
फिफा विश्वकप २०२६ रोमाञ्चक मोडमा पुग्दा प्रतियोगिताको सर्वाधिक प्रतिष्ठित व्यक्तिगत उपाधि ‘गोल्डेन बुट’ को दौड पनि निकै रोचक बनेको छ। जारी विश्वकपमा साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका स्टार किलियन एमबाप्पे शीर्ष स्थानमा रहँदै कडा प्रतिस्पर्धामा छन् ।
क्वार्टरफाइनल खेलहरू जारी रहँदा दुवै खेलाडीले समान ८-८ गोल गरिसकेका छन् । फ्रान्सका एमबाप्पेले मोरक्कोविरुद्धको क्वार्टरफाइनल खेलमा उत्कृष्ट गोल गर्दै मेस्सीसँगको दुरी बराबरी गरेका हुन् । फिफाको नियमअनुसार गोल संख्या बराबरी भएको खण्डमा ‘असिस्ट’ (गोल गर्नका लागि मिलाइदिएको पास) को आधारमा विजेता तय गरिने भएकाले हाल एमबाप्पे थोरै अगाडि देखिन्छन् । एमबाप्पेको नाममा २ असिस्ट छ भने मेस्सीको नाममा १ असिस्ट रहेको छ ।
यो रेसलाई अझ रोमाञ्चक बनाउन नर्वेका युवा स्ट्राइकर अर्लिङ हलान्ड ७ गोलसहित तेस्रो स्थानमा छन् । आफ्नो पहिलो विश्वकप खेलिरहेका हलान्डले नर्वेका लागि उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई गोल्डेन बुटको बलियो दाबेदारका रूपमा उभ्याएका छन् । त्यस्तै, सन् २०१८ का गोल्डेन बुट विजेता इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित चौथो स्थानमा रहेर उनीहरूलाई पछ्याइरहेका छन् ।
विश्वकपका बाँकी खेलहरूमा टोलीहरूको यात्रा जति अगाडि बढ्छ, यो रेस त्यति नै रोमाञ्चक बन्दै जाने निश्चित छ। सन् २०२२ को विश्वकपमा एमबाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए भने मेस्सी ७गोलसहित दोस्रो स्थानमा रहेका थिए ।

प्रतिक्रिया