सानो देशको ठुलो सपना र विकासको प्रेरणादायी कथा

विश्वकपमा केप भर्डेको ऐतिहासिक सफलता

पश्चिम अफ्रिकाको द्वीपीय राष्ट्र केप भर्डेले सन् २०२६ को फिफा विश्वकपमा अप्रत्याशित प्रदर्शन गर्दै विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ । करिब ५ लाख जनसंख्या मात्र रहेको यस राष्ट्रले नकआउट चरणमा स्थान बनाएपछि सानो देशले पनि ठुलो उपलब्धि हासिल गर्न सक्ने सन्देश दिएको छ । १० वटा द्वीप (जसमध्ये ९ वटा बसोबासयोग्य) मा फैलिएको केप भर्डेले समूह चरणमा युरोपेली च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेलेर सबैलाई चकित बनायो । टोलीका गोलरक्षक भोजिन्हा प्रतियोगिताका चर्चित खेलाडीमध्ये एक बनेका छन् ।

स्पेनसँगको खेलअघि इन्स्टाग्राममा करिब ५० हजार फलोअर्स रहेका उनका समर्थकको संख्या जुन महिनाको अन्त्यसम्म १ करोड ७४ लाखभन्दा बढी पुगेको छ । केप भर्डेको इतिहास पनि चुनौतीसँग जुध्दै अघि बढेको छ । सन् १४६० को दशकमा पोर्चुगिजहरू यहाँ पुगेपछि यो द्वीपसमूह एटलान्टिक व्यापारको महŒवपूर्ण केन्द्र बन्यो । सान्टियागो द्वीपमा स्थापित रिबेइरा ग्रान्डे (हालको सिदादे भेल्हा) सहारा मरुभूमिको दक्षिणतर्फको सबैभन्दा पुरानो युरोपेली बस्ती मानिन्छ । यही क्षेत्र समुद्री व्यापार, बसाइँसराइ र दुर्भाग्यपूर्ण रूपमा दास व्यापारको प्रमुख केन्द्र बनेको थियो ।

प्राकृतिक स्रोतको अभाव र पटक–पटक पर्ने खडेरीका कारण देशले लामो समय आर्थिक कठिनाइ भोग्यो । दास व्यापारको अन्त्यपछि अवस्था झन् कमजोर बन्यो । अन्ततः सन् १९७५ मा गिनी–बिसाउसँगको संयुक्त स्वतन्त्रता आन्दोलनमार्फत केप भर्डे स्वतन्त्र राष्ट्र बन्यो । स्वतन्त्रता आन्दोलनका प्रमुख नेता अमिल्कार काब्राल अफ्रिकाका प्रभावशाली उपनिवेशविरोधी नेतामध्ये एक मानिन्छन् । स्वतन्त्रतापछि तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलगायत केही अन्तर्राष्ट्रिय संस्थाले केप भर्डेलाई सानो र स्रोतविहीन भएकाले दीर्घकालीन रूपमा टिक्न नसक्ने राष्ट्रको रूपमा चित्रण गरेका थिए । तर ५ दशकपछि यही राष्ट्र विश्वका गरिब देशमध्येबाट माथि उठेर उच्च–मध्यम आय भएको मुलुकको रूपमा स्थापित भएको छ ।

सन् १९९१ मा बहुदलीय निर्वाचनमार्फत शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण भएपछि केप भर्डेले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनायो । अहिले यो देश सुशासन, राजनीतिक स्थायित्व र लोकतन्त्रका दृष्टिले अफ्रिकाका उत्कृष्ट राष्ट्रमध्ये गनिन्छ । यहाँको औसत आयु ७५ देखि ७७ वर्ष रहेको छ भने साक्षरता, मानव विकास र बाल मृत्युदरका सूचकहरू पनि अफ्रिकामा उत्कृष्ट मानिन्छन् । फुटबलप्रतिको गहिरो आकर्षणसँगै फिफाको सहयोगमा युवा खेलाडी विकास र पूर्वाधारमा गरिएको लगानीले पनि राष्ट्रिय टोलीको सफलतामा महŒवपूर्ण योगदान दिएको छ ।

विदेशमा बसोबास गर्ने विशाल केप भर्डेली समुदायले समेत देशको विकासमा ठुलो भूमिका खेलेको छ । विदेशबाट आउने विप्रेषण विदेशी सहायता र प्रत्यक्ष वैदेशिक लगानीभन्दा पनि बढी रहेको छ । विशेष गरी कोभिड–१९ महामारीका बेला विप्रेषण उल्लेखनीय रूपमा बढेको थियो । राष्ट्रिय फुटबल टोलीले पनि यही प्रवासी समुदायको क्षमतालाई उपयोग गरेको छ । पोर्चुगल, फ्रान्स, नेदरल्यान्ड्स र आयरल्यान्डमा हुर्किएका खेलाडीहरूलाई राष्ट्रिय टोलीमा समेटिएको छ, जसले टोलीलाई अझ प्रतिस्पर्धी बनाएको छ ।

यद्यपि देशले अझै केही चुनौती सामना गरिरहेको छ । ३५ वर्षभन्दा कम उमेरका युवाको संख्या धेरै भए पनि बेरोजगारी, अस्थायी रोजगारी र सीमित अवसरका कारण धेरै युवा विदेशिन बाध्य छन् । साथै, सन् २०१९ मा लैंगिक समानतासम्बन्धी कानुन लागू भए पनि महिलाको राजनीतिक सहभागिता र लैंगिक समानताको क्षेत्रमा अझै सुधार आवश्यक रहेको छ ।

जुलाई ५ मा स्वतन्त्रता दिवस मनाउने तयारी गरिरहेको केप भर्डेका लागि विश्वकपको सफलता राष्ट्रिय गौरवको अर्को अध्याय बनेको छ । यदि टोलीले अर्जेन्टिनाविरुद्ध पनि अप्रत्याशित जित निकाल्न सफल भयो भने, त्यो विगत ५० वर्षदेखि चुनौतीलाई अवसरमा बदल्दै आएको यस सानो राष्ट्रका लागि अझ ऐतिहासिक उपलब्धि हुने थियो । तर, कडा प्रतिस्पर्धा गरे पनि अन्ततः साविक विजेता टोलीले ३–२ को जित निकालेरै छाड्यो । अर्जेन्टिनाविरुद्ध केप भर्डेले गरेको प्रदर्शनको अहिले संसारभर प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया