
काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित यस्ता समाचारहरूप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।
राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको रास्वपाले ठहर गरेको छ ।
‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, – ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् ।’
स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै रास्वपाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता कदमहरूको भर्त्सना गरेको छ ।
रास्वपाले यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराइएको महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै रास्वपाले सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
प्रतिक्रिया