
पाउ कुबार्सीले करिब २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक सेन्ने लामेन्सले समात्न सकेनन् । उनले बललाई नियन्त्रणमा राख्न नसक्दा रिबाउन्ड भएको बल मिकेल मेरिनोसम्म पुग्यो र उनले कुनै गल्ती नगरी गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले फ्रान्सविरुद्धको आगामी खेललाई ‘फाइनलअघि नै हुने फाइनल’ को संज्ञा दिएका छन् । उनका अनुसार दुवै टोली अत्यन्त बलिया भएकाले त्यो खेलको स्तर नै फाइनलसरह हुनेछ
काठमाडौँ । स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै पिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । नेपाली समयअनुसार शनिबार बिहान अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा भएको अत्यन्त प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलको निर्णय खेलको अन्तिम चरणमा भएको गोलकिपिङ त्रुटिले गराएको थियो । बेल्जियमका गोलरक्षक सेन्ने लामेन्सले बचाउनुपर्ने प्रहार नियन्त्रणमा लिन नसक्दा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले रिबाउन्ड बललाई सहजै गोलमा परिणत गर्दै टोलीलाई अन्तिम चारमा पु¥याए । यो जितसँगै युरोपियन च्याम्पियन स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । दुवै टोलीबीचको सेमिफाइनल खेल टेक्सासको आर्लिङ्टनमा बुधबार हुनेछ, जसलाई प्रतियोगिताकै सबैभन्दा आकर्षक खेलमध्ये एक मानिएको छ ।
स्पेनले खेलको सुरुआतदेखि नै बल नियन्त्रणमा राख्दै आक्रामक शैली अपनाएको थियो । पहिलो हाफको ३०औँ मिनेटमा फाबियन रुइजले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै सुन्दर गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो । उनले विपक्षी रक्षापंक्तिलाई छल्दै गरेको प्रहार बेल्जियमका गोलरक्षकका लागि रोक्न असम्भव बनेको थियो । तर बेल्जियमले हार मानेन । टोलीले लगातार दबाब सिर्जना गर्दै ४१औँ मिनेटमा बराबरी गोल फर्कायो । चाल्र्स डे केटेलेरेले उत्कृष्ट अवसरको सदुपयोग गर्दै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । यो गोल स्पेनले यस विश्वकपमा पहिलोपटक बेहोरेको गोल पनि बनेको छ । यसअघि स्पेनले प्रतियोगिताभर कुनै पनि गोल खाएको थिएन ।
दोस्रो हाफमा दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरे पनि कुनै टोलीले निर्णायक अवसर सिर्जना गर्न सकेन । खेल अतिरिक्त समयमा पुग्ने अनुमान भइरहेका बेला ८८औँ मिनेटमा स्पेनले निर्णायक प्रहार ग¥यो । पाउ कुबार्सीले करिब २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक सेन्ने लामेन्सले समात्न सकेनन् । उनले बललाई नियन्त्रणमा राख्न नसक्दा रिबाउन्ड भएको बल मिकेल मेरिनोसम्म पुग्यो र उनले कुनै गल्ती नगरी गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । यो क्षण बेल्जियमका युवा गोलरक्षक लामेन्सका लागि अत्यन्त पीडादायी बन्यो । पहिलो रोजाइका गोलरक्षक थिबाउट कोर्टुवास दोस्रो हाफमा चोटग्रस्त भएपछि लामेन्स मैदानमा आएका थिए । निर्णायक त्रुटिपछि खेल समाप्त हुँदा कोर्टुवासले लामेन्सलाई अँगालो हाल्दै सान्त्वना दिएका थिए । खेलपछि कोर्टुवासले भने, ‘मैले उनलाई अँगालो हालेँ । उनी उत्कृष्ट गोलरक्षक हुन् । यस्ता कठिन अनुभवले खेलाडीलाई अझ बलियो बनाउँछन् ।’
स्पेनका लागि निर्णायक गोल गरेका मेरिनोले आफू फेरि एकपटक टोलीका नायक बन्न पाएकोमा खुसी व्यक्त गरे । उनी मैदान प्रवेश गरेको केवल २ मिनेटपछि गोल गर्न सफल भएका थिए । यसअघि पनि उनले अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध विजयी गोल गर्दै टोलीलाई क्वार्टरफाइनल पु¥याएका थिए । मेरिनोले भने, ‘सायद यो संयोग जस्तो देखिन्छ, तर यदि तपाईं तयार हुनुहुन्छ भने यस्ता अवसर फेरि पनि आउन सक्छन् । म निकै खुसी छु । भविष्यमा फेरि यस्तो हुन्छ कि हुँदैन, त्यो समयले देखाउनेछ ।’ उनले सेमिफाइनलमा फ्रान्ससँग खेल्न पाउनु आफ्नो टोलीका लागि ठुलो अवसर भएको पनि बताए । ‘हामी यही लक्ष्य लिएर यहाँ आएका हौँ । हामी आफ्नो क्षमतामा पूर्ण विश्वास गर्छौं । बाल्यकालदेखि सपना देखिने यस्तै खेल खेल्ने अवसर अहिले प्राप्त भएको छ,’ उनले भने ।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले फ्रान्सविरुद्धको आगामी खेललाई ‘फाइनलअघि नै हुने फाइनल’ को संज्ञा दिएका छन् । उनका अनुसार दुवै टोली अत्यन्त बलिया भएकाले त्यो खेलको स्तर नै फाइनल सरह हुनेछ । स्पेनले जित हात पारे पनि बेल्जियमले खेलभर कडा चुनौती दिएको थियो । विशेष, गरी दोस्रो हाफमा बेल्जियमले स्पेनको रक्षापंक्तिलाई पटक–पटक दबाबमा पारेको थियो । यसले फ्रान्सलाई पनि केही रणनीतिक संकेत दिएको विश्लेषण गरिएको छ । स्पेनका युवा स्टार लामिन यमालले पनि यस खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले बेल्जियमको दायाँ रक्षापक्षमा लगातार दबाब सिर्जना गर्दै धेरै अवसर निर्माण गरेका थिए । प्रतियोगिताको सुरुआती खेलहरूमा अपेक्षाअनुसार प्रभाव जमाउन नसकेका यामालले यस खेलमा भने आफ्नो क्षमता देखाएका थिए । उत्कृष्ट प्रदर्शनका कारण उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतिक्रिया