
काठमाडौँ । नेपालले एसिसी महिला यू–१९ प्रिमियर कपमा विजयी सुरुआत गर्दै कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल स्टेडियममा भएको खेलमा नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमै सबै विकेट गुमाउँदै २५ रनमा समेटियो । कतारका ब्याटरहरू नेपाली बलिङसामु टिक्न सकेनन् । सेगम पटेलले ४ रन र कप्तान किसेता श्रवणकुमारले ३ रन बनाए भने अन्य अधिकांश खेलाडीले दोहोरो अंक त परै जाओस्, रनसमेत जोड्न सकेनन् । कतारले प्राप्त गरेको २५ रनमध्ये १२ रन अतिरिक्त थिए ।
नेपालको जितमा रचना कुमारी चौधरी र रिया शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरे । दुवैले समान ३–३ विकेट लिए । रचनाले ३ ओभरमा मात्र २ रन खर्चिइन् भने रियाले ६ रन दिएर ३ विकेट हात पारिन् । मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १३० रन बनाएको थियो । ओपनर साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाएका थिए ।
सानाले २७ रन बनाइन् भने सावित्रीले ४७ बलमा ५ चौकासहित ५२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । अञ्जिला पाठक २२ रनमा अविजित रहिन् । कतारका लागि लिहाना अवेशकाराले २ तथा फतिमा मुकादमले १ विकेट लिइन् । नेपालले प्रतियोगिताको दोस्रो खेलमा आज (आइतबार) सिंगापुरको सामना गर्नेछ ।
प्रतिक्रिया