विश्वकपमा जर्मनीको लगातार असफलता : हारभन्दा ठुलो समस्या ‘दोषारोपणको संस्कृति’

–यसपटक भने जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले कुर्द तथा याजिदी समुदायसँग सम्बन्धित स्ट्राइकर डेनिज उन्डाभलाई सार्वजनिक रूपमा आलोचना गर्दै हारको एउटा कारणका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लागेको छ

–धेरैले टोलीको हारको जिम्मेवारी एउटा खेलाडीमाथि थोपर्न खोज्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । बरु टोलीको रणनीति, खेलाडी छनोट र प्रशिक्षकका निर्णयहरू नै हारका प्रमुख कारण भएको तर्क

– जर्मनीको विश्वकप इतिहास दबाबपूर्ण अवस्थाहरूमा उत्कृष्ट प्रदर्शनका लागि परिचित रहँदै आएको थियो । पाराग्वेसँगको हारअघि विश्वकपमा जर्मनीले कहिल्यै पनि पेनाल्टी सुटआउट हारेको थिएन

जर्मनीको राष्ट्रिय फुटबल टोली लगातार तेस्रोपटक फिफा विश्वकपको अन्तिम १६ चरणमा पुग्न असफल भएको छ । पाराग्वेसँगको हारपछि विश्व फुटबलमा ४ पटकको विश्व विजेता जर्मनी फेरि एकपटक गम्भीर आत्मसमीक्षाको अवस्थामा पुगेको छ । तर धेरै विश्लेषकहरूको भनाइमा टोलीको सबैभन्दा ठुलो समस्या केवल हार वा कमजोर प्रदर्शन मात्र होइन, असफलताको वास्तविक कारण खोज्नुको सट्टा कुनै एक खेलाडीलाई दोषी ठहर गर्ने प्रवृत्ति पनि हो ।

८ वर्षअघि विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि जर्मनीमा यही प्रवृत्ति देखिएको थियो । त्यसबेला टर्की मूलका खेलाडी मेसुट ओजिल र इल्काय गुन्डोगानलाई व्यापक आलोचनाको केन्द्र बनाइएको थियो । यसपटक भने जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले कुर्द तथा याजिदी समुदायसँग सम्बन्धित स्ट्राइकर डेनिज उन्डाभलाई सार्वजनिक रूपमा आलोचना गर्दै हारको एउटा कारणका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लागेको छ । पाराग्वेविरुद्धको खेलपछि म्याजेन्टा टिभीसँग कुरा गर्दै नागेल्समानले टोलीले सुरुमै अग्रता लिन सक्ने अवसर गुमाएको भन्दै उन्डाभको निर्णयमाथि प्रश्न उठाए ।

उनका अनुसार खेलको पहिलो मिनेटमै गोल गर्ने स्पष्ट अवसर थियो, तर उन्डाभले सजिलै पास दिन सक्ने अवस्थामा पनि बललाई टाढाको पोस्टतर्फ प्रहार गरे, जसका कारण टोलीले अग्रता लिन सकेन । प्रशिक्षकले यस्ता साना क्षणहरूले खेलको परिणाम परिवर्तन गर्ने भन्दै खेलाडीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । तर यसपटक भने धेरै जर्मन समर्थकहरूले प्रशिक्षकको भनाइलाई सहज रूपमा स्वीकार गरेनन् । सामाजिक सञ्जालदेखि विभिन्न खेल विश्लेषणसम्म धेरैले टोलीको हारको जिम्मेवारी एउटा खेलाडीमाथि थोपर्न खोज्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । बरु टोलीको रणनीति, खेलाडी छनोट र प्रशिक्षकका निर्णयहरू नै हारका प्रमुख कारण भएको तर्क गरिएको छ ।

डेनिज उन्डाभ र प्रशिक्षक नागेल्समानबीचको सम्बन्ध यसअघि पनि सहज थिएन । मार्च महिनामा घानाविरुद्धको मैत्रीपूर्ण खेलमा उन्डाभले निर्णायक गोल गरे पनि प्रशिक्षकले उनको प्रशंसा गर्नुको सट्टा शारीरिक तन्दुरुस्ती र टोलीसँगको समन्वयबारे आलोचना गरेका थिए । त्यसबेला जर्मनीभर ती टिप्पणीको आलोचना भएपछि नागेल्समानले पछि सार्वजनिक रूपमा माफी मागेका थिए । विश्वकपको सुरुआतमा भने उन्डाभका लागि सबै कुरा सकारात्मक देखिएको थियो । आइभरी कोस्टविरुद्धको खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेको ७ मिनेटभित्रै बराबरी गोल गर्न सफल भए ।

त्यसपछि उनले खेलको अन्तिम समयमा विजयी गोलसमेत गरे । विश्वकपका पहिलो २ खेलमा ५ वटा गोलमा प्रत्यक्ष योगदान दिएका उन्डाभ नभएको भए जर्मनी समूह चरणमै तेस्रो स्थानमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था थियो । यद्यपि पाराग्वेविरुद्धको खेलमा उनलाई दोस्रो हाफको सुरुआततिर नै प्रतिस्थापन गरियो । त्यसपछि टोलीले खेलमा पुनरागमन गर्न नसकेपछि उनको प्रतिस्थापनको निर्णयमाथि पनि प्रश्न उठ्यो । कतिपय विश्लेषकहरूले जर्मनीको राष्ट्रिय टोलीभित्र खेलाडीप्रति गरिने व्यवहारले नै टोलीको आन्तरिक वातावरण कमजोर बनाएको टिप्पणी गरेका छन् ।

जर्मनीमा कुनै खेलाडीलाई असफलताको मुख्य दोषी ठहर गर्ने प्रवृत्ति नयाँ भने होइन । सन् २०१८ को विश्वकपअघि मेसुट ओजिल र इल्काय गुन्डोगानले बेलायत भ्रमणमा रहेका टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेट गरेका थिए । टर्किस मूलका दुवै खेलाडीको उक्त भेटलाई लिएर जर्मनीमा ठुलो विवाद भएको थियो । विशेष गरी, दक्षिणपन्थी राजनीतिक दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) का नेताहरू तथा केही सञ्चारमाध्यमले उनीहरूलाई तीव्र आलोचना गरेका थिए । त्यसपछि विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएपछि अधिकांश दोष ओजिलमाथि थोपारियो । लगातारको आलोचनापछि उनले केवल २९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

आफ्नो लामो वक्तव्यमा उनले तत्कालीन जर्मन फुटबल महासंघ (डिएफबी) का अध्यक्ष राइनहार्ड ग्रिन्डेलमाथि आफूलाई बलिको बोका बनाएको आरोप लगाएका थिए । ओजिलले प्रशिक्षक योआखिम लोभ र टोलीका निर्देशक ओलिभर बियरहोफले भने कठिन समयमा आफ्नो साथ दिएको उल्लेख गरेका थिए । जर्मन फुटबलको इतिहास हेर्दा यस्तो अवस्था सधैँ भने थिएन । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा जर्मनीले उपाधि जित्दा टोलीलाई दीर्घकालीन योजना, युवा विकास र स्पष्ट रणनीतिले सफलता दिलाएको मानिन्छ । त्यसअघि सन् २००० को दशकको सुरुआतमा जर्मनी विश्वस्तरीय प्रतिभा उत्पादन गर्न संघर्ष गरिरहेको थियो ।

टोली धेरै हदसम्म गोलकिपर ओलिभर कानको उत्कृष्ट प्रदर्शनमा निर्भर थियो भने आधुनिक फुटबलको रणनीतिक विकासमा पनि पछि परेको मानिन्थ्यो । त्यसपछि जर्मन फुटबल महासंघले देशभर आधुनिक युवा एकेडेमी स्थापना गर्ने, प्राविधिक सीपलाई प्राथमिकता दिने र युवा खेलाडी उत्पादनमा ठुलो लगानी गर्ने नीति अपनायो । युर्गेन क्लिन्समान र पछि योआखिम लोभको नेतृत्वमा राष्ट्रिय टोलीले पनि त्यही दर्शनलाई अघि बढायो । त्यसको परिणामस्वरूप जर्मनीले नयाँ पुस्ताका प्रतिभाशाली खेलाडी उत्पादन गर्दै विश्व फुटबलमा फेरि आफ्नो प्रभुत्व स्थापित गर्यो । तर दुई दशकपछि फेरि जर्मनी संकटमा परेको देखिन्छ । धेरैको विचारमा अहिलेको समस्या केवल खेलाडीको गुणस्तरमा मात्र सीमित छैन । टोलीभित्रको नेतृत्व, रणनीति, खेलाडी व्यवस्थापन र मानसिक तयारीसमेत चुनौतीका विषय बनेका छन् ।

जुलियन नागेल्समान आधुनिक फुटबलमा तथ्यांक र प्रविधिको व्यापक प्रयोग गर्ने प्रशिक्षकका रूपमा चिनिन्छन् । उनी स्वयं पेसागत रूपमा उच्चस्तरको फुटबल खेलाडी बन्न नसके पनि प्रशिक्षण क्षेत्रमा आफ्नो विश्लेषणात्मक शैलीका कारण चर्चित बने । यही कारण उनलाई कतिपयले ‘ल्यापटप प्रशिक्षक’ भनेर समेत सम्बोधन गर्छन् । यद्यपि आलोचकहरूका अनुसार खेलसम्बन्धी गहिरो ज्ञान भए पनि खेलाडीसँगको सम्बन्ध, नेतृत्व शैली र लगातार टोली परिवर्तन गर्ने बानीले टोलीमा स्थायित्व कायम हुन सकेको छैन । यही कारण विश्वकपअघि र प्रतियोगिताभर प्रशिक्षकका निर्णयहरू विवादको विषय बने ।

जर्मनीको विश्वकप इतिहास दबाबपूर्ण अवस्थाहरूमा उत्कृष्ट प्रदर्शनका लागि परिचित रहँदै आएको थियो । पाराग्वेसँगको हारअघि विश्वकपमा जर्मनीले कहिल्यै पनि पेनाल्टी सुटआउट हारेको थिएन । उसले यसअघि भएका चारवटै पेनाल्टी सुटआउट जितेको थियो भने १८ वटा प्रहारमध्ये केवल एउटा मात्र पेनाल्टी गुमाएको थियो । तर यसपटक पाराग्वेविरुद्ध भने जर्मनीले ३ वटा पेनाल्टी खेर फाल्दै प्रतियोगिताबाट बाहिरिनुप¥यो । धेरै विश्लेषकहरूले यसलाई टोलीको मानसिक दृढतामा आएको गिरावटको संकेतका रूपमा हेरेका छन् ।

उन्डाभको व्यक्तिगत यात्रा पनि जर्मन फुटबल प्रणालीका लागि एउटा महŒवपूर्ण उदाहरण मानिन्छ । उनी कुनै प्रतिष्ठित फुटबल एकेडेमीबाट उत्पादन भएका खेलाडी होइनन् । प्रारम्भिक जीवनमा उनले कारखानामा मेसिन अपरेटरको रूपमा समेत काम गरेका थिए । जर्मनीको तेस्रो र चौथो डिभिजनमा १६३ खेल खेल्दै १०४ गोलमा योगदान पु¥याउँदा पनि बुन्डेसलिगाका ठुला क्लबहरूले उनलाई अवसर दिएनन् । पछि उनी बेल्जियम पुगे, जहाँ पनि उत्कृष्ट प्रदर्शन जारी राखे । त्यसपछि इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एन्ड होभ एल्बियनले करिब ७ मिलियन युरोमा उनलाई अनुबन्ध ग¥यो । निरन्तर संघर्षपछि राष्ट्रिय टोलीमा स्थान बनाएका उन्डाभले त्यहाँ पनि आफ्नै प्रशिक्षकबाट सार्वजनिक आलोचना सामना गर्नुपरेको अवस्था धेरैलाई अस्वाभाविक लागेको छ ।

विश्वकपका क्रममा उन्डाभको कुर्द मूल र आप्रवासी पृष्ठभूमिबारे पनि व्यापक चर्चा भएको थियो । उनले आफ्नो पहिलो विश्वकप गोल गरेपछि टोलीका सहकर्मी एन्टोनियो रुडिगरसँग कुर्द समुदायको पारम्परिक नृत्य प्रस्तुत गरेका थिए । समूह चरणमा इक्वेडरसँगको हारपछि भने उनले टोलीको मानसिकतामाथि खुला टिप्पणी गरेका थिए । उनले विपक्षी टोली जित्नका लागि आफूहरूभन्दा बढी प्रतिबद्ध देखिएको महसुस भएको बताएका थिए । साथै टोलीका खेलाडीहरूले कठिन परिस्थितिमा अझ आक्रामक, साहसी र संघर्षशील बन्नुपर्ने आवश्यकता औँल्याएका थिए । तर प्रशिक्षक नागेल्समानले उनको उक्त अभिव्यक्तिलाई पनि अस्वीकार गर्दै विपक्षीले बढी चाहना देखाएको भन्ने टिप्पणीलाई निरर्थक बताएका थिए ।

यस वर्ष ३० वर्ष पुग्न लागेका उन्डाभ आगामी विश्वकपसम्म राष्ट्रिय टोलीमा रहने वा नरहने निश्चित छैन । तर धेरै विश्लेषकहरूको निष्कर्ष भने एउटै छ – यदि जर्मनीले भविष्यमा फेरि विश्व फुटबलमा आफ्नो पुरानो साख फर्काउन चाहन्छ भने केवल एउटा खेलाडीलाई दोष दिने प्रवृत्तिबाट बाहिर निस्कनुपर्नेछ । साथै युवा प्रतिभा पहिचान गर्ने प्रणाली, खेलाडी व्यवस्थापन, नेतृत्व शैली र टोलीभित्रको वातावरणलाई गम्भीर रूपमा पुनरवलोकन गर्न आवश्यक छ ।

जर्मन फुटबल महासंघले पनि आफ्नो एकेडेमी प्रणाली वास्तवमै प्रभावकारी छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने देखिन्छ । किनकि उन्डाभजस्ता प्रतिभाशाली खेलाडी १७ वर्षको उमेरमै राष्ट्रिय टोलीसम्म पुग्न सक्ने वातावरण बनाउनु नै त्यो प्रणालीको उद्देश्य थियो । तर उनी २७ वर्षको उमेरपछि मात्र राष्ट्रिय टोलीमा स्थापित हुन सके । यही तथ्यले जर्मनीको वर्तमान संकट केवल मैदानभित्रको हार नभई संरचनागत कमजोरी र खेलाडीप्रतिको दृष्टिकोणसँग पनि जोडिएको संकेत गरेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया