
विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२६ विश्वकप फुटबलको फाइनल खेल सम्पन्न भएपछि पनि त्यसबाट थप आम्दानी गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फाइनल खेल हुने मैदानको घाँसलाई स–साना टुक्रामा विभाजन गरेर बिक्री गर्ने घोषणा गरेको हो । यस योजनाबाट फिफाले करोडौँ डलर आम्दानी गर्ने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फिफाका अनुसार विश्वकप फाइनलमा प्रयोग हुने मैदानको वास्तविक घाँसका टुक्रा आधिकारिक रूपमा संकलन गरी विशेष किसिमको पारदर्शी एक्रिलिक सामग्रीभित्र सुरक्षित राखिनेछ । ती स्मरणीय वस्तुहरू संग्र्रहकर्ता, फुटबल समर्थक तथा खेलप्रेमीहरूका लागि बिक्री गरिनेछन् । यसको प्रारम्भिक मूल्य ४५० अमेरिकी डलर तोकिएको छ भने उच्च श्रेणीका विशेष संस्करणहरूको मूल्य ३ हजार अमेरिकी डलरसम्म पुग्नेछ ।
जारी विश्वकपको फाइनल अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ । उक्त रंगशाला सामान्यतया एनएफएलका न्यूयोर्क जायन्ट्स र न्यूयोर्क जेट्स टोलीका खेलका लागि कृत्रिम सतह प्रयोग गर्ने भए पनि विश्वकपका लागि त्यहाँ प्राकृतिक घाँस बिछ्याइएको छ । प्रतियोगिताका क्रममा फिफाले यस रंगशालालाई ‘न्यू जर्सी–न्युयोर्क स्टेडियम’ नाम दिएको छ । प्रतियोगिताको क्रममा केही खेलाडी तथा प्रशिक्षकहरूले मैदानको गुणस्तरप्रति असन्तुष्टि व्यक्त गरेका थिए । कृत्रिम सतहमा नियमित रूपमा खेल सञ्चालन हुने रंगशालामा प्राकृतिक घाँस राखिएकाले त्यसको अवस्था अपेक्षाअनुसार नरहेको भन्दै आलोचना भएको थियो । यद्यपि फिफाले विश्वकपका सबै खेलस्थलमा समान स्तरको खेल मैदान उपलब्ध गराउन नयाँ प्राकृतिक घाँस जडान गरिएको जनाएको छ ।
फिफाको आधिकारिक अनलाइन स्टोरमा उपलब्ध विवरणअनुसार प्रत्येक घाँसको टुक्रा विशेष एक्रिलिक संरचनाभित्र सुरक्षित राखिनेछ । यससँगै प्रमाणिकता पुष्टि गर्ने विशेष सुरक्षा चिन्ह र युएसबी स्मरणिका पनि समावेश गरिनेछ । आकर्षक डिजाइन भएको विशेष बक्समा प्याक गरिने यी सामग्री संग्रहका लागि उपयुक्त हुने फिफाको दाबी छ । यद्यपि प्रत्येक घाँसको टुक्राको आकार १७.५ गुणा १७.५ गुणा १७.५ उल्लेख गरिए पनि त्यो मापन इन्च, सेन्टिमिटर वा मिलिमिटरमध्ये कुन एकाइमा हो भन्ने स्पष्ट गरिएको छैन । स्मरणीय वस्तुका रूपमा बिक्री गरिने घाँस ४ फरक मूल्य वर्गमा उपलब्ध हुनेछ । ४५०, ९०० र १ हजार २०० अमेरिकी डलरका सामान्य संस्करणका साथै ३ हजार अमेरिकी डलरको विशेष संस्करण पनि राखिएको छ । सबैभन्दा महँगो संस्करणमा करिब ३ इन्च गुणा ३ इन्च आकारको घाँस, सुनौलो अक्षरले सजाइएको फाइनल खेलको प्रतिकृति टिकट, विश्वकपको सानो प्रतिकृति बल तथा क्रिस्टलबाट बनाइएको विश्वकप ट्रफीको प्रतिकृति समावेश हुनेछ ।
फिफाले प्रत्येक मूल्य वर्गमा अधिकतम २ हजार २६ वटा मात्र सामग्री बिक्रीका लागि उपलब्ध गराइने जनाएको छ । सीमित संख्यामा मात्र उत्पादन गरिने भएकाले यी सामग्री भविष्यमा दुर्लभ संग्रहका रूपमा मूल्यवान बन्न सक्ने अपेक्षा गरिएको छ । फिफाले हालका लागि यी स्मरणीय घाँसका टुक्राहरू अमेरिका र युरोपका ठेगानामा मात्र पठाउने व्यवस्था गरेको छ । साथै विश्वकप फाइनल सम्पन्न भएपछि मात्र खरिदकर्तालाई सामग्री पठाइने स्पष्ट गरिएको छ । यसअघि पनि फिफाले विश्वकपका टिकट तथा आतिथ्य प्याकेजको उच्च मूल्यका कारण आलोचना खेप्दै आएको छ । फाइनल खेलका केही टिकटको मूल्य ३२ हजार ९७० अमेरिकी डलरसम्म पुगेको छ भने खानपिन सुविधा समावेश गरिएका आतिथ्य टिकटको मूल्य ३४ हजार ५०० अमेरिकी डलरसम्म निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फाइनलमा प्रयोग हुने प्राकृतिक घाँस अमेरिकाको नर्थ क्यारोलिनास्थित विशेष टर्फ फार्ममा उत्पादन गरिएको हो । विश्वकपका सबै खेलस्थलमा एउटै स्तरको खेल मैदान सुनिश्चित गर्न सियाटल, एटलान्टा, इस्ट रदरफोर्ड, भ्यानकुभर, आर्लिङ्टन र इंगलउडलगायत कृत्रिम सतह प्रयोग गर्ने रंगशालामा समेत नयाँ प्राकृतिक घाँस बिछ्याइएको थियो । यद्यपि फाइनलमा प्रयोग नहुने अन्य रंगशालाका प्राकृतिक घाँस प्रतियोगिता समाप्त भएपछि कसरी व्यवस्थापन गरिने वा त्यसलाई पनि स्मरणीय सामग्रीका रूपमा बिक्री गरिने हो वा होइन भन्नेबारे फिफाले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया