
अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ । सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः विस्थापित हुन बाध्य भएका छन् ।
होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन् । उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्नसमेत पाएनन्। साथै, सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेको उनीहरूको गुनासो छ ।

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त टोली परिचालन गरिएको थियो ।
उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ । अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् ।
हाल घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू सक्रिय भई प्रभावितहरूका लागि खाना, खानेपानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।







तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी
प्रतिक्रिया