पार्टी जोगाउने अन्तिम कसरतमा थापा र खड्का

चुनदेवीमा कार्यकर्ताको प्रश्न— नयाँ पार्टी दर्ता कहिले ?

काठमाडौँ । गत २२ असारमादेखि काठमाडौँस्थित चुनदेवीमा ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ खोलेर कांग्रेस संस्थापन इतर पक्षले पार्टी फुटको रेखा कोरे पनि निर्णय लिन भने ढिलाइ गरिरहेको छ । पार्टी फुटअघि सहमतिका लागि अन्तिम कसरतमा कांग्रेस सभापति गगन थापा र इतर पक्षका नेता निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लागिपरेको नेताहरूले बताएका छन् । इतर पक्ष संस्थापनकै कारण एकताको सम्भावना क्षीण भएको निष्कर्ष निकाल्दै अलग पार्टी बनाउन राजनीतिक, व्यवस्थापकीय तथा प्राविधिक तयारीमा जुटिसकेको छ । तर, आफूहरूले निकालेको निष्कर्ष पार्टी सभापति गगन थापासमक्ष पुगेसँगै इतर पक्षले पार्टी फुटाउने प्रक्रिया होल्ड गरेको हो । दुवै पक्षले एकताका लागि प्रस्ताव आदानप्रदान गरे पनि हालसम्म सहमति जुट्न सकेको छैन । तर, मध्यमार्गी विकल्प खोज्न भने दुवै पक्ष सक्रिय देखिएका हुन् ।

इतर पक्षले छुट्टै कार्यालय खोलेसँगै सभापति गगन थापा र नेता पूर्णबहादुर खड्काबीच गोप्य भेटवार्ता भएको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विभाजन गर्नैपर्ने ठुलो खाडल नरहेको भन्दै दुवै नेताले एकले अर्कालाई कन्भिन्स गरेका छन् । खड्काले अन्तिममा एक सूत्रीय मागका रूपमा १४आँै महाधिवेशनका सम्पूर्ण केन्द्रीय सदस्यलाई समायोजन गर्नुपर्ने अडान राखेका छन् । नेता व्यवस्थापनको विषय मिलेमा सदस्यता नवीकरणको विषय पनि मिलाएर जान सकिनेमा दुवै पक्ष पुगेका छन् ।

तर, सभापति थापाले भने विधानतः केन्द्रीय समितिलाई समायोजन गरेर संख्या बढाउन नसकिने भन्दै खड्कासँग ३०÷३५ जनालाई केन्द्रीय सदस्य बनाउने वचन दिएका छन् । थापाले सो संख्यामा केन्द्रीय सदस्यहरूको नाम तत्काल दिन र आफूले मनोनित गर्ने भनेर खड्कासमक्ष प्रतिबद्धता गरेको स्रोतले जानकारी दियो । सो विषयमा खड्का आफ्नो समूहमा छलफल गरिरहेको बुझिएको छ ।

सिटौला र निधि हार्डलाइनर, अरू नरम

उच्च स्रोतका अनुसार नेता कृष्ण सिटौला र विमलेन्द्र निधिले पार्टी विभाजनमै जानुपर्ने मत राखिरहेका छन् । पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. प्रकाशरण महत रहेको इतर पक्षको हेडक्वार्टरमा सिटौला र निधिबाहेक नेताहरू भने नरम सुनिएका छन् । खड्का, कोइराला र सिंहकै कारण तत्काल राष्ट्रिय भेला नबोलाइएको बताइएको छ । खड्काले पनि तत्काल राष्ट्रिय भेला नबोलाई सकेसम्म सहमतिको प्रयास गर्न खोजे पनि आफ्नै समूहभित्रको चेपुवामा परेका कारण सहमति जुट्न नसकेको इतर पक्षकै कतिपय शीर्ष नेताहरूले बताएका छन् ।

चुनदेवीमा बढ्यो चहलपहल

चुनदेवीस्थित इतर पक्षको कार्यालयमा नेता, कार्यकर्ताहरू नियमित रूपमा जाने गरेका छन् । नयाँ पार्टी गठनको मिति कहिले ? भन्ने प्रश्न बाक्लै सुनिन थालेको छ । कतिपय कार्यकर्ता नयाँ पार्टी गठनकै उत्साह बोकेर चुनदेवी धाइरहेका छन् । पार्टी विभाजनका लागि अग्रपंक्तिमा देखिएका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यालयबाट काम सुरु भइसकेको बताए । उनले पार्टी फुटिसकेको भन्दै दर्ता गर्न मात्रै बाँकी रहेको जिकिर गरे । ‘लगभग पार्टी फुटिसक्यो । दर्ता गर्न मात्रै बाँकी छ,’ उनले भने, ‘गगनले मिलाउन सक्दैनन् । हामीले बाटो त खोज्नैपर्यो ।’

६ साउनअघि सहमतिको प्रयास, त्यसपछि बाटो क्लियर !

नयाँ पार्टीको गठन राष्ट्रिय भेलाले दिने म्यान्डेटअनुसार गर्ने भनेर अघि बढेको इतर पक्षले राष्ट्रिय भेला बोलाउन बिलम्ब गरेको छ । त्यसको कारण पनि सहमति खोज्ने प्रयास रहेको नेताहरू बताउँछन् । ६ साउनमा बिपी जयन्तीको अवसरमा काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा इतर पक्षले कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममार्फत् आफ्नो लाइन क्लियर भएको सन्देश पनि इतर पक्षले दिन चाहेको छ । सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति तोकिने नेता विमलेन्द्र निधिले जानकारी दिए । उनले साउनको दोस्रो वा तेस्रो साता राष्ट्रिय भेला बोलाउने गरी मिति तय हुने जानकारी दिए । निधिले इतर पक्षसँग छलफल र वार्ताका लागि अग्रसरता नलिएको बताए । ‘वार्ता छलफलका लागि उनीहरूले (संस्थापन पक्षले) अग्रसरता लिएका छैनन्,’ उनले भने, ‘हामीले राष्ट्रिय भेला नगर्ने कुनै कारण छैन ।’

प्रतिक्रिया