–अर्जेन्टिनाले इजिप्टविरुद्ध कठिन अवस्थाबाट पुनरागमन गर्दै जित निकाल्यो । यस नतिजापछि फेरि एकपटक कप्तान लियोनल मेसीको टोलीलाई भाग्यले साथ दिएको चर्चा सुरु भएको छ
–४१ वर्षका क्रिस्टियानो रोनाल्डोको प्रभाव पहिलेको जस्तो देखिएन । गति, निरन्तर चलायमान रहने क्षमता र शारीरिक बलमा आएको कमी स्पष्ट देखिएको विश्लेषण गरिएको छ
–इंग्ल्यान्ड र मेक्सिकोबीचको प्रतिस्पर्धालाई यस विश्वकपकै उत्कृष्ट खेलका रूपमा चर्चा गरिएको छ । खेलमा रोमाञ्चक गोल, पेनाल्टी, रातो कार्ड, निरन्तर आक्रमण र अन्तिम मिनेटसम्मको तनावपूर्ण प्रतिस्पर्धाले दर्शकलाई बाँधेर राख्यो
–विश्व फुटबलको सफल टोलीमध्ये एक ब्राजिल यस विश्वकपको अन्तिम १६ बाटै बाहिरियो । नर्वेविरुद्ध ब्राजिलको प्रदर्शन निकै निराशाजनक रह्यो

काठमाडौँ । फिफा विश्वकप फुबटल २०२६ को अन्तिम–१६ चरणले फुटबल समर्थकलाई रोमाञ्च, नाटकीय मोड र विवादले भरिएको अनुभव प्रदान ग¥यो । यस चरणअघि नै विश्वभरका समर्थकले निकै प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेका थिए र मैदानमा देखिएको प्रदर्शनले त्यो अपेक्षालाई धेरै हदसम्म पूरा ग¥यो । अन्तिम–१६ को सुरुआत आयोजक क्यानडामाथि मोरक्कोले ३–० को प्रभावशाली जित निकाल्दै ग¥यो । त्यसपछि फ्रान्सले जर्मनीलाई अघिल्लो चरणबाट बाहिर पठाएको पाराग्वेमाथि कठिन संघर्षपछि मात्र सफलता हात पार्न सक्यो । उता नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डको २ गोलको मद्दतमा ब्राजिल प्रतियोगिताबाट बाहिरियो । इंग्ल्यान्ड र मेक्सिकोबीच भएको खेललाई भने हालसम्मकै सबैभन्दा उत्कृष्ट खेलका रूपमा हेरिएको छ ।
यसैबीच स्पेन र पोर्चुगलबीचको प्रतिस्पर्धा अपेक्षाअनुसार रोमाञ्चक बन्न सकेन भने बेल्जियमले अमेरिकालाई ४–१ ले हराउँदै आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत ग¥यो । अर्जेन्टिनाले इजिप्टविरुद्ध पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकाल्यो । स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको थियो, जहाँ स्विस टोली विजयी बन्यो ।
फ्रान्सले पाराग्वेविरुद्ध जित त निकाल्यो, तर त्यो जित सहज थिएन । पाराग्वेले अनुशासित रक्षात्मक रणनीति अपनाउँदै फ्रान्सलाई खुला अवसर सिर्जना गर्न कठिन बनायो । अन्ततः पेनाल्टी क्षेत्रभित्र भएको फाउलपछि भिडियो सहायक रेफ्री (भिएआर) को निर्णयबाट फ्रान्सले पेनाल्टी पायो, जसलाई किलियन एम्बाप्पेले गोलमा परिणत गरे । ओपन प्लेबाट गोल खान नदिँदै फ्रान्सलाई केवल १ गोलमा सीमित गर्नु पाराग्वेको उत्कृष्ट रक्षात्मक प्रदर्शनको उदाहरण मानिएको छ ।
इंग्ल्यान्ड र मेक्सिकोबीचको खेलले जित्यो समर्थकको मन

इंग्ल्यान्ड र सहआयोजक मेक्सिकोबीचको प्रतिस्पर्धालाई यस विश्वकपकै उत्कृष्ट खेलका रूपमा चर्चा गरिएको छ । खेलमा रोमाञ्चक गोल, पेनाल्टी, रातो कार्ड, निरन्तर आक्रमण र अन्तिम मिनेटसम्मको तनावपूर्ण प्रतिस्पर्धाले दर्शकलाई बाँधेर राख्यो । खेलको अन्त्यतिर दुवै टोली १०–१० खेलाडीमा सीमित भए पनि प्रतिस्पर्धाको तीव्रता कम भएन ।
अन्तिम समयमा लगातार प्राप्त कर्नर र दुवै टोलीको जितका लागि गरिएको प्रयासले खेललाई विश्वकप फाइनलकै स्तरको बनाएको टिप्पणी गरिएको छ । धेरै समर्थक र विश्लेषकले यदि फाइनल खेल पनि यही स्तरको भयो भने यस विश्वकपलाई इतिहासकै उत्कृष्ट प्रतियोगितामध्ये एकका रूपमा सम्झिने बताएका छन् ।
स्पेन–पोर्चुगल र स्विट्जरल्यान्ड–कोलम्बिया खेलले बनायो निराश
सबै खेल समान रूपमा मनोरञ्जनात्मक भने बनेनन् । स्पेन र पोर्चुगलबीचको खेल निकै सुस्त रह्यो । स्पेनले लामो समयसम्म बल आफ्नो नियन्त्रणमा राखे पनि प्रभावकारी आक्रमण गर्न सकेन ।

। दुवै टोलीले जोखिम लिन नचाहँदा खेलमा गोलका अवसर निकै कम बने । स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल पनि अतिरिक्त समय र पेनाल्टीसम्म पुगेको थियो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट जम्मा ४ वटा मात्र सट लक्ष्यमा पुगेका थिए ।
जेम्स रोड्रिगेज र लुइस डियाजजस्ता अनुभवी खेलाडी भए पनि कोलम्बियाले स्विस रक्षापंक्ति तोड्न सकेन । अन्ततः पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्ड विजयी भयो । खेलको अन्तिम निर्णय रोमाञ्चक भए पनि अधिकांश समय प्रतिस्पर्धा अपेक्षाअनुसार आकर्षक बन्न सकेन ।
बेल्जियमको प्रभावशाली पुनरागमन
समूह चरणमा औसत प्रदर्शन गरेको बेल्जियमले अन्तिम–१६ मा भने आफ्नो वास्तविक क्षमता देखायो । अमेरिकामाथि ४–१ को जित निकाल्दै बेल्जियमले आक्रमण, पासिङ र रणनीतिक रूपमा उत्कृष्ट खेल प्रस्तुत ग¥यो । अमेरिकी टोली प्रतिभा र रणनीति दुवै पक्षमा बेल्जियमभन्दा कमजोर देखियो । बेल्जियमका अनुभवी खेलाडीहरूले अवसरको राम्रो सदुपयोग गर्दै सहज जित निकाले । यस जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ र प्रतियोगितामा अझ अगाडि बढ्ने लक्ष्य राखेको छ ।
अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन

अर्जेन्टिनाले इजिप्टविरुद्ध कठिन अवस्थाबाट पुनरागमन गर्दै जित निकाल्यो । यस नतिजापछि फेरि एकपटक कप्तान लियोनल मेसीको टोलीलाई भाग्यले साथ दिएको चर्चा सुरु भएको छ । यसबाहेक स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल अतिरिक्त समयसम्म पुग्नु तथा अन्य प्रतिस्पर्धाका नतिजाले पनि अर्जेन्टिनालाई आगामी चरणका लागि केही सहज परिस्थिति सिर्जना गरेको विश्लेषण गरिएको छ । यद्यपि अन्ततः सफलता मैदानमा गरिएको प्रदर्शनले नै निर्धारण गर्ने भएकाले अर्जेन्टिनाले आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती कायमै छ ।
यता, मोरक्कोले क्यानडालाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे पनि टोलीका मिडफिल्डर इस्माइल साइबारी घाइते भएपछि ठुलो क्षति बेहोर्नुपरेको छ । खेलको पहिलो हाफमै ह्यामस्ट्रिङ चोट लागेपछि उनी मैदान छाड्न बाध्य भए । पछिल्ला केही सातादेखि उत्कृष्ट लयमा रहेका साइबारीले हालै मात्र जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गरेका थिए । चोटका कारण उनले बाँकी विश्वकप गुमाए । यसले व्यक्तिगत तथा व्यावसायिक दुवै हिसाबले उनको करियरमा ठुलो असर पार्न सक्छ ।
यस्तै, क्यानडाका कप्तान अल्फोन्सो डेभिस पनि मोरक्कोविरुद्धको खेलमा बेन्चमै सीमित रहे । घरेलु मैदानमा भइरहेको विश्वकपको महत्वपूर्ण खेलमा समेत उनी मैदान उत्रन नसक्नुले उनको स्वास्थ्य अवस्थाबारे थप प्रश्न उठाएको छ । २५ वर्षकै उमेरमा लगातार चोटले सताउन थालेपछि उनको भविष्यबारे पनि चर्चा हुन थालेको छ । यदि उनी पूर्ण रूपमा फिट हुन नसके आगामी क्लब तथा अन्तर्राष्ट्रिय करियरमा त्यसको प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ ।
ब्राजिलको निराशाजनक प्रदर्शन
विश्व फुटबलको सफल टोलीमध्ये एक ब्राजिल यस विश्वकपको अन्तिम १६ बाटै बाहिरियो । नर्वेविरुद्ध ब्राजिलको प्रदर्शन निकै निराशाजनक रह्यो । नर्वेले खेलभर बल नियन्त्रण, आक्रमण निर्माण तथा अवसर सिर्जनामा स्पष्ट रूपमा उत्कृष्ट प्रदर्शन ग¥यो । एर्लिङ हालान्डले २ गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए । ब्राजिलले २ पेनाल्टी अवसर पाए पनि त्यसको पूर्ण लाभ उठाउन सकेन । खेलभर रक्षात्मक शैली अपनाएको ब्राजिलले आक्रमणमा अपेक्षित सिर्जनशीलता देखाउन सकेन । नर्वेले व्यवस्थित टोली खेल प्रदर्शन गर्दा ब्राजिल दबाबमा मात्र सीमित देखियो । यस हारसँगै विश्वकप जित्ने प्रमुख दाबेदारमध्ये एक मानिएको ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ, जबकि नर्वेले आफ्नो उत्कृष्ट प्रदर्शनका कारण जितको पूर्ण हकदार बनेको मूल्यांकन गरिएको छ ।
रोनाल्डोको विश्वकप यात्रा समाप्त

पोर्चुगलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप थियो । तर उनको यात्रा सुखद् अन्त्य हुन सकेन । ४१ वर्षको उमेरमा पनि उनले टोलीका लागि योगदान दिने प्रयास गरे तापनि उच्च स्तरको प्रतिस्पर्धामा उनको प्रभाव पहिलेको जस्तो देखिएन । गति, निरन्तर चलायमान रहने क्षमता र शारीरिक बलमा आएको कमी स्पष्ट देखिएको विश्लेषण गरिएको छ । पोर्चुगलसँग नुनो मेन्डेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, जोआओ कान्सेलो र बर्नार्डो सिल्भाजस्ता उत्कृष्ट खेलाडी भए पनि टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन ।
स्पेनविरुद्धको खेलमा युवा स्टार लामिन यमालको प्रभावकारी प्रदर्शनसँग तुलना गर्दा रोनाल्डो निकै फिक्का देखिएको टिप्पणी गरिएको छ । यससँगै विश्व फुटबलका एक महान् खेलाडीको विश्वकप यात्रा समाप्त भएको छ । पोर्चुगलसँग प्रतिभावान टोली भए पनि अन्तिम १६ पार गर्न नसक्दा समर्थकहरू निराश बनेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरणले केही टोलीलाई नयाँ आशा दिएको छ भने केही शक्तिशाली राष्ट्रको यात्रा अप्रत्याशित रूपमा समाप्त भएको विश्लेषण गरिएको छ । अब क्वार्टरफाइनलमा प्रवेश गरेका टोलीहरूबीच उपाधि होड अझ कडा हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया