–यसपटक भने जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले कुर्द तथा याजिदी समुदायसँग सम्बन्धित स्ट्राइकर डेनिज उन्डाभलाई सार्वजनिक रूपमा आलोचना गर्दै हारको एउटा कारणका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लागेको छ
–धेरैले टोलीको हारको जिम्मेवारी एउटा खेलाडीमाथि थोपर्न खोज्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । बरु टोलीको रणनीति, खेलाडी छनोट र प्रशिक्षकका निर्णयहरू नै हारका प्रमुख कारण भएको तर्क
– जर्मनीको विश्वकप इतिहास दबाबपूर्ण अवस्थाहरूमा उत्कृष्ट प्रदर्शनका लागि परिचित रहँदै आएको थियो । पाराग्वेसँगको हारअघि विश्वकपमा जर्मनीले कहिल्यै पनि पेनाल्टी सुटआउट हारेको थिएन

जर्मनीको राष्ट्रिय फुटबल टोली लगातार तेस्रोपटक फिफा विश्वकपको अन्तिम १६ चरणमा पुग्न असफल भएको छ । पाराग्वेसँगको हारपछि विश्व फुटबलमा ४ पटकको विश्व विजेता जर्मनी फेरि एकपटक गम्भीर आत्मसमीक्षाको अवस्थामा पुगेको छ । तर धेरै विश्लेषकहरूको भनाइमा टोलीको सबैभन्दा ठुलो समस्या केवल हार वा कमजोर प्रदर्शन मात्र होइन, असफलताको वास्तविक कारण खोज्नुको सट्टा कुनै एक खेलाडीलाई दोषी ठहर गर्ने प्रवृत्ति पनि हो ।
८ वर्षअघि विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि जर्मनीमा यही प्रवृत्ति देखिएको थियो । त्यसबेला टर्की मूलका खेलाडी मेसुट ओजिल र इल्काय गुन्डोगानलाई व्यापक आलोचनाको केन्द्र बनाइएको थियो । यसपटक भने जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले कुर्द तथा याजिदी समुदायसँग सम्बन्धित स्ट्राइकर डेनिज उन्डाभलाई सार्वजनिक रूपमा आलोचना गर्दै हारको एउटा कारणका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लागेको छ । पाराग्वेविरुद्धको खेलपछि म्याजेन्टा टिभीसँग कुरा गर्दै नागेल्समानले टोलीले सुरुमै अग्रता लिन सक्ने अवसर गुमाएको भन्दै उन्डाभको निर्णयमाथि प्रश्न उठाए ।
उनका अनुसार खेलको पहिलो मिनेटमै गोल गर्ने स्पष्ट अवसर थियो, तर उन्डाभले सजिलै पास दिन सक्ने अवस्थामा पनि बललाई टाढाको पोस्टतर्फ प्रहार गरे, जसका कारण टोलीले अग्रता लिन सकेन । प्रशिक्षकले यस्ता साना क्षणहरूले खेलको परिणाम परिवर्तन गर्ने भन्दै खेलाडीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । तर यसपटक भने धेरै जर्मन समर्थकहरूले प्रशिक्षकको भनाइलाई सहज रूपमा स्वीकार गरेनन् । सामाजिक सञ्जालदेखि विभिन्न खेल विश्लेषणसम्म धेरैले टोलीको हारको जिम्मेवारी एउटा खेलाडीमाथि थोपर्न खोज्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । बरु टोलीको रणनीति, खेलाडी छनोट र प्रशिक्षकका निर्णयहरू नै हारका प्रमुख कारण भएको तर्क गरिएको छ ।
डेनिज उन्डाभ र प्रशिक्षक नागेल्समानबीचको सम्बन्ध यसअघि पनि सहज थिएन । मार्च महिनामा घानाविरुद्धको मैत्रीपूर्ण खेलमा उन्डाभले निर्णायक गोल गरे पनि प्रशिक्षकले उनको प्रशंसा गर्नुको सट्टा शारीरिक तन्दुरुस्ती र टोलीसँगको समन्वयबारे आलोचना गरेका थिए । त्यसबेला जर्मनीभर ती टिप्पणीको आलोचना भएपछि नागेल्समानले पछि सार्वजनिक रूपमा माफी मागेका थिए । विश्वकपको सुरुआतमा भने उन्डाभका लागि सबै कुरा सकारात्मक देखिएको थियो । आइभरी कोस्टविरुद्धको खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेको ७ मिनेटभित्रै बराबरी गोल गर्न सफल भए ।
त्यसपछि उनले खेलको अन्तिम समयमा विजयी गोलसमेत गरे । विश्वकपका पहिलो २ खेलमा ५ वटा गोलमा प्रत्यक्ष योगदान दिएका उन्डाभ नभएको भए जर्मनी समूह चरणमै तेस्रो स्थानमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था थियो । यद्यपि पाराग्वेविरुद्धको खेलमा उनलाई दोस्रो हाफको सुरुआततिर नै प्रतिस्थापन गरियो । त्यसपछि टोलीले खेलमा पुनरागमन गर्न नसकेपछि उनको प्रतिस्थापनको निर्णयमाथि पनि प्रश्न उठ्यो । कतिपय विश्लेषकहरूले जर्मनीको राष्ट्रिय टोलीभित्र खेलाडीप्रति गरिने व्यवहारले नै टोलीको आन्तरिक वातावरण कमजोर बनाएको टिप्पणी गरेका छन् ।
जर्मनीमा कुनै खेलाडीलाई असफलताको मुख्य दोषी ठहर गर्ने प्रवृत्ति नयाँ भने होइन । सन् २०१८ को विश्वकपअघि मेसुट ओजिल र इल्काय गुन्डोगानले बेलायत भ्रमणमा रहेका टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेट गरेका थिए । टर्किस मूलका दुवै खेलाडीको उक्त भेटलाई लिएर जर्मनीमा ठुलो विवाद भएको थियो । विशेष गरी, दक्षिणपन्थी राजनीतिक दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) का नेताहरू तथा केही सञ्चारमाध्यमले उनीहरूलाई तीव्र आलोचना गरेका थिए । त्यसपछि विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएपछि अधिकांश दोष ओजिलमाथि थोपारियो । लगातारको आलोचनापछि उनले केवल २९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।
आफ्नो लामो वक्तव्यमा उनले तत्कालीन जर्मन फुटबल महासंघ (डिएफबी) का अध्यक्ष राइनहार्ड ग्रिन्डेलमाथि आफूलाई बलिको बोका बनाएको आरोप लगाएका थिए । ओजिलले प्रशिक्षक योआखिम लोभ र टोलीका निर्देशक ओलिभर बियरहोफले भने कठिन समयमा आफ्नो साथ दिएको उल्लेख गरेका थिए । जर्मन फुटबलको इतिहास हेर्दा यस्तो अवस्था सधैँ भने थिएन । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा जर्मनीले उपाधि जित्दा टोलीलाई दीर्घकालीन योजना, युवा विकास र स्पष्ट रणनीतिले सफलता दिलाएको मानिन्छ । त्यसअघि सन् २००० को दशकको सुरुआतमा जर्मनी विश्वस्तरीय प्रतिभा उत्पादन गर्न संघर्ष गरिरहेको थियो ।
टोली धेरै हदसम्म गोलकिपर ओलिभर कानको उत्कृष्ट प्रदर्शनमा निर्भर थियो भने आधुनिक फुटबलको रणनीतिक विकासमा पनि पछि परेको मानिन्थ्यो । त्यसपछि जर्मन फुटबल महासंघले देशभर आधुनिक युवा एकेडेमी स्थापना गर्ने, प्राविधिक सीपलाई प्राथमिकता दिने र युवा खेलाडी उत्पादनमा ठुलो लगानी गर्ने नीति अपनायो । युर्गेन क्लिन्समान र पछि योआखिम लोभको नेतृत्वमा राष्ट्रिय टोलीले पनि त्यही दर्शनलाई अघि बढायो । त्यसको परिणामस्वरूप जर्मनीले नयाँ पुस्ताका प्रतिभाशाली खेलाडी उत्पादन गर्दै विश्व फुटबलमा फेरि आफ्नो प्रभुत्व स्थापित गर्यो । तर दुई दशकपछि फेरि जर्मनी संकटमा परेको देखिन्छ । धेरैको विचारमा अहिलेको समस्या केवल खेलाडीको गुणस्तरमा मात्र सीमित छैन । टोलीभित्रको नेतृत्व, रणनीति, खेलाडी व्यवस्थापन र मानसिक तयारीसमेत चुनौतीका विषय बनेका छन् ।
जुलियन नागेल्समान आधुनिक फुटबलमा तथ्यांक र प्रविधिको व्यापक प्रयोग गर्ने प्रशिक्षकका रूपमा चिनिन्छन् । उनी स्वयं पेसागत रूपमा उच्चस्तरको फुटबल खेलाडी बन्न नसके पनि प्रशिक्षण क्षेत्रमा आफ्नो विश्लेषणात्मक शैलीका कारण चर्चित बने । यही कारण उनलाई कतिपयले ‘ल्यापटप प्रशिक्षक’ भनेर समेत सम्बोधन गर्छन् । यद्यपि आलोचकहरूका अनुसार खेलसम्बन्धी गहिरो ज्ञान भए पनि खेलाडीसँगको सम्बन्ध, नेतृत्व शैली र लगातार टोली परिवर्तन गर्ने बानीले टोलीमा स्थायित्व कायम हुन सकेको छैन । यही कारण विश्वकपअघि र प्रतियोगिताभर प्रशिक्षकका निर्णयहरू विवादको विषय बने ।
जर्मनीको विश्वकप इतिहास दबाबपूर्ण अवस्थाहरूमा उत्कृष्ट प्रदर्शनका लागि परिचित रहँदै आएको थियो । पाराग्वेसँगको हारअघि विश्वकपमा जर्मनीले कहिल्यै पनि पेनाल्टी सुटआउट हारेको थिएन । उसले यसअघि भएका चारवटै पेनाल्टी सुटआउट जितेको थियो भने १८ वटा प्रहारमध्ये केवल एउटा मात्र पेनाल्टी गुमाएको थियो । तर यसपटक पाराग्वेविरुद्ध भने जर्मनीले ३ वटा पेनाल्टी खेर फाल्दै प्रतियोगिताबाट बाहिरिनुप¥यो । धेरै विश्लेषकहरूले यसलाई टोलीको मानसिक दृढतामा आएको गिरावटको संकेतका रूपमा हेरेका छन् ।
उन्डाभको व्यक्तिगत यात्रा पनि जर्मन फुटबल प्रणालीका लागि एउटा महŒवपूर्ण उदाहरण मानिन्छ । उनी कुनै प्रतिष्ठित फुटबल एकेडेमीबाट उत्पादन भएका खेलाडी होइनन् । प्रारम्भिक जीवनमा उनले कारखानामा मेसिन अपरेटरको रूपमा समेत काम गरेका थिए । जर्मनीको तेस्रो र चौथो डिभिजनमा १६३ खेल खेल्दै १०४ गोलमा योगदान पु¥याउँदा पनि बुन्डेसलिगाका ठुला क्लबहरूले उनलाई अवसर दिएनन् । पछि उनी बेल्जियम पुगे, जहाँ पनि उत्कृष्ट प्रदर्शन जारी राखे । त्यसपछि इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एन्ड होभ एल्बियनले करिब ७ मिलियन युरोमा उनलाई अनुबन्ध ग¥यो । निरन्तर संघर्षपछि राष्ट्रिय टोलीमा स्थान बनाएका उन्डाभले त्यहाँ पनि आफ्नै प्रशिक्षकबाट सार्वजनिक आलोचना सामना गर्नुपरेको अवस्था धेरैलाई अस्वाभाविक लागेको छ ।
विश्वकपका क्रममा उन्डाभको कुर्द मूल र आप्रवासी पृष्ठभूमिबारे पनि व्यापक चर्चा भएको थियो । उनले आफ्नो पहिलो विश्वकप गोल गरेपछि टोलीका सहकर्मी एन्टोनियो रुडिगरसँग कुर्द समुदायको पारम्परिक नृत्य प्रस्तुत गरेका थिए । समूह चरणमा इक्वेडरसँगको हारपछि भने उनले टोलीको मानसिकतामाथि खुला टिप्पणी गरेका थिए । उनले विपक्षी टोली जित्नका लागि आफूहरूभन्दा बढी प्रतिबद्ध देखिएको महसुस भएको बताएका थिए । साथै टोलीका खेलाडीहरूले कठिन परिस्थितिमा अझ आक्रामक, साहसी र संघर्षशील बन्नुपर्ने आवश्यकता औँल्याएका थिए । तर प्रशिक्षक नागेल्समानले उनको उक्त अभिव्यक्तिलाई पनि अस्वीकार गर्दै विपक्षीले बढी चाहना देखाएको भन्ने टिप्पणीलाई निरर्थक बताएका थिए ।
यस वर्ष ३० वर्ष पुग्न लागेका उन्डाभ आगामी विश्वकपसम्म राष्ट्रिय टोलीमा रहने वा नरहने निश्चित छैन । तर धेरै विश्लेषकहरूको निष्कर्ष भने एउटै छ – यदि जर्मनीले भविष्यमा फेरि विश्व फुटबलमा आफ्नो पुरानो साख फर्काउन चाहन्छ भने केवल एउटा खेलाडीलाई दोष दिने प्रवृत्तिबाट बाहिर निस्कनुपर्नेछ । साथै युवा प्रतिभा पहिचान गर्ने प्रणाली, खेलाडी व्यवस्थापन, नेतृत्व शैली र टोलीभित्रको वातावरणलाई गम्भीर रूपमा पुनरवलोकन गर्न आवश्यक छ ।
जर्मन फुटबल महासंघले पनि आफ्नो एकेडेमी प्रणाली वास्तवमै प्रभावकारी छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने देखिन्छ । किनकि उन्डाभजस्ता प्रतिभाशाली खेलाडी १७ वर्षको उमेरमै राष्ट्रिय टोलीसम्म पुग्न सक्ने वातावरण बनाउनु नै त्यो प्रणालीको उद्देश्य थियो । तर उनी २७ वर्षको उमेरपछि मात्र राष्ट्रिय टोलीमा स्थापित हुन सके । यही तथ्यले जर्मनीको वर्तमान संकट केवल मैदानभित्रको हार नभई संरचनागत कमजोरी र खेलाडीप्रतिको दृष्टिकोणसँग पनि जोडिएको संकेत गरेको छ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया