१०९ दिन बिताएको यो सरकार चिहान उधिन्ने, भएको भत्काउने, बिगार्ने र सताउने तर्साउने काममा बढी उद्यत छ भन्ने टिप्पणी छ । सुकुमवासीको रुवाबासी भयो, कर्मचारीको सातो गयो, प्रहरी सेना उपर दबाब बढ्यो, न्यायिक अंगको गरिमा घट्यो र निजी क्षेत्रका उद्यमी व्यवसायीलाई निरुत्साहित पारियो । सर्वत्र अगुल्टो ठोकेर खरानी उडाउने काम भयो भन्ने पनि शिकायत सुनिन्छ ।

गएको वर्ष चैत १३ गते – शंख घण्टको धून, बाजागाजा र तामझामसहित नेपालको राजकाजमा खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘मधुकाल’ मानिने सय दिनको समय पार गरेको छ । समय चलिरहन्छ, समयको व्यय भइरहन्छ र कार्यकाल पल पल भएर छल्दै टल्दै बढ्दै जान्छ । समय कोही केही विषयलाई पर्खेर, टक्क अडिएर बस्दैन, त्यो गुज्रिएर गइरहन्छ ।
सय दिन भएपछि हेरौँला, हामी के के गरौँला भनेर सय समयको सय कार्यक्रमको फिहरिस्त आयो, त्यो समय अब समाप्त भयो । कम से कम नवागत सरकारलाई सय दिनको मधुमास त मनाउन दिउँ, अनि मुख फोरौँला भन्ने भाका पनि आयो ।
दिन जान बेर लाग्दैन, आज, भोलि, पर्सी, हिजो अस्ति र कन् अस्ति गिन्ती गर्दागर्दै हप्ता पक्ष महिना गुज्रन्छ । सय दिनको समय भनेको कति हो र ? सय दिन पूर्वको २२–२४ दिन घण्टी घन्काउँदै बित्यो । आफूलाई सडकसम्मत नागरिक सरकारको दाबी गर्ने सुशीला सरकारले चुनाव गरायो, चुनावपछि कानै खाने गरी घण्टी घन्कियो । तत्पश्चात् चैत १३ आयो, चमकदमक उसै बढ्यो, घण्टीको तालमा आरती बालियो । नयाँ भजन स्वस्ति अघिअघिकै सुरतालमा चर्को गरी चल्यो । जेठ १५ आयो बजेट ल्याइयो ।
जेठ १७ गते प्रधानमन्त्रीको मुख वाणी प्रकट भयो । कतै गाली र कतै तालीको फोहरा छुट्यो । जयजय पराजयको पनि विवेचन भयो । यस्तै यस्तैमा गयो समय । तर प्रश्न सन्दर्भ उही रह्यो । आउने कुरा आयो, सार कुरा आएन । समय मात्र खेर गयो भन्ने अर्कोतिर चर्को कुरा रह्यो । चमत्कार तिरस्कारमा हुँदैन, सबैलाई नमस्कार गरेर र सबैलाई सत्कार गरेर मात्र, सर्व स्वीकार्य सरकार हुने हो ।
हामी नयाँ चमत्कार गर्न आएका भनेर इतिहासको भारलाई पन्छाएर, हिजोको उछित्तो गरेर सुन्दर हुने होइन । अहिले मन्त्री मन्त्रीका हरेकजसो बोली वचनमा साराका सारा पुरानिया उपर तिरस्कारको जुन शैली प्रकट वा प्रस्तुत भएको पाइन्छ, त्यो राजनीतिक शील, सभ्यता तथा मर्यादाभित्र पर्दैन । त्यस्तो अहंकारले कुनै चमत्कारी वा लाभकारी परिणाम ल्याउँदैन । नेपालको राजनीतिमा सदा नै चल्ती चलन चलिराख्यो कि अब अघिकालाई गाली गर र नयाँ बिस्कुन छर ।
हेक्का राख्नुपर्ने कुरा हो, आजको शासन सत्ता पनि भोलि पर्सी गएर अघिकाको हुन्छ, सारा पूर्ववर्ती सरह आज जिम्मेवारीमा भएकाहरू पनि – पुरानिया भएर उसैगरी किनारा लाग्छन् । सतही भएर होइन अहंकारी र धुन्धुकारी भएर हैन सबैलाई समझदारीमा अँगालेर अघि बढ्नु श्रेयस्कर हुन्छ । तर दुःखपूर्वक भन्नुपर्छ, अहिले चमत्कारका नाममा तिरस्कारको वहार छाएको छ । दूरगामी दृष्टिकोण राख्दा यो जो कोहीका निम्ति पनि सही हुँदैन ।
कम शासन अधिक आसन
शासन गर्ने भनेको सबै सबैलाई आ–आफ्नो आसनमा बसाल्ने हो । कसैलाई उसको ‘स्व–आसन’ बाट थचारेर अर्को कोहीलाई, त्यसमा आसीन गराउँदैमा सुशासन हुने होइन । जो जेका लागि योग्य, समर्थ, कुशल र जानकार छ, त्यसलाई त्यसै प्रकारको स्थानमा बसालेर, सामाजिक सार्वजनिक काम कारबाही अघि बढाउनु पर्छ । ‘योग्य स्थाने योग्याय’ को नीति राज्यको हुनुपर्छ ।
तर फेरिँदै जाने सत्ता, बदलिँदै जाने शासकीय कुर्सीका मन्त्री, तिनका वरपरका सल्लाह सुझावका लागि भनेर आसन जमाएका भारदारी ढाँचाका पात्र चरित्रको ध्यान ध्याउन्न आसनबाट हटाउने र अरू कोहीलाई येनकेन त्यसमा स्थानापन्न गर्ने नै देखिन्छ । वस्तुतः सनातनी यो खालको राजनीतिक र सत्तागत शैली सर्वथा अग्राह्य वा त्याज्य हो ।
जो आ–आफ्नो सीप क्षमता अनुरूप जहाँ जहाँको जुन आसनमा रहे बसेको छ, त्यसलाई निष्कासन गर्ने होइन, त्यसलाई अझ सक्षम बनाएर अरू धेरै धेरै दक्ष विज्ञ कुशलहरूका निम्ति पनि सुहाउँदो खालको आसन दिँदै जाने हो । अनि न राज्यको कार्य सर्वस्वीकार्य भएर स्वस्थ ढाँचामा अघि बढ्छ । एग्रीकल्चरको मान्छेलाई कल्चरमा लगेर न कृषिको उन्नति हुन्छ न त संस्कृतिकै । त्यसैले त्यस्तो प्रकारको पजनी शासन होइन, त्यस्तो शास्तीको शासन होइन, व्यापक ढाँचाको पारखपूर्ण आसन व्यवस्थाको राज्य प्रबन्धन आवश्यक देखिन्छ ।
भयभन्दा लय अनिवार्य
राज्यको ध्यान विलयतिर, विग्रहतिर र वितण्डातिर जानु हुँदैन । सरकार सबैको आधार हो, उसले वहन गर्ने राज्य भार सबैको भर निर्भरको विषय हो । तर शासन सत्ता र राज्य संयन्त्रमा भय सन्त्रास हुकुम हैकम भर्न लागि पर्छ तब विधि बन्दोबस्त बिग्रन्छ । भयमा होइन लयका खातिर राज्य सत्ताको सच्चा प्रयत्न हुनुपर्छ ।
समाजलाई, हाम्रा संरचनालाई, सेवा निर्माण उद्यमका क्षेत्रलाई, प्रशासनिक संयन्त्रलाई र क्षमता प्रदर्शन गर्ने पात्रलाई भयमा पारेर होइन लयमा ल्याएर देशलाई उन्नत पथमा अघि बढाउनुपर्छ । अब पुरानो भारी होइन नयाँ भकारी भर्ने भनेर आएको सरकारले सही–सक्षम सबैको भरथेक गर्न सक्नुपर्छ । यसका निम्ति अनिवार्य सर्त हुन्छ, भय र विलयको विरहतिर होइन लय समातेर मुलुकलाई लैजानुपर्छ ।
चिहानमा भन्दा मुहानमा ध्यान
१०९ बिताएको यो सरकार चिहान उधिन्ने, भएको भत्काउने, बिगार्ने र सताउने तर्साउने काममा बढी उद्यत छ भन्ने टिप्पणी छ । सुकुमवासीको रुवाबासी भयो, कर्मचारीको सातो गयो, प्रहरी सेना उपर दबाब बढ्यो, न्यायिक अंगको गरिमा घट्यो र निजी क्षेत्रका उद्यमी व्यवसायीलाई निरुत्साहित पारियो । चिहान खन्दै सर्वत्र नकारात्मकताको नजर तान्दै, फोहेर थुपार्ने, पार नलाग्ने कुरामा हात बढाउने र सर्वत्र अगुल्टो ठोकेर खरानी उडाउने काम भयो भन्ने पनि सिकायत सुनिन्छ ।
अनुशासनको माला भिरेर र सुशासनको जप गरेर उत्खनन, नियन्त्रण, ठाडो–निर्देशन एवं दमन हुनु भएन, विधिसम्मत न्याय संगत प्रक्रिया सञ्चालनमा हुनुप¥यो भन्ने राय परामर्श पनि धेरैको छ । मुख्य कुरा चिहानमा होइन मुहानमा हेर्नुप¥यो । प्रधानमन्त्रीले ३५ वर्षको काम ३५ मिनेटमा हुँदैन, फोहोर सफा गर्न टाइम चाहिन्छ भनेर भनेको कुरामा विमति रहन्न ।
तर चिहान उधिनेर होइन, मुहानमै के गल्ती भयो, कहाँबाट कहिले देखि, के के कुराको भूलचूक भयो, त्यसको निदान हुनुप¥यो भन्ने जनस्तरीय अवधारणा हो । थरी थरी नाली, कुलो, खोल्सो मात्र खनेर के गर्ने र थुनिएको मुहान र त्यहाँ जमेको गेग्रानलाई सफा पार्नुपर्छ । हडबड र गडबड गरेर हुँदैन, जनताको मन मुहान, मस्तिष्क चिन्तन र प्रत्युत्पन्न विवेक पारखको भाव अनुबोध गर्न गाम्भीर्यता चाहिन्छ ।
संशय र विग्रहको वृक्ष
रूखको विरुवा रोप्ने हो । काम लाग्ने शान्ति र शीतलता दिने वृक्ष ठडाउने हो, तर अनेक बिंगाका चित्र विचित्र कागजी रेखा कोर्ने होइन । रूखको मूल जरो राम्रो गरी बढाएर लाने हो, अनेक संशय र विग्रह उठ्ने गरी नानाभाँती नक्कली वीजारोपण गरेर अगतिलो पातलो खेतीपाती गर्ने होइन । प्रजातन्त्र नै खतरामा पर्छ कि, विश्वअर्थ–राजनीति र प्रभाववादको भूमरीमा हाम्रो धर्म प्रकृति संस्कृति, इतिहास परम्परा र मौलिक मूल्य नै शिथिल हुन्छ कि भन्ने संशय भाव पनि फैलिएको छ ।
हामी कसैको हावा हुरी, असिना पानीमा नबहौँ । आफ्नै पसिनाले आफ्नै प्रकृतिलाई, आफ्नो पहिचान जोगाएर, फुलाउने सजाउने काममा संलग्न रहौँ । त्यसतर्फ राम्रो राज्य प्रणाली, राज्य शासन र राज्य संयन्त्रको सचेष्ट ध्यान जानुपर्छ । के गर्दा नेपालको जय हुन्छ, के गर्दा हाम्रो मय ताप, क्षय र विग्रह समाप्त हुन्छ, त्यस दिशातर्फ अबको गन्तव्य हुनुपर्दछ ।
जय घण्टी र रुद्र घण्टी
विगतमा प्रजातन्त्र, जनतन्त्र, जनकल्याण, गाँस बास, कपास भन्दै धेरै थरी तन्त्र साधना भए । लामो न लामो गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भनेर परिचय पनि गराइयो । जयनेपाल, लालसलाम, जय सर्वहारा, जय जनवाद भन्दै भन्दै जय घण्टीको घनन पनि राम्रै गरी घन्कियो । ती जे जे आए, ती फुँदा मात्र भए, फन्डा मात्र रहे । अहिले जय घण्टी भन्दै सय दिनको उपलब्धि गिन्ती भइरहेछ ।
चुपचाप घण्टीमा छाप ठोकाउनेहरू जय जय भावमा ढ्याप ढ्याप टेबुल ठोकिरहेछन । जे भए पनि राम्रो राम्रो भनेर हात उठाइरहेछन् । अर्काथरी पराजय, संशय र विग्रहको भाव बोकेर सय दिन व्यर्थले व्यय भयो, समय अर्थहीन भएर गुज्रियो भनेर विमतिको बाजा बजाइरहेछन् । बाजा घण्टी जे जति बजे पनि छाम्नुपर्ने र सुन्नुपर्ने विषय नेपाली जनताको रुद्रघण्टी हो ।
रुद्रघण्टी अठ्याएर वा पस्नै नसक्ने गरी घोकाएर वा कोचाएर अप्ठेरोमा पार्नु हुँदैन । शासन विधानको सकस दिनु हुँदैन । रुद्रघण्टीको ध्वनि राम्रो गरी सुनिनु पर्छ । सबैलाई गाँस, बास, कपास शान्ति सुरक्षा र सुविधाको अधिकार हुनुपर्छ, राष्ट्रको मूल ध्वनि, सही वाणी राम्रो गरी सुनिनु पर्छ ।
राम्रो कामको तारिफदारी गर्नुपर्छ । जनहितकारी कार्य कदमप्रति सकारात्मक रहेर कृतज्ञता जनाउनु पर्छ । तर नग्नता देख्दा देख्दै ‘क्या राम्रो पोसाक’ भनेर बकवास गर्नुको कुनै अर्थ रहन्न । जय भइरहेको छैन, देश हारिरहेको छ र समाज हैरानीमा छ तर सत्ताका हिमायतीहरू जय घोष गरिरहेका छन् भने त्यो त्यस्तो अवस्था स्वयंमा आत्म वञ्चनाको कुरा हो ।
भय अनर्थ र पराजय वा संशयमा समयको व्यय हुँदै जानु राम्रो होइन । समय त अर्थप्रद भएर बित्नु पर्छ, चल्दो समयले हामी सबैलाई चलायमान पार्नु पर्छ । अब सरकार बदलियो, जान्नेलाई भन्दा आफ्नालाई छान्ने भन्ने बेला गयो, अब जमाना नयाँ आयो भनियो । तर स्थिति रीति प्रायः त्यही रह्यो भनेदेखि भयो के ? जो उताको होइन यताको हो त्यसैलाई छान्ने र जो यताको होइन अन्यत्रको हो, त्यसलाई भयभित पार्ने, परित्याग गर्ने त्यही प्रथा रहे परिवर्तनको आभास कसरी हुन सक्छ ?
योग्यको खोजीमेली नगरी, भोग्य माग भोगको गतिले चल्दाखेरी समयको व्यर्थ व्यय मात्र हुन्छ । समय यसरी बिनाअर्थकरी भएर गुज्रनु हुँदैन । ‘वादे वादे जायते तत्वबोध’ भनिन्छ । प्रजातन्त्रमा पक्ष विपक्ष हुनुपर्छ । समर्थन कार्य सम्पादनका लागि र विरोध सत्ता–सचेतताका निम्ति चाहिन्छ । बहुलवाद, बहुदलीयता तथा विविधताको राजनीतिक यात्रामा खबरदारी निगरानी आवश्यक हुन्छ भन्ने ठानिन्छ ।
तर बुझ्नुपर्ने कुरा छ, अनर्थको वाहवाही वा व्यर्थको समर्थन विरोधले मात्र हाम्रो काल बेला व्यतीत भइरहनु हुन्न । विगत कालचक्रले देखाएको हाम्रो दूरावस्था वस्तुतः हामी आफैँभित्रको किचलो कचिंगालका कारणबाट आएको हो, त्यसको निराकरण व्याप्त राजनीतिकरण तथा प्रतिशोधको वातावरण बढाएर हुन सक्दैन ।
यहाँनेर सम्झनु पर्ने र अवलम्बन गर्नुपर्ने कुरा, सोच समझ, सामञ्जस्य एवं सहमति हो । राजनीतिमा समझदारी र समन्वय हुँदै हुँदैन भन्ने गलत भाष्य हो । स्वस्थ समझदारीका साझा विषय र मध्यम मार्ग वा सत्र कति हुन्छन् कति ! हो त्यो तेस्रो बाटो, त्यो सोझो पाटो र त्यो राष्ट्रको मूल–पथ समात्ने हो भने सबै मिलेर देश उठाउने अनि समाजलाई उन्नत बनाउने काम निर्वाध हुन सक्छ ।
समय र सम्पत्तिको खर्च
समयको एक–एक पल र सम्पत्तिको एक–एक पाईको ठुलो महत्व छ । बेकारमा समयको घडा पल नबितोस् र राष्ट्रको ढुकुटीको पैसा उसै छरलछारल भएर नसकियोस् भन्ने सोच राखेर सरकारले काम गरोस् भन्ने नै जनताको धारणा हो । हरेक मन्त्रीले आ–आफ्ना कुलकुटुम्ब बिनाकामी मान्छेलाई सल्लाहकार, सहजकर्ता भनेर घेरा किन लगाउने ? राष्ट्रको ढुकुटी स्वाहा स्वाहा पारेर किन सक्ने ?
संविधानले मानेको, कानुन र व्यवस्थापनले छानेको स्थायी संयन्त्र ब्युरोक्रेसी छँदै छ । हरेक मन्त्रालय र मातहतका विभागमा एक से एक योग्य कर्मचारीहरू छन् । सरकारका मन्त्रीहरूलाई सघाउने जान पहिचान गराउने संस्थागत त्यस्तो संरचना हुँदाहुँदै असंवैधानिक अदृश्य वा भूमिगत झुन्ड खडा गर्नु अपव्यय मात्र हो । विकास योजनाको खाका कोरेर अर्थ व्यवस्थाको उपादेयता बढाउने जिम्मेवारीमा आइपुगेका अर्थमन्त्रीलाई जथाभावी पद सृजना गरेर तलब भत्ता र विशिष्टतम सुविधाका नाममा फजुल खर्च गर्न यो समयमा कुनै पनि हालतमा न्याय सम्मत समयसंगत हुन सक्दैन ।
अहिले कर्मचारी प्राविधिक उद्यमी, निर्माण व्यवसायी व्यापारी, प्रहरी न्यायमूर्ति, जनप्रतिनिधि आदि आदि सबै सन्त्रासमा छन् भन्ने ठानिन्छ । शासन सत्ताको उपरी आसनमा बस्नेहरूले सम्बद्ध सबैको विश्वास आर्जन गर्न सक्नुपर्छ । बीचका मान्छेको कालो धन्दा पखालेर पारदर्शी ढंगले सेवा प्रवाह गर्ने अठोट बोकेर आएको यो सरकारलाई विद्यमानमा मौजूद संस्थागत संयन्त्रलाई खल्बल्याएर आफूखुसी आफन्त भर्ती गर्ने छुट अवश्य छैन ।
यदि त्यस्तै खाले मनोवृत्ति राखेर, भएकाहरूसँगको भर विश्वास तोड्ने सर्वत्र सन्त्रास फैलाउने र समानान्तर गिरोहको आडमा जथाभावी नीति निर्धारण एवं निर्णय गर्ने गराउने काम भयो भने समय क्रमले यो सरकारलाई पनि क्षमा दिने छैन । सय दिन व्यतीत भइसकेपछि विपक्षी मात्र होइन स्वपक्षी घण्टी वादक सांसद नै पनि अहिले समय सँगै सरकार चुक्दै गएको मनःस्थिति राख्दछन् ।
यसैले जयको दम्भ राखेर राज्य उपर प्रहार गर्ने र अन्यको भर विश्वास नराख्ने परिस्थितिले परिणति राम्रो बस्दैन, दिँदैन, परिप्राप्ति राम्रो हुँदैन । भर्खर त १०९ दिन भयो, अझै १ हजार ५०० दिन छन् हाम्रा भनेर दिन बिताउने, भय सन्त्रास र अविश्वासमा समय कटाउँदै जाने हो भने त्यसले नयाँ इतिहास कोर्दैन । त्यसैले अट्टहास र बिनाभरको अविश्वासमा समयको व्यय नहोस् विधि व्यवस्था प्रक्रिया र प्राकृत मान्यताका आधारमा गति बढोस्, आमआकांक्षा यही हो ।
प्रतिक्रिया