मन्त्रिपरिषद्को निर्णय : महेश्वरभक्त श्रेष्ठ वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल, नेपालको विपद् खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने समेत निर्णय गरेको मन्त्री पोखरेलले बताए ।

बैठकले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । साथै, मन्त्रिपरिषद्ले बीउविजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

प्रतिक्रिया