
जारी विश्वकपका क्रममा इरानी खेलाडीमाथि विभेद भएको भन्ने विषयले अन्तर्राष्ट्रिय खेलकुद जगतमा नयाँ बहस सुरु गरेको छ । प्रतियोगिताका क्रममा भएका केही विवादास्पद निर्णय, अनुशासनसम्बन्धी कारबाही र रेफ्रीको भूमिकालाई लिएर इरानले खुला रूपमा असन्तुष्टि व्यक्त गरेको छ । इरानी पक्षले खेल मैदानभित्र सबै टोलीलाई समान व्यवहार हुनुपर्नेमा जोड दिँदै केही निर्णयले निष्पक्ष प्रतिस्पर्धामाथि नै प्रश्न उठाएको जनाएको छ । इरानका राष्ट्रपति मसउद पेजेसकियानले विश्वकप आयोजनाको क्रममा अमेरिकाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
उनका अनुसार आयोजक राष्ट्रको व्यवहारले खेलकुदको मूल मर्मभन्दा राजनीतिक प्रभाव बढी देखिएको छ । उनले नियमको समान कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै कुनै पनि टोली वा खेलाडीलाई फरक व्यवहार गरिनु अन्तर्राष्ट्रिय खेल भावना विपरीत हुने बताएका छन् । इरानले आफ्ना खेलाडीमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विभेदपूर्ण व्यवहार भएको संकेत गर्दै फिफाले यस्ता विषयमा गम्भीर छानबिन गर्नुपर्ने माग पनि उठाएको छ । यद्यपि फिफाले हालसम्म इरानले उठाएका सबै आरोपलाई औपचारिक रूपमा पुष्टि गरेको छैन । त्यसैले यी आरोपमाथि सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान आवश्यक रहेको धेरै खेल विश्लेषकहरूको धारणा छ । समूह चरणमा इरानका सबै खेल अमेरिकामा थिए ।
तर अमेरिकाले बस्ने अनुमति नदिँदा इरानी टोलीले मेक्सिकोबाट धाएर खेल खेल्नुपरेको थियो । खेल सकिएलगत्तै पुनः मेक्सिको नै फर्कनु परेको थियो । इरान ३ वटै खेल नहार्नका बाबजुद समूह चरणबाटै बाहिरिएको थियो । इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग बराबरी खेल्नका बाबजुद गोलअन्तरमा पछि पर्दै समूहमा उत्कृष्ट तेस्रो टोली बन्नबाट वञ्चित भएको थियो । इजिप्टविरुद्ध इरानी खेलाडी शोजा खलिलजादेह इन्जुरी समयमा गरेको गोल रद्द गरिएको थियो । यसमा पनि धाँधली भएको आरोप इरानले लगाएको छ । यसैकारण आफ्नो विश्वकप यात्रा समूह चरणबाटै सकिएको इरानी दाबी छ ।

विशेषगरी बलियो मानिएको बेल्जियमसँग गोलरहित बराबरी खेल्नु इरानका लागि सकारात्मक उपलब्धि मानिएको थियो । यद्यपि उत्कृष्ट प्रदर्शनका बाबजुद टोली प्रतियोगिताबाट बाहिरिएपछि समर्थकहरूले केही निर्णायक निर्णयले टोलीलाई असर गरेको टिप्पणी गरेका थिए । यसका बीच, प्रतियोगिताबाट बाहिरिएपछि राष्ट्रपति पेजेसकियानले स्वदेश फर्किएका राष्ट्रिय टोलीका खेलाडीहरूको प्रशंसा गरेका थिए । उनले अन्तिम क्षणसम्म दृढ संकल्पका साथ संघर्ष गर्नु नै वास्तविक खेल भावना भएको उल्लेख गर्दै खेलाडीहरूको प्रयासको खुलेर सराहना गरे । उनले भविष्यमा सफलता हासिल गर्न वैज्ञानिक तयारी, उच्च मनोबल, सकारात्मक सोच, परिवर्तनमुखी दृष्टिकोण तथा बलियो प्रेरणा आवश्यक रहने धारणा व्यक्त गरे । साथै उनले आगामी प्रतियोगितामा इरानी टोली अझ सशक्त प्रदर्शन गर्दै सफलता हासिल गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
विश्वकपमा देखिएको अर्को ठुलो विवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित थियो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग अमेरिकी टोलीका फरवार्ड फोलारिन बालोगुनमाथि लागेको रातो कार्ड र त्यसपछि लागेको १ खेलको प्रतिबन्धबारे छलफल गरेको उल्लेख गरेका थिए । बालोगुनलाई अन्तिम ३२ मा बोस्निया एन्ड हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड देखाइएपछि स्वचालित रूपमा १ खेलको प्रतिबन्ध लागेको थियो । तर फिफाको अनुशासन संहिताको धारा २७ अनुसार उक्त प्रतिबन्ध पछि स्थगित गरियो, जसका कारण उनी बेल्जियमविरुद्धको राउन्ड अफ १६ खेलमा मैदान उत्रिन योग्य बने ।
फिफाको यस निर्णयप्रति बेल्जियम फुटबल महासंघले औपचारिक आपत्ति जनाएको थियो । साथै युरोपेली फुटबल महासंघ (युइएफए) ले पनि यसलाई ‘बुझ्न नसकिने र औचित्यहीन’ निर्णय भन्दै आलोचना गरेको थियो । अन्ततः बालोगुन उक्त खेलमा सहभागी भए पनि अमेरिका बेल्जियमसँग ४–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
यस्तै घटनालाई लिएर इरानका राष्ट्रपति पेजेसकियानले अमेरिकाले विश्वकप आयोजना गर्ने क्रममा नियमलाई आफ्नो अनुकूल व्याख्या गरेको, प्रतिद्वन्द्वी टोलीहरूमाथि दबाब सिर्जना गरेको तथा निष्पक्ष प्रतिस्पर्धाको भावना विपरीत व्यवहार गरेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाको व्यवहारलाई उसकै परराष्ट्र नीतिसँग तुलना गरेका छन् । राष्ट्रपति पेजेसकियानले अमेरिकाले नियमलाई मोड्ने, प्रतिस्पर्धीलाई दबाबमा पार्ने, विभिन्न अवरोध सिर्जना गर्ने तथा अनुचित तरिकाले फाइदा उठाउने प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिलाई ‘मेक अमेरिका ग्रेट अगेन’ रणनीतिको निरन्तरता भएको टिप्पणी गर्दै इरानले यस्तो खेल स्वीकार नगर्ने र आफ्नो अधिकारको पक्षमा दृढतापूर्वक उभिने बताएका छन् ।
प्रतिक्रिया