विश्वकपको ९६ बर्षे इतिहासको रोचक यात्रा

–फिफा अध्यक्ष जुल्स रिमेले जुन टोलीले ३ पटक जित्छ, उसले ट्रफी स्थायी रूपमा राख्न पाउने नियम बनाएका थिए । ब्राजिलले सन् १९७० मा तेस्रोपटक जितेपछि ट्रफी उसकै भयो । पछि यो ट्रफी १९८३ मा ब्राजिलमा चोरी भयो र कहिल्यै फेला परेन । केही भाग मात्र फिफा कार्यालयमा भेटिएको थियो, बाँकी अझै हराइरहेको छ

–सन् १९३० मा १३ टोलीबाट सुरु भएको यो प्रतियोगिता विस्तार हुँदै गयो । सन् १९५४ देखि १९८२ सम्म १६ टोली खेल्थे । १९८२ मा यो संख्या बढेर २४ भयो र १९९८ देखि ३२ टोलीको संरचना लागू भयो । अहिले ४८ पुगेको छ

–ब्राजिलले सबैभन्दा धेरै ५ पटक विश्वकप जितेको छ । त्यसपछि जर्मनी र इटालीले ४–४ पटक, अर्जेन्टिनाले ३ पटक, फ्रान्स र उरुग्वेले २ पटक जितेका छन् । यस्तै, इंग्ल्यान्ड र स्पेनको नाममा पनि समान १ वटा विश्वकपको उपाधि छ

फिफा विश्वकप फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेलकुद प्रतियोगिता हो । यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हरेक ४ वर्षमा विश्व फुटबल महासंघ (फिफा) द्वारा आयोजना गरिन्छ । यो खेलको अन्तर्राष्ट्रिय शासकीय निकाय सन् १९०४ मा स्थापना भएको थियो, तर विश्वकपको अवधारणा वास्तविक रूपमा सुरु हुन दुई दशकभन्दा बढी समय लाग्यो । पहिलो विश्वकप सन् १९३० मा आयोजना गरिएको थियो, जसमा १३ देशका पुरुष टोलीहरूले भाग लिएका थिए ।

यसको उद्देश्य ओलम्पिक खेलभन्दा बाहिर अन्तर्राष्ट्रिय फुटबल प्रतिभालाई प्रदर्शन गर्ने ठुलो मञ्च बनाउनु थियो । त्यसपछि यो प्रतियोगिता विस्तार हुँदै हाल ४८ टोलीसम्म पुगेको छ र विश्वकै सबैभन्दा धेरै हेरिने खेलकुद कार्यक्रममध्ये एक बनेको छ । फिफाले महिलाहरूको विश्वकप पनि आयोजना गर्छ, जुन पहिलोपटक सन् १९९१ मा खेलिएको थियो ।

सन् २०२६ को जारी विश्वकप जुन ११ देखि जुलाई १९ सम्म आयोजना भइरहेको छ । यो प्रतियोगिता ११ वटा अमेरिकी सहर, ३ वटा मेक्सिकन सहर र २ वटा क्यानाडाली सहरमा भइरहेको हो ।

… अनि सुरु भयो पहिलो विश्वकप

सन् १९०० को पेरिस ओलम्पिकमा फुटबल समावेश भएपछि सन् १९०४ मा फिफा स्थापना भयो । सन् १९२० को ओलम्पिकमा फिफा अध्यक्ष जुल्स रिमेले (जसलाई विश्वकपका पिता भनेर चिनिन्छ) फुटबलका लागि छुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउने प्रस्ताव राखे । उनको सोच आउनु अघि फुटबल मुख्य रूपमा ओलम्पिक खेलमै सीमित थियो । सन् १९३० मा पहिलो फिफा विश्वकप आयोजना भयो, जसमा १३ टोलीले उरुग्वेमा प्रतिस्पर्धा गरे । १३ जुलाईमा पहिलो खेलमा फ्रान्सले मेक्सिकोलाई ४–१ गोलअन्तरे हराएको थियो । घरेलु टोली उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराउँदै पहिलो विश्वकप उपाधि जित्यो । यो फाइनल खेल ३० जुलाईमा सम्पन्न भएको थियो ।

पहिलो विश्वकपपछि सन् १९३२ को लस एन्जलस ओलम्पिकमा फुटबल समावेश भएन । तर सन् १९३६ मा यो खेल फेरि ओलम्पिकमा फर्कियो र त्यसपछि निरन्तर रहँदै आएको छ । फिफा र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका नियमका कारण लामो समयसम्म पेसेवर खेलाडीहरूलाई ओलम्पिकमा खेल्न अनुमति थिएन, जुन सन् १९८४ पछि मात्र परिवर्तन भयो । त्यसैबीच, फिफाले सन् १९३० देखि केही अपवादबाहेक हरेक ४ वर्षमा विश्वकप आयोजना गर्दै आएको छ ।

यसरी भयो विश्वकपको विकास

सन् १९३८ को फ्रान्स विश्वकपपछि जर्मनीमा नाजी पार्टी सत्तामा उक्लँदै थियो । एडोल्फ हिटलरले सन् १९४२ को विश्वकप जर्मनीमा आयोजना गर्न फिफासमक्ष अनुरोध गरे, तर दोस्रो विश्वयुद्ध सुरु भएपछि प्रतियोगिता रद्द गरियो । यस युद्धका कारण सन् १९४६ को विश्वकप पनि आयोजना हुन सकेन । युद्धपछि सन् १९५० को विश्वकपका लागि कुनै देशले सुरुमै आयोजना गर्न चाहेन । अन्ततः ब्राजिल अघि सरेर रियो दी जेनेरियोस्थित प्रसिद्ध माराकाना रंगशाला निर्माण गर्यो । करिब २ लाख दर्शक अटाउने यो रंगशाला त्यतिबेला विश्वकै सबैभन्दा ठुलो थियो, यद्यपि प्रतियोगिताको समयमा निर्माण कार्य अझै जारी थियो ।

ब्राजिल ती ५ देशमध्ये एक हो जसले २ पटक विश्वकप आयोजना गरेको छ । अन्य देशहरूमा इटाली, फ्रान्स, जर्मनी र मेक्सिको पर्छन् । सन् २०२६ पछि अमेरिका पनि यस सूचीमा थपिएको छ । अमेरिकाले पहिलोपटक सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो, जुन फिफा इतिहासकै सबैभन्दा धेरै दर्शक भएको प्रतियोगितामध्ये एक मानिन्छ । हालसम्म भएका २२ विश्वकपमध्ये (२०२६ बाहेक) युरोपले ११ पटक आयोजना गरेको छ ।

पहिलोपटक एसियामा विश्वकप सन् २००२ मा दक्षिण कोरिया र जापानले आयोजना गरेका थिए । त्यसपछि सन् २०१० मा दक्षिण अफ्रिकाले अफ्रिकामा पहिलो विश्वकप आयोजना गर्यो । सामान्यतया विश्वकप मे, जुन वा जुलाई महिनामा हुन्छ । तर सन् २०२२ मा पहिलोपटक विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना गरियो, जब कतारले आयोजना गर्यो । कतारमा गर्मी अत्यधिक हुने भएकाले (१२२ डिग्री फरेनहाइटसम्म पुग्ने) मौसमअनुसार समय परिवर्तन गरिएको थियो । सन् २०२६ को विश्वकप पहिलोपटक ३ देश – अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेका छन् ।

सहभागी टोलीहरूको संख्या निरन्तर बढ्दो

सन् २०२६ को विश्वकप पहिलोपटक ४८ टोलीबीच खेलिएको छ । यस प्रतियोगितामा कुल १०४ खेलहरू हुनेछन् । विजेता टोलीले ८ खेल खेल्नेछ, जुन सन् २०२२ को तुलनामा १ खेल बढी हो । सन् १९३० मा १३ टोलीबाट सुरु भएको यो प्रतियोगिता विस्तार हुँदै गयो । सन् १९५४ देखि १९८२ सम्म १६ टोली खेल्थे । सन् १९८२ मा यो संख्या बढेर २४ भयो, र सन् १९९८ देखि ३२ टोलीको संरचना लागू भयो ।

ट्रफी, गित र मस्कट

विश्वकपसँग धेरै परम्पराहरू जोडिएका छन् । जसमा ट्रफी, आधिकारिक गीतहरू र मस्कटहरू प्रमुख छन् । सन् १९३० देखि १९७० सम्म दिइने मूल ट्रफीलाई जुल्स रिमे ट्रफी भनिन्थ्यो । फिफा अध्यक्ष जुल्स रिमेले जुन टोलीले ३ पटक जित्छ, उसले ट्रफी स्थायी रूपमा राख्न पाउने नियम बनाएका थिए । ब्राजिलले सन् १९७० मा तेस्रोपटक जितेपछि ट्रफी उसकै भयो । पछि यो ट्रफी सन् १९८३ मा ब्राजिलमा चोरी भयो र कहिल्यै फेला परेन । केही भाग मात्र फिफा कार्यालयमा भेटिएको थियो, बाँकी अझै हराइरहेको छ ।


नयाँ ट्रफी बनाउन डिजाइन प्रतियोगिता भयो र ५३ प्रस्तावमध्ये इटालियन मूर्तिकार सिल्भियो गाजानिगाको डिजाइन छनोट भयो । यो ट्रफी १८ क्यारेट सुनबाट बनेको छ र यसमा २ खेलाडीले पृथ्वी उठाइरहेको आकृति छ । सन् २००६ पछि विजेता टोलीले असली ट्रफी मात्र समारोहमा पाउँछ, तर स्थायी रूपमा राख्न प्रतिकृति दिइन्छ । सन् १९६२ देखि प्रत्येक विश्वकपसँग आधिकारिक गीत जोडिएको छ । सन् १९९८ मा रिकी मार्टिनको ‘कप अफ लाइफ’ र सन् २०१० मा साकिराको ‘वाका वाका’ धेरै प्रसिद्ध भए ।


सन् २०२६ मा प्रत्येक आयोजक सहरका आफ्नै सोनिक आइडी नामक संगीत थिम छ । साथै ३ देशका कलाकारहरूको सहकार्यमा गीति एल्बम सार्वजनिक गरिएको थियो । जसमा ‘लाइटर’ नाम गीत प्रमुख हो । तर, साकिराको ‘डाई डाई’ गीत चर्चित बनिरहेको छ । जसको सहगायक बुर्ना ब्वाइ छन् । यता मस्कटको सुरुआत भने सन् १९६६ मा भयो, जसमा ‘वल्र्डकप विली’ नामको सिंह मस्कट थियो । सन् २०२६ मा ३ मस्कट रहेका छन् । जसमा अमेरिकाको बाल्ड ईगल, क्यानाडाको मुस र मेक्सिकोको जगुआर ।

यी हुन् सबैभन्दा धेरै विश्वकप जित्ने टोली

हालसम्म ८ टोलीले विश्वकप जितेका छन् । जसमा ५ युरोपेली र ३ दक्षिण अमेरिकी टोली छन् । ब्राजिलले सबैभन्दा धेरै ५ पटक विश्वकप जितेको छ । त्यसपछि जर्मनी र इटालीले ४–४ पटक, अर्जेन्टिनाले ३ पटक, फ्रान्स र उरुग्वेले २ पटक जितेका छन् । यस्तै, इंग्ल्यान्ड र स्पेनको नाममा पनि समान १ वटा विश्वकपको उपाधि छ । यस्तै, स्पेन महिला विश्वकपमा अमेरिकाले सबैभन्दा धेरै ४ पटक उपाधि जितेको छ । ३ पटक फाइनलमा पुगेर पनि उपाधि नजित्ने टोली नेदरल्यान्ड्स हो । यसपटक पनि नेदरल्यान्ड्स अन्तिम ३२ बाटै बाहिरिइसकेको छ । हालसम्म जर्मनीले सबैभन्दा बढी ८ पटक फाइनल खेलेको छ । यस्तै, ब्राजिलले ७, अर्जेन्टिना र इटालीले ६ तथा फ्रान्सले ४ पटक फाइनल खेलेका छन् ।

दोस्रो विश्वयुद्धका हुन सकेन २ संस्करण

सन् २०३८ पछि १९४२ मा विश्वकप आयोजना गर्ने योजना बनाइएको थियो । सन् १९३६ अगस्ट १३ मा बर्लिनमा भएको २३औँ कंग्रेसमा जर्मनीले आधिकारिक रूपमा सन् १९४२ को विश्वकप आयोजना गर्ने आवेदन दिएको थियो । त्यसपछि सन् १९३९ जुनमा ब्राजिलले पनि उक्त प्रतियोगिता आयोजना गर्न आवेदन दिएको थियो । तर सन् १९३९ सेप्टेम्बर १ मा नाजी जर्मनीले पोल्यान्डमाथि आक्रमण गर्यो, जसले दोस्रो विश्वयुद्धको सुरुआत गर्यो । यस घटनापछि बेलायत र फ्रान्सले पनि जर्मनीविरुद्ध युद्ध घोषणा गरे, जसका कारण १९४२ को विश्वकपका सबै तयारीहरू रद्द गरियो, अझै कुनै आयोजक देश छनोट हुनुअघि नै प्रतियोगिता स्थगित भयो ।

दोस्रो विश्वयुद्धको समयमा फिफालाई आफ्नो अस्तित्व जोगाउन नै कठिन भयो । प्रतियोगिता आयोजना गर्ने कुनै आर्थिक वा मानव स्रोत (कर्मचारी) पनि उपलब्ध थिएन, जसले गर्दा युद्धपछि शान्तिकालीन प्रतियोगिता योजना बनाउन पनि समस्या भयो । जब सन् १९४५ मा युद्ध समाप्त भयो । त्यसपछि १ वर्षभित्र १९४६ को विश्वकप आयोजना गर्न सम्भव छैन भन्ने फिफालाई स्पष्ट भयो । त्यो बेला फिफाको पहिलो बैठक १ जुलाई १९४६ मा भएको थियो, जबकि, यही समय सामान्य अवस्थामा १९४६ को विश्वकप खेलिनुपर्ने थियो । त्यस बैठकमा सन् १९४९ मा अर्को विश्वकप आयोजना गर्ने योजना बनाइए पनि कुनै देशले आयोजना गर्न चाहेन ।

सन् १९४६ मा भएको एकमात्र ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता दक्षिण अमेरिकी च्याम्पियनसिप हाल (कोपा अमेरिका) थियो, जसको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई २–० ले हराएको थियो । अन्ततः विश्वकप सन् १९५० मा पुनः सुरु भयो, जसको आयोजक ब्राजिल बन्यो । युद्धबाट प्रत्यक्ष रूपमा प्रभावित नभए पनि ब्राजिलले मित्र राष्ट्रहरूको पक्षमा युद्धमा सहभागी भएर इटालीमा लडाइँमा पनि भाग लिएको थियो ।

प्रतिक्रिया