–खेल सकिएपछि रोनाल्डोले मैदानमा केही क्षण दर्शकतर्फ हात हल्लाए, त्यसपछि शान्त रूपमा मैदान छाडे । त्यो क्षण केवल एउटा खेलको अन्त्य मात्र थिएन, विश्व फुटबलको एक स्वर्णिम युगको अन्त्यको प्रतीक पनि बन्यो
–रुस विश्वकप रोनाल्डोको व्यक्तिगत हिसाबले सबैभन्दा उत्कृष्ट प्रतियोगिता बन्यो । स्पेनविरुद्धको पहिलो खेलमा उनले ह्याट्रिक गर्दै पोर्चुगललाई ३–३ को बराबरी दिलाए
– ब्राजिलका स्टार फरवार्ड नेयमार र क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि पनि यो विश्वकप अन्तिम हुने संकेत देखिएको छ । दुवै खेलाडीले एक दशकभन्दा बढी समयसम्म आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए
–जर्मनीका अनुभवी गोलकिपर मानुएल नोयर र अल्जेरियाका कप्तान रियाद महरेजले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका छन् । यी दुवै खेलाडीले आफ्नो राष्ट्रिय टोलीका लागि पनि लामो समयसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए

विश्व फुटबलका महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः समाप्त भएको छ । अन्तिम १६ को खेलमा स्पेनसँग १–० को हार बेहोरेसँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो । यससँगै रोनाल्डोले पनि आफ्नो छैटौँ तथा अन्तिम विश्वकपको अध्याय बन्द गरेका छन् । खेल सकिएपछि उनले मैदानमा केही क्षण दर्शकतर्फ हात हल्लाए, त्यसपछि शान्त रूपमा मैदान छाडे । त्यो क्षण केवल एउटा खेलको अन्त्य मात्र थिएन, विश्व फुटबलको एक स्वर्णिम युगको अन्त्यको प्रतीक पनि बन्यो । अमेरिकाको आर्लिङ्टनमा भएको क्वार्टरफाइनल प्रवेशका लागि खेलिएको प्रतिस्पर्धामा स्पेनले इन्जुरी समयमा मिकेल मेरिनोको निर्णायक गोलमार्फत पोर्चुगललाई पराजित गर्यो ।
निर्धारित समयभर गोलरहित रहेको खेलको अन्तिम क्षणमा आएको उक्त गोलले पोर्चुगलको उपाधि सपना समाप्त गरिदियो । साथै, ६ वटा विश्वकप खेलेका रोनाल्डोको विश्वकप करियर पनि यहीँ टुंगियो । रोनाल्डो मात्र होइन, यस विश्वकपले विश्व फुटबलका धेरै चर्चित अनुहारहरूको अन्तर्राष्ट्रिय यात्राको अन्त्य पनि देखाएको छ । ब्राजिलका नेयमार र क्रोएसियाका लुका मोड्रिचले पनि सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिसकेका छन् । जर्मनीका अनुभवी गोलकिपर मानुएल नोयर र अल्जेरियाका कप्तान रियाद महरेजले विश्वकपबाट आफ्नो टोली बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका छन् । त्यसैगरी पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि टोलीको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
६ विश्वकप खेलेका रोनाल्डोको यात्रा : उत्कर्षदेखि निराशाजनक अन्त्यसम्म
विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरमा लगातार ६ वटा फिफा विश्वकप खेले । ती प्रतियोगितामा उनले कहिले उत्कृष्ट प्रदर्शन गरे भने कहिले अपेक्षाअनुसार चम्कन सकेनन् । पोर्चुगलको सफलतासँगै व्यक्तिगत प्रदर्शन पनि उतारचढावपूर्ण रह्यो । सन् २००६ देखि २०२६ सम्मको विश्वकप यात्राले रोनाल्डोको विकास, उत्कर्ष र अन्ततः उमेरसँगै आएको सीमिततालाई स्पष्ट देखाउँछ ।
२००६ : जर्मनीमा आशाजनक सुरुआत
केवल २१ वर्षको उमेरमा पहिलोपटक विश्वकपको मुख्य भूमिकामा देखिएका रोनाल्डोले पोर्चुगलका सबै ६ खेल खेले । पोर्चुगलले समूह चरणमा अंगोला, इरान र मेक्सिकोलाई हरायो । त्यसपछि नकआउट चरणमा नेदरल्यान्ड्स र इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनल पुग्यो । तर फ्रान्ससँग १–० ले पराजित भएपछि फाइनल पुग्ने सपना अधुरै रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग पनि ३–१ ले हार बेहोर्नुपर्यो । नेदरल्यान्ड्सविरुद्धको खेलमा तिघ्रामा चोट लागे पनि रोनाल्डोले सबै खेलमा सुरुआती टोलीमा स्थान बनाए । उनले इरानविरुद्ध पेनाल्टीमार्फत गोल गरे । प्रतियोगिताभर उनले सबैभन्दा धेरै प्रहार गर्ने, बल अघि बढाउने, विपक्षी खेलाडीसँग भिडन्त गर्ने तथा धेरै फाउल झेल्ने खेलाडीका रूपमा टोलीको नेतृत्व गरे । यद्यपि पेनाल्टीबाहेक उनका अन्य २६ प्रहार गोलमा परिणत हुन सकेनन् । त्यसका बाबजुद पोर्चुगलको पछिल्ला ६० वर्षकै उत्कृष्ट विश्वकप प्रदर्शनमा उनको महत्वपूर्ण योगदान रह्यो ।
२०१० : दक्षिण अफ्रिकामा निराशाजनक प्रदर्शन
दक्षिण अफ्रिकामा भएको विश्वकपमा पोर्चुगलले आइभरी कोस्टसँग गोलरहित बराबरी खेल्यो, उत्तर कोरियालाई ७–० ले हरायो, ब्राजिलसँग पनि गोलरहित बराबरी गर्यो र अन्तिम १६ मा स्पेनसँग १–० ले हार्दै बाहिरियो । कार्लोस क्वेइरोजको रक्षात्मक रणनीतिका कारण पोर्चुगलले ४ खेलमध्ये सबै गोल एउटै खेलमा गर्यो । उत्तर कोरियाविरुद्ध रोनाल्डोले १ गोल र १ असिस्ट दिए । तर बाँकी ३ खेलमा टोली गोलविहीन रह्यो । ती खेलमा पोर्चुगलले गरेका ३२ प्रहारमध्ये १६ वटा रोनाल्डोकै थिए । यद्यपि उनले खतरनाक अवसर सिर्जना गर्न सकेनन् । उनको प्रदर्शन औसत रह्यो भने टोलीबाट पनि पर्याप्त सहयोग पाएनन् ।
२०१४ : ब्राजिलमा अपेक्षाभन्दा कमजोर
२९ वर्षको उमेरमा करिअरको उत्कृष्ट लयमा रहेका रोनाल्डो विश्वकपमा ठुलो प्रभाव पार्ने अपेक्षासहित ब्राजिल पुगेका थिए । त्यसबेला उनी रियल म्याड्रिडबाट लगातार ५० भन्दा बढी गोल गर्ने खेलाडीका रूपमा स्थापित भइसकेका थिए । तर प्रतियोगिताको सुरुआत नै खराब भयो । जर्मनीसँग ४–० को लज्जास्पद हार बेहोरेको पोर्चुगल दोस्रो खेलमा अमेरिकासँग पनि दबाबमा रह्यो । खेलको इन्ज्युरी समयमा रोनाल्डोले दिएको उत्कृष्ट पासलाई सिल्भेस्ट्रे भेरेलाले गोलमा परिणत गर्दै टोलीलाई २–२ को बराबरी दिलाएका थिए । अन्तिम खेलमा घानालाई २–१ ले हराए पनि गोलअन्तर कमजोर भएकाले पोर्चुगल समूह चरणबाटै बाहिरियो । रोनाल्डोले घानाविरुद्ध निर्णायक गोल गरे पनि उनले सिर्जना गरेका धेरै अवसर सदुपयोग हुन सकेनन् । व्यक्तिगत रूपमा टोलीको आक्रमण सम्हाले पनि समग्रमा यो उनको निराशाजनक विश्वकप मानियो ।
२०१८ : रुसमा विश्वकपको उत्कृष्ट संस्करण
रुस विश्वकप रोनाल्डोको व्यक्तिगत हिसाबले सबैभन्दा उत्कृष्ट प्रतियोगिता बन्यो । स्पेनविरुद्धको पहिलो खेलमा उनले ह्याट्रिक गर्दै पोर्चुगललाई ३–३ को बराबरी दिलाए । विश्व फुटबलकै शक्तिशाली टोलीमध्ये एक स्पेनविरुद्ध उनले गरेका तीनै प्रहार गोलमा परिणत भएका थिए । त्यसपछि मोरक्कोविरुद्ध उनले एक मात्र निर्णायक गोल गरे । इरानविरुद्ध पनि अवसर सिर्जना गरे । तर इरानसँग बराबरी भएपछि पोर्चुगल समूह उपविजेता बन्यो र अन्तिम १६ मा बलियो उरुग्वेसँग भिड्नुपर्यो । त्यो खेलमा उनले पेनाल्टी गुमाएका थिए । अन्तिम १६ मा एडिन्सन काभानीको उत्कृष्ट प्रदर्शनका कारण पोर्चुगल २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । यद्यपि टोलीको यात्रा छोटिएको भए पनि ३३ वर्षीय रोनाल्डोका लागि यो विश्वकप व्यक्तिगत रूपमा सबैभन्दा सफल मानिन्छ । त्यसको एक वर्षपछि उनले पोर्चुगललाई पहिलो युइएफए नेसन्स लिग उपाधि जिताउन पनि महत्वपूर्ण भूमिका खेले ।
२०२२ : कतारमा युग परिवर्तनको संकेत
कतार विश्वकपसम्म आइपुग्दा रोनाल्डोको करिअर ओरालो लाग्न थालेको थियो । रियल म्याड्रिडपछि युभेन्टस र त्यसपछि म्यानचेस्टर युनाइटेडमा उनको प्रभाव क्रमशः घट्दै गएको थियो । प्रशिक्षक एरिक टेन हागसँगको विवादले पनि उनको अवस्था थप जटिल बनायो । कतारमा उनले घानाविरुद्ध पेनाल्टीमार्फत १ गोल गरे ।
त्यसबाहेक उनी प्रभावहीन रहे । स्विट्जरल्यान्डविरुद्ध प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमा राख्दै गोन्सालो रामोसलाई मौका दिएका थिए । रामोसले त्यस खेलमा ह्याट्रिक गर्दै पोर्चुगललाई ६–१ को सानदार जित दिलाए । तर क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि रोनाल्डो आँसु झार्दै मैदान छाडेका थिए । त्यो प्रतियोगिताले पोर्चुगल नयाँ पुस्तातर्फ अघि बढ्नुपर्ने संकेत दिएको थियो । तर त्यसपछि सान्तोसलाई हटाएर रोबर्टो मार्टिनेजलाई मुख्य प्रशिक्षक नियुक्त गरियो र टोली फेरि रोनाल्डोमै निर्भर रहन थाल्यो ।
२०२६ : अन्तिम विश्वकप र विवादास्पद निर्णय
सन् २०२६ को विश्वकपअघि रोनाल्डोले नेसन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमनको संकेत दिएका थिए । अल–नासरबाट पनि उनले राम्रो गोल संख्या कायम राखेका थिए । तर युरो २०२४ मा उनी गोलविहीन रहे र लगातार ९ अन्तर्राष्ट्रिय ठुला प्रतियोगिताका खेलमा गोल गर्न सकेका थिएनन् । यसबीच गोन्सालो रामोस राष्ट्रिय टोलीका लागि प्रति ९० मिनेट औसत १.१६ गोल गर्दै उत्कृष्ट लयमा थिए, जबकि रोनाल्डोको औसत ०.८० गोल मात्र थियो । त्यसैले धेरै विश्लेषकले अग्रपंक्तिमा रामोस नै पहिलो रोजाइ हुनुपर्ने बताएका थिए ।
विश्वकपमा पोर्चुगलले डिआर कंगोसँग १–१ को बराबरी खेल्यो, उज्बेकिस्तानलाई ५–० ले हरायो, कोलम्बियासँग गोलरहित बराबरी गर्यो, त्यसपछि क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्पेनसँग १–० ले पराजित भयो । प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई लगातार पूरा ९० मिनेट खेलाइरहे । कंगोसँग बराबरीपछि उनले विश्व फुटबलकै सर्वाधिक गोलकर्ता भएकाले उनलाई मैदानबाट निकाल्नुको अर्थ नहुने बताएका थिए । स्पेनसँगको हारपछि पनि उनले उही तर्क दोहोर्याए । तर तथ्यांकले भने फरक चित्र देखायो । विश्वकपमा ७५औँ मिनेटपछि खेलेका ६६ मिनेटमा रोनाल्डोले केवल एक प्रहार मात्र गरेका थिए । उनी खेलको अन्त्यतिर त झनै लगभग प्रभावविहीन देखिन्थे ।
रोनाल्डोलाई प्रतिस्थापन गरिएको एकमात्र खेलमा रामोसले क्रोएसियाविरुद्ध विजयी गोल गरेका थिए । त्यसपछि पनि स्पेनविरुद्ध रामोस बेन्चमै रहे र रोनाल्डोले पूरा खेल खेले । विश्लेषकहरूको निष्कर्षमा – यदि मार्टिनेजले रोनाल्डोलाई ७० वा ७५ मिनेटपछि नियमित रूपमा परिवर्तन गरेर रामोसलाई अवसर दिएका भए पोर्चुगलले समूह चरणमै थप जित निकाल्न सक्थ्यो । त्यसो भएको भए नकआउट चरणमा उनीहरूले तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी सामना गर्ने सम्भावना थियो र प्रतियोगितामा अझ टाढासम्म पुग्न सक्थे । अन्ततः प्रशिक्षकले विगतको रोनाल्डोलाई वर्तमानमा पनि उस्तै प्रभावशाली ठानेर निर्णय गरे । तर समय बदलिसकेको थियो । त्यसैले विश्व फुटबलका एक महान् खेलाडीको विश्वकप यात्रा फेरि एकपटक निराशामै टुंगियो ।
नेयमार र मोड्रिचको सम्भावित बिदाइ
ब्राजिलका स्टार फरवार्ड नेयमार र क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि पनि यो विश्वकप अन्तिम हुने संकेत देखिएको छ । दुवै खेलाडीले एक दशकभन्दा बढी समयसम्म आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए । यस विश्वकपमा उनीहरूले युवा खेलाडीहरूलाई मार्गदर्शन गर्ने भूमिका निभाए । प्रतियोगिताको स्वरूप ४८ टोलीमा विस्तार भएपछि अनुभव र नेतृत्वको आवश्यकता झन् बढेको थियो । यद्यपि उनीहरूको टोली अपेक्षित सफलता हासिल गर्न नसक्दा विश्वकप यात्राको अन्त्य पनि निराशाजनक बन्यो । नेयमारले ब्राजिललाई महत्वपूर्ण प्रतियोगिताहरूमा नेतृत्व दिएका छन् भने मोड्रिचले क्रोएसियालाई विश्व फुटबलको शक्तिशाली टोलीका रूपमा स्थापित गराउन ठुलो योगदान दिएका थिए ।
नोयर र महरेजको अन्तर्राष्ट्रिय करियर पनि समाप्त
नोयर आधुनिक गोलकिपिङको शैली परिवर्तन गर्ने खेलाडीका रूपमा चिनिन्छन् भने महरेजले अफ्रिकी फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रतिक्रिया