आफ्नो दुःख स्वीकार गरेपछि मात्र अध्यात्मको सुरुआत हुन्छ । रास्वपाको प्रथम महाधिवेशनले देश अध्यात्ममा प्रवेश गरेको संकेत दिएको छ । महाधिवेशनको आयोजना एउटा पार्टीको भए तापनि सबैजसो मुख्य दलको उपस्थितले सिंगो देशको प्रतिनिधित्व गर्दछ । सबै पार्टीले आफ्नो विगत नियालेर कमजोरी स्वीकारेर मनको मैलो पखालेका छन् । मनको केन्द्रमा अहं हुन्छ । अहं अपूर्णताको भाव हो । आत्मातिर गए पूर्ण हुने अहं प्रकृतिका विषय प्राप्त गरेर पूर्ण हुन खोज्दा झन् ठुलो दुःखमा परेको हो । देशको आत्मा भनेको सुशासन हो ।

पुराना दल र नेताले देशमा भित्र्याएको भ्रष्टाचार र बेथिति सफा गरी देशको अवस्था बदल्ने भन्दै ‘पुराना नेता नो नट अगेन’ को नारा लगाउँदै घन्टी चिन्ह राखेर ४ वर्षअघि दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनले पार्टिको विचार सामाजिक लोकतन्त्र निर्धारण गर्दै संविधान संशोधनको सवालमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रियसभाको अध्यक्षता उपराष्ट्रपतिले गर्ने गरी राष्ट्रियसभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने र प्रदेशसभाको समेत पुनर्संरचना गर्ने कुरामा पार्टीलाई उभ्याउँदै ब्यापक सहमतिबाट संविधान संशोधन हुनुपर्ने राय जाहेर गरेको छ ।
महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले वैचारिक अस्पष्टता स्पष्ट पार्न, गुटबन्दीमा फसेर पार्टीभित्र विवाद नगर्न र परिपक्व ढंगले सरकार चलाएर देशमा स्थिरता कायम गर्न लाग्नुहोस् हाम्रो साथ रहन्छ भन्ने आश्वासन दिए । एमाले नेता प्रदीप ज्ञवालीले रास्वपाले पाएको जनादेश सुदृढ लोकतन्त्र र जनताको मुहारमा उज्यालो ल्याउन रूपान्तरण हुनुपर्ने औँल्याए । नेकपाका नेता वर्षमान पुनले आफ्नो शुभकामनासँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन पारदर्शिता र थिति बसाउने कुरामा महाधिवेशनको ध्यान जाओस् समर्थन रहन्छ भनेर शुभकामना दिएको सुनाए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशलाई समृद्ध बनाउने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न रास्वपा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे । जनमत पार्टीका अध्यक्ष सिके राउतले त महाधिवेशन मात्र होइन यो, क्रान्तिको महोत्सव हो भन्दै देशमा नौलो गणतन्त्र ल्याउन आफू खटे पनि जनताले रास्वपा रोजेकाले जेनजी आन्दोलनको मर्म बुझेर अगाडि बढ्नुहोस् साथ रहन्छ भन्दै प्रतिवद्धता जनाए ।
रास्वपा जन्मनुअघिदेखि वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जोड गर्दै आएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रास्वपा नयाँ र वैकल्पिक शक्ति बनेको छ, सत्य र न्यायको पक्षमा उभ्याउँदै टंकप्रसाद, पुष्पलाल र बिपीले प्रजातन्त्रका लागि र आफूहरूले गणतन्त्रका लागि गरेको क्रान्तिलाई निरन्तरता दिँदै रवि र बालेनले देशलाई सुशासन र सम्मृद्धिको चुचुरोमा पुर्याउन आग्रह गरे ।
रास्वपा सभापति रवि लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्रको उपहार अघिल्लो पुस्ताले दिएको र आफ्नो पार्टी प्रतिशोध र दम्भबाट टाढै रहेर नागरिक जिम्मेवारी पूरा गर्दै पार्टीका बरिष्ठ नेता वालेन्द्र शाहको खुट्टामा गोल गर्न बल दिएको र झुक्किएर मेरो खुट्टामा आए पनि पास गरेर गोल गर्ने जिम्मा उहाँलाई नै दिने प्रतिबद्धता व्यक्त गरे । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र हितका विषयमा सरकार दृढ, स्पष्ट र जिम्मेवार ढंगले अघि बढेको तथा यही कार्यकालमा सुकुमवासी र सहकारीको समस्या समाधान गरेर अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो भन्दै आफ्नो राष्ट्र प्रेम र राष्ट्रिय प्रतिवद्धतामा शंका गर्नुपर्ने कारण नभएको प्रष्ट्याए । उनले संसद्मा सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिलाई सच्याउने र प्रष्ट पार्ने अवसरको रूपमा पनि महाधिवेशनको उद्घाटन सत्रको सदुपयोग गरे ।

रास्वपाको यो प्रथम महाधिवेशनले देश अध्यात्ममा प्रवेश गरेको संकेत दिएको छ । आफ्नो दुःख स्वीकार गरेपछि मात्र अध्यात्मको सुरुआत हुन्छ । महाधिवेशनको आयोजना एउटा पार्टीको भए तापनि सबैजसो मुख्य दलको उपस्थितले सिंगो देशको प्रतिनिधित्व गर्दछ । सबै पार्टीले आफ्नो विगत नियालेर कमजोरी स्वीकारेर मनको मैलो पखालेका छन् । मनको केन्द्रमा अहं हुन्छ । अहं अपूर्णताको भाव हो । आत्मातिर गए पूर्ण हुने अहं प्रकृतिका विषय प्राप्त गरेर पूर्ण हुन खोज्दा झन् ठुलो दुःखमा परेको हो । देशको आत्मा भनेको सुशासन हो ।
सुशासनलाई लक्ष्य नबनाउँदा जेनजी पुस्ताले बलिदानी आन्दोलन गर्नुपर्यो । आन्दोलनको सही सम्बोधन नगरी गोली वर्षाउँदा होनहार युवा सहिद भए । सरकार चलाउनेहरू आफ्नै जिउ जोगाउन भाग्नु पर्ने भयावह स्थिति बन्यो र देशको गरिमामा धक्का लाग्ने गरी जल्न पुग्यो देश । यो हामी सबै नेपालीको महादुःख हो । यो हाम्रै कारणले सिर्जिएको दुःख हो भन्ने स्वीकारेपछि करेक्सन सुरु हुन्छ । अध्यात्मको उद्देश्य आत्मज्ञानको साधनबाट कर्ता सुधार्ने हो । कर्ता सुधार्नु भनेको मन शुद्ध पार्ने हो । अशुद्ध मन अहं हो । मनमा म मेरो र मैले भन्ने भाव जोडिएर मन अशुद्ध हुने हो । ती भाव हटेपछि मन शुद्ध हुन्छ । शुद्ध मन नै आत्मा हो । मन जीवनको किताब हो, त्यसैले मनको प्रकृति बुझेर आफ्नै मन आफैँले पढ्नुपर्छ ।
मनको प्रकृति
मनका पाँच खण्ड छन् । पाँच इन्द्रिय आँखा, कान, नाक, जिब्रो र छालाले आफ्ना विषय दृश्य, शब्द, गन्ध, रस र स्पर्ससँग सम्पर्क गर्दा मनको पहिलो खण्डले के भयो भन्ने थाहा पाउँछ । मनको दोस्रो खण्डले त्यो कुराको पहिचान गर्दै स्मृति र अनुभवको आधारमा मूल्यांकन गर्छ । तेस्रो खण्डले संवेदना जगाउने काम गर्छ । चौथो खण्डले प्रतिक्रिया गर्छ । मनको पाचाँै खण्डले होसको काम गर्छ र प्रतिक्रिया नगरी साक्षी भावले हेर्छ ।
मन तीन किसिमका हुन्छन् । निकृष्ट, मध्मम र उत्कृष्ट । उदाहरणका लागि समुद्रसम्म भित्री बाटो भएको एक तलाउमा तीनवटा माछा छन् । एउटा माछाले तलाउमा असुरक्षित महसुस गरी समुद्रमा जाने निश्चय गर्छ । कठिन यात्रा गर्दै समुद्रमा पुग्छ । दोस्रो माछाले समुद्रमा गएको साथीको पछि नलागेर गल्ती गरेँ, एक्लै जान कठिन छ बरु मरेको अभिनय गरेर यही बस्छु भन्छ । तेस्रो माछाले होसियार भए भने यहि सुरक्षित छु भन्दै पोखरीमै बस्छ । समुद्रमा पुगेको पहिलो माछा आनन्दपूर्वक बाँच्यो । दोस्रो माछा जालमा परे पनि माझीले मरेको अवस्थाको देखेर पोखरीमै फालिदियो र बच्यो । तेस्रो माछा होसियार हुन्छु भनेर तलाउमा यता र उति नाच्दा माझीले पहिलो जाल त्यही माछामा हान्यो र मारियो । पहिलो माछा उत्कृष्ट मन, दोस्रो माछा मध्यम र तेस्रो माछा निकृष्ट मनको प्रतिनिधि हो ।
यी तीन किसिमका मनले तीन तहमा काम गर्छन् । निकृष्ट मन पहिलो तहमा हुन्छ । सामाजिक मान्यता र नैतिकताको आवरणमा बन्ने निकृष्ट मन समग्र मनको बाहिरी धरातल हो । पहिलो तहले गरेको अनुचित कामबाट असन्तुष्ट भई विद्रोह गर्दा बन्ने मध्यम दोस्रो तहमा हुन्छ । प्रेमपूर्ण उत्कृष्ट मन तेस्रो तहमा हुन्छ । पहिलो तहको निकृष्ट मनका कमजोरी इमानदारीपूर्वक स्वीकार्ने हिम्मत गर्नासाथ दोस्रो तहको मध्यम हँुदै तेस्रो तहको उत्कृष्ट मनसम्म स्वतःस्फूर्त पुग्दछ ।
उत्कृष्ट मनले मानिसमा ऊर्जा भरेर श्रम गराउँछ । श्रमले दुःख र सुख छिचोल्दै आनन्दमा पुर्याइदिन्छ । मध्यम मनले प्रतिक्रियावादी हुनबाट जोगाउँदै सुख दुःखको अनुभव गराउँदै जीवनलाई मध्यमार्गी बनाउँछ । निकृष्ट मनले आफूभित्रको दुःख लुकाएर आफैँलाई धोका दिन्छ । अरूको अगाडि बनावटी हाँसो, कुटिलता र प्रतिकृया जनाउनमा आफ्नो सम्पूर्ण जीवनी ऊर्जा खर्च गरेर जिउँदो लास बनाउँछ ।
स्थुलभन्दा सुक्ष्म कुरा बलवान हुन्छ । आकारमा सानो देखिने अणुबममा विश्व ध्वस्त पार्ने शक्ति छ । मनभन्दा अहं सूक्ष्म छ । अहं मनभन्दा बलवान भएकाले मन अहंको छायामा परेको हो । अहंका कुरामा दृढ आधार नभएको र मनको भित्री इच्छा अरू नै भएको हुँदा त्यसको खोजी गर्छ । खोजी गर्दा यता र उति डुल्छ, भेटिन्छ पदार्थ । भेटिएको पदार्थले इच्छा पूरा हँुदैन र खोजीमै भौतारिन्छ । भेटेका पदार्थ जति सबै पक्रिन्छ चाहेको कुरा भेटिन्छ कि भनेर तर तीनमा इच्छित कुरा भेटिँदैन । त्यसैले मन चञ्चल देखिएको हो ।
मन कसरी मैलिन्छ
मानव जीवनको किताब हो मन । मनको विस्तार हो संसार । आमाको गर्भमा भ्रूण बनेदेखि मानव शरीर बन्ने क्रम सुरु हुन्छ । भ्रूणमा नै ‘म’ भावको संस्कार रहेको हुन्छ, यो संस्कारको स्रोत प्रकृति हो । प्रकृतिको एक मात्र चाहना सन्तान उत्पादन गर्ने डिएनए फैलाउने हो । प्रकृतिले आफ्नो लक्ष्य पूरा गर्न हरेक प्राणी हट्टाकट्टा भएर सन्तान वृद्धि गर्न सक्षम होस् भनेर चाहिने तत्व हरेक प्राणीको शरीरमा उपलब्ध गराउँदै प्रशिक्षितसमेत गरेको हुन्छ । त्यही तत्वबाट ‘म’ भावको संस्कार मानिस सहितका सबै प्राणीमा हुन्छ ।
मानिस जन्मिएपछिको पालनपोषण, शिक्षादीक्षा, सामाजिक प्रभाव र सांस्कृतिक मान्यताले सुरुमा अविकसित रूपमा रहेको ‘म’ भाव विकसित गरिदिएर म मेरो र मैले भन्ने अहंमा परिणत हुन्छ । अहं अपूर्णताको भाव हो । अपूर्णताको भाव एउटा काल्पनिक घाउ हो जुन विचारबाट बनेर भित्र रहेको हुन्छ । बाहिरी शरीरमा चोट लागेर बन्ने घाउ देखिन्छ, उपचार गरिन्छ र निको हुन्छ । अहंको भित्री घाउ कहिले भयो भन्नेसम्म थाहा हुँदैन, उपचार पाउँदैन र बल्झिरहन्छ । सामान्य शारीरिक गतिविधि गर्दा पनि पहिला त्यही घाउ दुखेझैँ सामान्य सांसारिक व्यवहारले पनि अहंको घाउमा चोट लाग्छ ।
मनको केन्द्रमा अहं बसेको हुन्छ । आफ्नो अपूर्णताको घाउ भर्न अहंले व्यक्तिलाई झुटो बोल्ने, चुक्ली लगाएर फाटो पार्ने, कटु वचन बोल्ने, अनावश्यक कुरामा अल्झाइदिने, चोरी गर्ने, नशा लिने र व्यभिचार गर्नेसम्मका भाव पैदा गरेर मन मैलो पारिदिन्छ । अहंजस्तो हुन्छ त्यस्तै बन्छ मन । असुरक्षाको भावमा अहं उभिन्छ र मनमा भय उत्पन्न हुन्छ । अहंले अपूर्ण महसुस गर्छ, मन अतृप्त रहन्छ । म अरुभन्दा विशेष र भिन्न हुँ भन्छ अहं, मन अहंकारी बन्छ । अहंकारले आफूले चाहेको हुनुपर्ने र नचाहेको हुनु हँुदैन भनेर मन मलिन पारिदिन्छ । अहंले आज एउटा कुरा र भोलि अर्को कुरा अघि सारेर हुनु पर्यो वा हुनुहुन्न भनेर राग, द्वेष, मोह, ईष्र्या र आशक्ति जस्ता मनोविकार मनमा पठाइदिन्छ ।
हरेक कुराको आफ्नो स्वभाव भए झैँ विकारका पनि आफ्नै स्वभाव छन् । जाडोमा ‘क्याम्प फायर’ गर्दा आगोको आफ्नो स्वभावले पहिला भाँडो तताउँदै बल्दै गएपछि वरिपरिको वातावरण नै तताए जस्तै मनोविकार क्रोध अग्निले पहिला मन जलाएर राँको बढाउँदै क्रमशः व्यक्ति, परिवार र समाजलाई जलाउँछ । मन मनोविकारले भरिनु नै मन मैलो हुनु हो । मन प्रकृतिको उत्पादन हो । प्रकृति भनेको सत्व, रज र तम गुण हो । यी गुणहरू हरेक वस्तुमा हुन्छन् । मन मैलो भएपछि तमोगुणी बन्छ ।
मन सफा गर्ने सूत्र
आचार्य सत्यनारायण गोयन्काले मन जंगली हात्ती हो, विपश्यना ध्यान अभ्यासले घरपालुवा बन्छ भन्दछन् । भगवान् वुद्धले ‘अप्पो दीप भव’ भनेर सिंगो मानवजातिलाई उपदेश दिए । भागवत गीतामा निदिध्यासन (ब्रह्म ज्ञानको कुरामा चिन्तन मनन गर्दै ध्यानस्थ रहनु) ले चित् शुद्ध भई मन सफा हुने उल्लेख छ । अष्टावक्र ऋषिले राजा जनकलाई तिमी शरीर र मन होइनौँ यिनका साक्षी हौ, अवलोकन गर मन स्वतः शान्त हुन्छ भन्दै राजा जनकको जिज्ञासा मेटाए । भारतीय दार्शनिक जिद्दु कृष्णमूर्ति र चिनियाँ दार्शनिक लाओत्सुको भनाइ पनि बुद्ध र गीतासँग मेल खान्छ । आचार्य प्रशान्तले ध्यान र अवलोकन हाम्रो स्वभाव हो । हरेकले आफ्नो आस्था अनुसारका बोध ग्रन्थहरू वेदान्त उपनिषद् गीता, धम्मपद, बाइबल, कुरान र गुरु ग्रन्थ साहेबमा उल्लिखित कुरालाई ध्येय बनाएर ध्यानमा बसी साक्षीको रूपमा अवलोकन गरे मन सफा भई आनन्द भेटिन्छ भन्छन् ।
पंक्तिकारले विगत आधा दशकदेखि विभिन्न संस्थामा जोडिई योगासन र ध्यान गर्न सुरु गरी आध्यात्मिक ग्रन्थ अध्ययन गर्दाको अनुभवमा उभिएर हेर्दा सुनेको र चिन्तन मनन गरेको कुराबाट मन सफा गर्नुपर्छ भन्ने प्रेरणासम्म मिल्ने तर मन सफा बनाउन साधना र अभ्यास नै गर्नुपर्ने देखियो ।
मेरो मनको मैलो सफा गर्नमा विपश्यना ध्यान अभ्यास बढी सार्थक महसुस हुन आयो । किनकि साक्षी भावलाई केन्द्रमा राखेर विपश्यना ध्यान गराइने रहेछ । माथि उल्लिखित अन्य दार्शनिकहरूको मतसँग मिल्दोजुल्दो छ विपश्यना ध्यान ।
हामीले पल प्रतिपल फेर्ने श्वासलाई अवलंवन बनाएर विपश्यना ध्यान सुरू गरिन्छ । बाहिरी कुरा मनमा ठोक्किएपछि मनका खण्डहरूमा हुने कृयाहरूलाई श्वासको माध्यमबाट मनलाई तिनै कृयाहरू निरीक्षण गर्न लगाइन्छ । त्यसरी निरीक्षण गर्दा थाहा हुन आएका संवेदनालाई तत्काल केवल साक्षी भावले हेर्न प्रतिक्रिया नगर्न भनिन्छ । कुनै प्रतिक्रिया नगरी साक्षी भावले हेर्दा आफैँ उत्पन्न भएको संवेदना आफैँ बिलाएको थाहा हुन्छ । यसबाट संवेदना चाहे सुःखद् होस् वा दुःखद् त्यो अनित्य रहेछ भन्ने बोध हुन्छ । त्यो बोधले मन मैलो हुन नदिने र पुरानो मयल रहेछ भने पनि सफा गरिदिने रहेछ ।
अन्त्यमा, पार्टी र प्रधानमन्त्री एउटै व्यक्ति हुन हुने कि नहुने भन्ने कुरा विगतमा कहिल्यै बहसमा आएन तर नेपाली राजनीतिमा दुःख भित्रिनुको कारण यही नै थियो । यही कारणले २०७४ सालको निर्वाचनमा दुईतिहाइ नजिकको जनमत खेर गयो । अहिले रास्वपा सभापति रवि लामिछानेले आफूले पार्टीको र वरिष्ठ नेतालाई सरकारको नेतृत्व सुम्पिएर दूरदर्शीता देखाएका छन् । राजनीतिको मियो राजनीतिक दल नै हुन् । सही कर्म छनौट गरेर त्यसैमा गहिरिनु असली ध्यान हो । ध्यान एक जीवन्त प्रकृया र सतत जागरुकता हो । आफूलाई ध्यानको गहिराएमा पुर्याउँदै अन्य दलहरूलाई समेत समेट्दै संविधान संशोधन गरी देशलाई समृद्ध बनाउने विषयमा सफलता प्राप्त गर्नसके नेपालको राजनीतिमा रास्वपा सभापति रबि लामिछानेको इतिहास स्वर्णिम बन्ने छ ।
प्रतिक्रिया