
विश्वभर अहिले फुटबल विश्वकपको माहोल तातेको छ। सहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक-चोकमा फुटबलप्रेमीहरू फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन् । तर, नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत-सम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ ।

दशरथ रंगशालाको मैदान लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोलपोस्टहरूमा समेत खिया लाग्न थालेको छ। नियमित सरसफाइ, संरक्षण र मर्मत-सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिन्छ ।

गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन्। तर, रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत-सम्भारको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भएकाले प्रतियोगिता नहुँदैमा मैदानलाई बेवास्ता गर्न नहुने खेलप्रेमीहरूको भनाइ छ । दशरथ रंगशालामा पछिल्लोपटक सन् २०२५ फेब्रुअरी २६ मा सम्पन्न चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । त्यसयता यहाँ कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन ।

विश्वभर फुटबलप्रति उत्साह बढिरहेका बेला नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको यस्तो अवस्था चिन्ताजनक बनेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा पनि रंगशालाको नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ र पूर्वाधार संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी






प्रतिक्रिया