लगातार तेस्रो फाइनलको लक्ष्यमा फ्रान्स, पछिल्लो नतिजा दोहोर्याउने अभियानमा स्पेन

दुवै टोलीको पछिल्लो प्रदर्शन, खेलाडीहरूको लय तथा इतिहासलाई हेर्दा यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । स्पेनले बल नियन्त्रणमा प्रभुत्व जमाउने प्रयास गर्नेछ भने फ्रान्सले तीव्र गतिका आक्रमणमार्फत अवसर सिर्जना गर्ने रणनीति अपनाउने सम्भावना छ

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो सेमिफाइनलमा दुईपटकको विश्व विजेता फ्रान्स र एकपटक विश्वविजेता तथा युरोपेली च्याम्पियन स्पेनबीच नेपाली समयअनुसार मंगलबार मध्यराति १२ः४५ बजे अमेरिकाको डलासमा बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदै छ । लगातार तेस्रो विश्वकप सेमिफाइनलमा स्थान बनाएको फ्रान्स अर्कोपटक पनि फाइनल पुग्ने लक्ष्यमा हुनेछ भने स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकपको फाइनल यात्रा तय गर्ने उद्देश्यसहित मैदानमा उत्रिनेछ । यस खेलको विजेताले उपाधि भिडन्तमा इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । अन्तर्राष्ट्रिय फुटबलमा लामो समयदेखि शीर्ष राष्ट्रमध्ये एक मानिएको फ्रान्सले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार ६ खेलमा जित निकालेको छ । समूह ‘आई’मा सबै खेल जित्दै शीर्ष स्थान हासिल गरेको फ्रान्सले त्यसपछि नकआउट चरणमा स्विडेन, पाराग्वे र मोरक्कोलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।


यी सबै खेलमा फ्रान्सले कुल १६ गोल गर्दै आफ्नो आक्रमण क्षमता पनि प्रभावशाली रूपमा प्रदर्शन गरेको छ । स्विडेनमाथि सहज जित निकालेपछि पाराग्वेविरुद्धको कठिन प्रतिस्पर्धामा सफल भएको फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई पनि पराजित ग¥यो । उक्त खेलमा फ्रान्सले धेरै अवसर सिर्जना गरे पनि केही अवसर खेर फालेको थियो । कप्तान किलियन एम्बाप्पेले पहिलो हाफमा पेनाल्टी अवसर गुमाएका थिए । त्यसपछि उनले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दोस्रो गोलका लागि ओस्मान डेम्बेलेलाई अवसर सिर्जना गरेर टोलीलाई अन्तिम ४ बाट फाइनलको नजिक पु¥याए । एम्बाप्पे, डेम्बेले, माइकल ओलिसे तथा ब्राड्ली बारकोला वा डिजायर डुएमध्ये एक खेलाडी सम्मिलित फ्रान्सको आक्रमण पंक्तिले प्रतियोगिताभर विपक्षी रक्षापंक्तिलाई निकै दबाबमा राखेको छ । टोलीका प्रशिक्षक डिडिएर डेसचाम्प्स सामान्यतया रक्षात्मक रणनीतिका लागि परिचित भए पनि आफ्नो अन्तिम विश्वकप प्रतियोगितामा उनले टोलीलाई केही खुला शैलीमा खेलाइरहेका छन् ।

डेसचाम्प्सको नेतृत्वमा फ्रान्सले विगत १४ वर्षमा उल्लेखनीय सफलता हासिल गरेको छ । सन् १९९८ मा खेलाडीका रूपमा घरेलु मैदानमा विश्वकप जितेका उनले प्रशिक्षकका रूपमा पनि फ्रान्सलाई निरन्तर सफलताको उचाइमा पु¥याएका छन् । स्पेनविरुद्धको खेल उनका लागि विश्वकपमा प्रशिक्षकका रूपमा २६औँ खेल हुनेछ, जससँगै उनले हेल्मुट शोनको पुरानो कीर्तिमानलाई उछिन्नेछन् ।

इतिहासले पनि फ्रान्सलाई केही हदसम्म साथ दिएको देखिन्छ । फ्रान्सले विश्वकपका पछिल्ला ४ वटै सेमिफाइनलमा सफलता हासिल गरेको छ भने पछिल्ला ३ सेमिफाइनलमा कुनै गोल नखाई जित निकालेको थियो । साथै, विश्वकप इतिहासमा फ्रान्स र स्पेनबीच भएको एकमात्र भेटमा पनि फ्रान्सले ३–१ को पुनरागमन जित दर्ता गरेको थियो । यद्यपि पछिल्ला केही वर्षको प्रत्यक्ष भेटमा भने स्पेनको प्रदर्शन राम्रो देखिएको छ । दुवै टोलीबीच भएका पछिल्ला १० खेलमध्ये स्पेनले ७ खेल जितेको छ । विशेषगरी युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराउँदै उपाधि जित्ने यात्रा तय गरेको थियो । त्यसपछि गत वर्ष सम्पन्न युइएफए नेसन्स लिगको फाइनल चरणमा पनि स्पेनले रोमाञ्चक ५–४ को जित निकालेको थियो ।

उक्त उच्च स्कोर भएको खेलमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए भने लामिन यामालले २ गोल गरेका थिए । मिकेल मेरिनोले पनि गोल गर्दै स्पेनलाई विजय दिलाएका थिए । अहिले फेरि यी २ टोली विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदा त्यही प्रतिस्पर्धाको निरन्तरता हुने अपेक्षा गरिएको छ । स्पेनका लागि मेरिनो यस प्रतियोगिताका महत्वपूर्ण खेलाडीमध्ये एक बनेका छन् । क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध अतिरिक्त समयतर्फ खेल जान लागेको अवस्थामा उनले बेन्चबाट मैदान प्रवेश गरेर अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पु¥याएका थिए । यससँगै उनी विश्वकप इतिहासमा नकआउट चरणका २ खेलमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेर निर्णायक गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

स्पेनले समूह ‘एच’मा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । त्यसपछि पहिलो नकआउट खेलमा अस्ट्रियालाई सहज रूपमा हराएको स्पेनले त्यसअगाडि पोर्चुगलविरुद्ध पनि मेरिनोकै निर्णायक प्रदर्शनका कारण सफलता हात पारेको थियो । युरोपेली च्याम्पियनका रूपमा प्रतियोगितामा सहभागी भएको स्पेन अहिले सन् २०१० पछि पहिलोपटक विश्वकपको सेमिफाइनल खेल्दै छ । त्यसबेला स्पेनले दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप जितेको थियो ।

हालका प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा स्पेनले उल्लेखनीय निरन्तरता कायम राखेको छ । रुस २०१८ पछि स्पेनले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका २७ खेलमध्ये केवल एक खेल मात्र हारेको छ । टोली पछिल्ला १४ खेलमा अपराजित रहँदा ९ खेलमा क्लिन सिट राख्न सफल भएको छ । केही वर्षअघि मात्र युवा टोलीका प्रशिक्षक रहेका डे ला फुएन्ते अहिले विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एकका रूपमा स्थापित भइरहेका छन् । उनले हालसम्म नेतृत्व गरेका १३ खेलमध्ये १२ खेलमा जित निकालेका छन् । त्यसैले अनुभवी प्रशिक्षक डेसचाम्प्सविरुद्ध उनको रणनीतिक प्रतिस्पर्धा पनि निकै चासोका साथ हेरिएको छ ।

टोलीगत अवस्थाबारे कुरा गर्दा फ्रान्सका कप्तान एम्बाप्पे क्वार्टरफाइनलमा सामान्य टखुको समस्याका कारण दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । तर उनी सेमिफाइनलका लागि पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ । म्यानु कोने पनि घुँडाको सामान्य समस्याका कारण परिवर्तन गरिएका थिए । उनको चोट गम्भीर नभएकाले उनी पुनः टोलीमा उपलब्ध हुन सक्ने बताइएको छ । अर्कोतर्फ, तिघ्राको चोटबाट फर्किने क्रममा रहेका औरेलियन चुआमेनी पनि छनोटका लागि उपलब्ध हुन सक्छन् । यस विश्वकपमा एम्बाप्पेले ८ गोल गरिसकेका छन् र गोल्डेन बुट जित्ने प्रमुख दाबेदारमध्ये एक मानिएका छन् । उनले डेम्बेलेसँग मिलेर प्रतियोगिताभर एकअर्काका लागि १९ वटा गोल अवसर सिर्जना गरेका छन् । फ्रान्सको आक्रमण पंक्तिमा ओलिसे निश्चितजस्तै देखिए पनि डुए वा बारकोलामध्ये कसले सुरुआती टोलीमा स्थान पाउने भन्ने निर्णय खेलअघि मात्र हुने सम्भावना छ ।

स्पेनतर्फ पनि सुरुआती टोलीबारे केही अन्योल कायम छ । मिकेल ओयारजाबालले यस विश्वकपमा ४ गोल गरिसकेका छन् र उनले अग्रपंक्तिको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । फेरान टोरेस, चोटमुक्त भएर फर्किएका निको विलियम्स तथा येरेमी पिनो पनि पहिलो रोजाइमा पर्ने सम्भावना बोकेका खेलाडी हुन् । मिडफिल्डमा मेरिनो र पेड्रीले सुरुआती टोलीमा स्थान पाउन बलियो दाबी प्रस्तुत गरेका छन् । यसले फाबियान रुइज र डानी ओल्मोमाथि पनि प्रतिस्पर्धा बढाएको छ । युरो २०२४ मा उत्कृष्ट प्रदर्शन गरेका युवा स्टार लामिन यमालले यस विश्वकपमा अपेक्षाअनुसारको प्रभाव छोड्न नसके पनि उनी स्पेनको दायाँ विंगमा नियमित रूपमा खेल्ने सम्भावना छ ।

रक्षापंक्तिमा पेड्रो पोरोले मार्कोस लोरेन्तेमाथि अग्रता कायम राखेका छन् । फ्रान्सको सम्भावित सुरुआती टोलीमा गोलरक्षक माइक मेन्यानसँगै जुल्स कुन्डे, दायोत उपामेकानो, विलियम सालिबा, लुकास डिन, म्यानु कोने, एड्रियन राबियोट, ओस्मान डेम्बेले, माइकल ओलिसे, डिजायर डुए तथा कप्तान किलियन एम्बाप्पे रहने अनुमान गरिएको छ ।
स्पेनको सम्भावित टोलीमा उनाइ सिमोन, पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्टे, मार्क कुकुरेया, रोड्री, फाबियान रुइज, लामिन यामाल, डानी ओल्मो, अलेक्स बाएना तथा मिकेल ओयारजाबाल सुरुआतबाट मैदान उत्रिन सक्नेछन् । दुवै टोलीको पछिल्लो प्रदर्शन, खेलाडीहरूको लय तथा इतिहासलाई हेर्दा यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । स्पेनले बल नियन्त्रणमा प्रभुत्व जमाउने प्रयास गर्नेछ भने फ्रान्सले तीव्र गतिका आक्रमणमार्फत अवसर सिर्जना गर्ने रणनीति अपनाउने सम्भावना छ ।

विश्लेषकहरूको अनुमानअनुसार निर्धारित समय र अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिन सक्छ । त्यसपछि पेनाल्टी सुटआउटमा फ्रान्सले सफलता हात पार्दै लगातार अर्को विश्वकप फाइनलमा स्थान बनाउने सम्भावना व्यक्त गरिएको छ । स्पेन पछिल्ला ३६ खेलमा अपराजित रहे पनि पेनाल्टी सुटआउटमा उसको विगतको प्रदर्शन त्यति प्रभावशाली छैन । विश्वकप इतिहासमा स्पेनले ५ पेनाल्टी सुटआउटमध्ये केवल १ मा मात्र जित हासिल गरेको तथ्यांक पनि फ्रान्सका पक्षमा जाने अर्को आधार मानिएको छ ।

प्रतिक्रिया