
काठमाडौं । उचित विकल्प र व्यवस्थापन बिना नै आफूहरूलाई उठिवास लगाइएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आज आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । भूमिहीन तथा सुकुम्बासीहरूको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै मोर्चा आन्दोलित भएको हो ।
शनिबारका दुईवटा घटनाले सुकुम्बासीहरूको आन्दोलनलाई थप उग्र बनाएको आन्दोलनकारीहरूले बताएका छन् । शनिबार बिहान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेर त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित हुनुपरेको थियो । उचित र सुरक्षित ठाउँमा व्यवस्थापन नगर्दा प्राकृतिक विपत्तिले आफूहरूलाई थप संकटमा पारेको उनीहरूको गुनासो छ ।
एकातर्फ सुरक्षित आवास नभएको र अर्कोतर्फ सरकारले व्यवस्थापन गरेको भनिएको ठाउँमा पनि बाढी पसेर बिचल्ली हुनु राज्यको चरम लापरबाही भएको प्रदर्शनकारीहरूको भनाइ छ ।
यसैगरी, शनिबार साँझ सुकुम्बासीहरूको माग र अधिकारका पक्षमा आवाज उठाइरहेका जेनजी समूहका युवा अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेपछि मोर्चा थप रुष्ट बनेको छ । नागरिक अधिकार र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हकको हनन गर्दै अभियन्ताहरूलाई समातिएको भन्दै मोर्चाले तत्काल उनीहरूको रिहाइको मागसमेत गरेको छ ।
मोर्चाले बाढीबाट विस्थापित भएका कीर्तिपुरका सुकुम्बासीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उचित विकल्प र दीर्घकालीन पुनर्वासको व्यवस्था बिना जबरजस्ती उठिवास लगाउने कार्य बन्द गर्न तथा पक्राउ गरिएका जेनजी अभियन्ताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।
नेपालको संविधानले नागरिकको आवासको हकलाई मौलिक हकका रूपमा ग्यारेन्टी गरे पनि व्यवहारमा सरकारले आफूहरूमाथि अन्याय गरेको मोर्चाको आरोप छ । माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले प्लेकार्ड र नाराबाजीसहित सरकारलाई संवादमार्फत दीर्घकालीन समाधान खोज्न दबाब दिएका छन् ।–तस्विर नेपाल फोटो लाइब्रेरी











प्रतिक्रिया