका विश्वकपमा शीर्ष ४ वरीयताका सबै टोली एकै पटक सेमिफाइनल पुग्न सकेका थिएनन् । सन् २०२२ मा बेल्जियम, २०१८ मा जर्मनी, २०१४ मा स्पेन, २०१० मा इटाली तथा २००२ मा फ्रान्सजस्ता शीर्ष वरीयताका टोली समूह चरणबाटै बाहिरिएका उदाहरण छन् । सन् १९९८ यताका अन्य विश्वकपमा पनि शीर्ष ४ टोली एकैसाथ अन्तिम ४ मा पुगेका थिएनन् ।
फुटबल विश्लेषकहरूका अनुसार यस पटकको सफलता केवल टोलीहरूको प्रदर्शनका कारण मात्र होइन, प्रतियोगिताको विस्तारित संरचनासँग मेल खाने गरी गरिएको ड्र व्यवस्थापनको परिणाम पनि हो । ४८ टोली सहभागी हुने नयाँ विश्वकप ढाँचामा अतिरिक्त नकआउट चरण थपिएपछि समूह विजेता टोलीहरू प्रारम्भिक चरणमै एकअर्कासँग भिड्ने सम्भावना बढेको थियो । त्यसैले फिफाले प्रतियोगिताको आकर्षण कायम राख्न शीर्ष वरीयताका टोलीलाई अलग बाटो दिने निर्णय गरेको हो ।
यसअघि ३२ टोली सहभागी हुने विश्वकपमा समूह विजेता टोलीहरू अन्तिम १६ मा एकअर्कासँग खेल्न सक्दैनथे । विश्व वरीयताका शीर्ष ४ टोलीमध्ये २ टोली सेमिफाइनलअघि भिडेको उल्लेखनीय उदाहरण सन् २०१० को प्रतियोगिता हो, जहाँ क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले ब्राजिललाई २–१ ले पराजित गरेको थियो । ४८ टोलीको नयाँ संरचनामा भने समूह विजेताबीच प्रारम्भिक नकआउट चरणमै भेट हुने सम्भावना उल्लेखनीय रूपमा बढेको देखियो । यस संस्करणको अन्तिम १६ मा अमेरिका र बेल्जियम, इंग्ल्यान्ड र मेक्सिको तथा स्विट्जरल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा भएको थियो । यस्तै, अवस्था शीर्ष वरीयताका टोलीबीच नहोस् भन्ने उद्देश्यले फिफाले ड्र प्रणालीमा परिवर्तन गरेको थियो ।
यसअघि क्लब विश्वकपमा पनि यस्तै प्रकारको वरीयता प्रणाली प्रयोग गरिएको थियो, जहाँ शीर्ष ४ वरीयतामध्ये रियल म्याड्रिड मात्र सेमिफाइनल पुग्न सफल भएको थियो । तर, यस पटक विश्वकपमा भने फिफाले परिकल्पना गरेको व्यवस्था पूर्ण रूपमा सफल भएको देखिएको छ । विश्व वरीयताका शीर्ष ४ टोली सेमिफाइनलमा पुगेपछि प्रतियोगिताको रोमाञ्चकता अझ बढेको छ भने विश्व फुटबल समर्थकहरूले अब उच्चस्तरीय प्रतिस्पर्धा हेर्ने अवसर पाउने भएका छन् ।
प्रतिक्रिया