धूमपान, मद्यपान र खराब खानपान मात्रै होइन, पछिल्ला वर्षमा आधुनिक जीवनशैलीका केही नयाँ तौरतरिका पनि उच्च रक्तचाप र मुटुरोगका प्रमुख कारण बनेर देखा परेका छन् ।

बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका (तयारी खाना) खानेकुरा तथा प्रशोधित पदार्थको अत्यधिक प्रयोग, बढ्दो मानसिक तनाव, प्रतिस्पर्धात्मक जीवनशैली लगायतका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दो क्रममा देखिन थालेको छ । प्रायः मानिसमा उच्च रक्तचापको समस्या देखिन थालेको छ । यसले निम्त्याउने समस्या अझ जोखिमपूर्ण हुने बताइन्छ ।
रक्तचाप सामान्यभन्दा लगातार बढी रहनुलाई उच्च रक्तचाप भनिन्छ । सामान्यतया स्वस्थ मानिसमा १२०÷८० एमएम एचजीलाई सामान्य रक्तचाप मानिन्छ भने लगातार १४०÷९० वा सोभन्दा माथि पुगेमा उच्च रक्तचापको जोखिम मानिन्छ ।
विशेषज्ञका अनुसार उमेरको प्रभाव, अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, वातावरणीय असर तथा वंशाणुगत कारणले पनि उच्च रक्तचापको समस्या बढ्ने गरेको छ । समयमै रक्तचाप परीक्षण, नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनमार्फत उच्च रक्तचाप नियन्त्रण गर्न सकिने चिकित्सकको सुझाव छ । यसलाई सामान्य ठानियो भने, त्यसले पु¥याउने असर अझ बढी हुने विज्ञहरू बताउँछन् ।
पछिल्लो वर्षमा मुटुरोगको जोखिम बढाउनु र मृत्युको मुखमा पु¥याउनुको मुख्य कारकका रूपमा पनि उच्च रक्तचाप मानिएको छ । यकिन तथ्यांक नभए पनि नेपालमा ठुलो संख्यामा उच्च रक्तचाप भएका मानिस भएको बताइन्छ । अध्ययनका अनुसार नेपालको कुल वयस्क जनसंख्याको करिब ३० प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको विज्ञ बताउँछन् ।
विज्ञका अनुसार धूमपान, मद्यपान र खराब खानपान मात्रै होइन, पछिल्ला वर्षमा आधुनिक जीवनशैलीका केही नयाँ तौरतरिका पनि उच्च रक्तचाप र मुटुरोगका प्रमुख कारण बनेर देखापरेका छन् । अहिले मान्छेको दैनिकी मात्रै होइन, जीवनशैलीमा पनि आमूल परिर्वतन आएको छ । यात्रामा सहजता खोज्ने, खाने कुरामा स्वादिष्ट र तयारी रोज्नेको भिड बढेको छ ।
००००
रक्तचाप बढ्नुका कारण
मान्छे केही खोज्नु परे बजार वा गाउँ धाउन छोडेको छ । शारीरिक रूपमा गरीने कामलाई मान्छे कष्ट थान्न थालेको छ । केही चाहिए सामाजिक सञ्जालको प्रयोगबाट सहजता खोज्न थालियो । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसलाई निष्क्रिय बनाएको छ । खेतबारीमा काम गर्ने कम भेटिन्छन्, हलो कोदालो गरिन्न । दिनभर अफिसमा बस्ने र घर पुगेपछि मोबाइलमै अल्झिने बानी परेको छ । यसले गर्दा आवश्यक शारीरिक व्यायाम हुँदैन ।
घरमा पकाएर खान मान्छे झन्झटिलो मान्न थालेका छन् । कामको व्यस्तता र जिब्राको रुची अनुसार चल्दा मान्छे आफैँ पकाएर होइन, अरूले ठिक्क पारेको खानामा आकर्षित हुन थालेको छ । विशेष गरी कर्पोरेट हाउस, बैंक तथा बाहिर काममा निस्कनेमा घरबाहिर खाजा खाने र जंक फुड प्रयोग गर्ने दर एकदमै बढी छ । नेपालमा जंक फुडमा हुने ‘ट्रान्स फ्याट’ को मात्रा र खाद्य गुणस्तरलाई लिएर कडा नियमन हुन नसक्दा यसले रक्तचाप र मुटुरोगको जोखिमलाई तीव्र पारेको विज्ञको ठम्याइ छ । अझ नयाँ पुस्ता खानमा फलफूल र हरियो तरकारीको मात्रा रुचाउन छोडेको पाइन्छ ।
यसको अर्को कारण भनेको वायु प्रदूषण पनि हो । पछिल्ला केही वर्षमा काठमाडौँ लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर निकै बढेको छ, विशेष गरी हिउँदमा यो उच्च बिन्दुमा पुग्छ । प्रदूषणले सिधै रक्तचाप बढाउने विषयमा छुट्टै अध्ययन नभए पनि यसले मुटुको धमनीमा अवरोध सिर्जना गर्ने, मुटुरोग बढाउने तथा हार्ट अट्याक र स्ट्रोकको जोखिम बढाउने तथ्य प्रमाणित भइसकेको विज्ञ बताउँछन् ।
यसैगरी वैदेशिक रोजगारी, पारिवारिक विखण्डन र मानसिक तनाव उत्तिकै छ । नेपालको आधा जति युवा तथा मध्यम उमेरको पुरुष जनसंख्या रोजगारीका लागि बाहिर हुँदा समाजमा पारिवारिक विखण्डन र एक्लोपन बढेको पाइन्छ । यसले गर्दा घरमा बस्ने वा बाहिर रहने दुवै पक्षमा पारिवारिक सहयोगको कमी भएको पाइन्छ । जसका कारण मानिसमा मनोवैज्ञानिक, आर्थिक, सामाजिक र लैंगिक तनाव थपिएको छ । यो मानसिक तनाव नै अन्ततः उच्च रक्तचापको रूपमा परिणत भएको विज्ञ बताउँछन् ।
००००
उच्च रक्तचाप नियन्त्रण कसरी ?
विज्ञका अनुसार उच्च रक्तचाप नियन्त्रणका लागि औषधोपचारसँगै सक्रिय र स्वस्थ जीवनशैली अपनाउनु अत्यन्त आवश्यक मानिन्छ । आधुनिक चिकित्साशास्त्रमा उच्च रक्तचाप नियन्त्रणका लागि सुरक्षित र प्रभावकारी औषधि उपलब्ध छन् । तर, यसका साथसाथै मानसिक तनाव व्यवस्थापन, नियमित व्यायाम, योग र ध्यान उपयोगी हुन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने बताइन्छ ।
खानापानमा नुनको मात्रा घटाउने, खाना पकाउँदा कम नुन प्रयोग गर्ने, थप नुन हालेर नखाने,
प्याकेट तथा प्रशोधित खाद्य पदार्थ कम खाने । चिप्स, नम्किन, बिस्कुट, चिज, बटरजस्ता बढी नुनयुक्त खानेकुरा कम सेवन गर्ने बानी बसाल्ने ।
स्वादका लागि नुनको सट्टा कागती, मरिच वा अन्य प्राकृतिक मसला प्रयोग गर्ने
तौल नियन्त्रणमा ध्यान दिने ।
धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिमा तौल बढी हुने गरेको पाइन्छ । तौल घटाउँदा रक्तचाप पनि घट्ने भएकाले सन्तुलित आहार र नियमित शारीरिक गतिविधिमा ध्यान दिन आवश्यक हुन्छ । तौल घटाउने मुख्य सिद्धान्त भनेको कम क्यालोरी सेवन गर्नुपर्छ । त्यसका लागि जंक फुड त्याग्ने, दैनिक हिँडडुल गर्ने र सक्रिय जीवनशैली अपनाउने बानी बसाल्नुपर्छ ।
नियमित स्वास्थ्य परीक्षण
परिवारमा मुटुरोग वा उच्च रक्तचाप भएकामा जोखिम बढी हुने भएकाले उनीहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने विज्ञ सुझाउँछन् । उच्च रक्तचाप देखिएमा चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने र औषधि सेवन गर्नुपर्ने अवस्था आउनुअघि नै स्वस्थ जीवनशैली अपनाउनु सबैभन्दा प्रभावकारी हुने बताइन्छ ।
विज्ञका अनुसार धेरैजसोमा सुरुआती अवस्थामा उच्च रक्तचापको स्पष्ट लक्षण नदेखिने गरको र समयमै नियन्त्रण नगर्दा यसले मुटुरोग, मस्तिष्कघात, मिर्गौलामा समस्या तथा दृष्टि कमजोर हुने जस्ता गम्भीर समस्या निम्त्याउन सकछ ।
नेपालमा वयस्क ४ जना मानिसमध्ये १ जनामा उच्च रक्तचापका बिरामी पाइने गरेको तथ्यांक रहेको छ । उच्च रक्तचाप भएका ८० प्रतिशत मानिसलाई कुनै लक्षण नदेखिँदा समस्या भयावह रहेको चिकित्सकहरू बताउँछन् । कति मानिसमा उच्च रक्तचाप रहेको छ वा यसका कारण कति मानिसको ज्यान गयो भन्ने तथ्यांक भने पाउन मुस्किल रहेको छ । किनभने अधिकांश मानिसमा यसको समस्या रहेको बताउने गरिएको छ ।
कुनै बेला सहरमा बसोबास गर्ने मानिसमा मात्रै उच्च रक्तचापको समस्या हुने गरेको बताउने गरे पनि अहिले सहर वा गाउँ दुवैतिर यसको समस्या देखिन थालेको छ । साइलेन्ट किलर भएकाले कसलाई उच्च रक्तचाप रहेको छ भन्ने नजाँचेसम्म थाहा नहुने तर, भित्रि रूपमा मष्तिस्क, मुटु तथा मिर्गाैलामा असर गरिरहेको हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । नसर्ने रोग भए पनि विश्वमा मृत्युदर बढाउने रोग उच्च रक्तचाप रहेको पाइन्छ ।
नेपालमा सहरीकरण, अस्वस्थ खानपान, तनाव, मदिरा तथा धूमपानको सेवन, शारीरिक श्रमको कमी र मोटोपनका कारण उच्च रक्तचापका बिरामी बढ्दै गएको पाइन्छ । पछिल्ला वर्षमा युवापुस्तामा समेत यो समस्या बढ्न थालेको छ । धेरै नुनिलो तथा चिल्लो खाना खाने बानी, जंक फुडको अत्यधिक प्रयोग, पर्याप्त निद्रा नहुनु र नियमित स्वास्थ्य परीक्षण नगर्नु उच्च रक्तचापको प्रमुख कारण मानिन्छ ।
उच्च रक्तचाप नियन्त्रणका लागि स्वस्थ जीवनशैली, नुन कम खाने, अम्मलहरू जस्तै धूमपान र मध्यपान नगर्ने, दैनिक आधा घण्टा पसिना आउने गरी कसरत गर्ने, रातो मासु नखाने तथा बजारमा पाइने तयारी खानेकुरा अर्थात जंकफुड नखाने उपाय हुन् । यस्तै तनाव व्यवस्थापन गर्नु र समय–समयमा रक्तचाप परीक्षण गर्नु आवश्यक हुन्छ । चिकित्सकको सल्लाहबिना औषधि सेवन रोक्नु पनि जोखिमपूर्ण हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करोडौँ मानिस उच्च रक्तचापबाट प्रभावित छन्, तर धेरैलाई आफूलाई उच्च रक्तचाप भएको जानकारी नै छैन । त्यसैले विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतना फैलाउने, नियमित परीक्षण गर्ने र स्वस्थ जीवनशैली अपनाउने सन्देश दिइँदै आएको छ ।
०००
उच्च रक्तचापको कारण जीवनशैली : डा.अनिल भट्टराई, मुटुरोग विशेषज्ञ
शारीरिक व्यायामको कमी र जीवनशैलीमा आएको परिवर्तन नै उच्च रक्तचापको कारण हो ।

पछिल्ला समय विश्वभरका मान्छे उच्च रक्तचापबाट प्रभावित छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । यसको कारण यहि हो भन्ने हुँदैन । खासगरी उमेर बढदै गएपछि, ४० वर्ष पार भएपछि उच्च रक्तचापको समस्या प्रायः देखिने गर्छ । अध्ययनअनुसार नेपालमा २५ देखि ३० प्रतिशत मान्छेमा उच्च रक्तचाप रहेको पाइन्छ ।
त्यसका अलावा यो एक प्रकारको वंशाणुगत रोग पनि हो । उच्च रक्तचाप अरू रोगका कारण पनि हुन सक्छ । जस्तो मुटुरोगका कारण, ग्रन्थीसम्बन्धी रोगका कारण पनि उच्च रक्तचाप हुन सक्छ । उच्च रक्तचाप हुने भनको मध्यपान, धूमपान गर्नेहरूमा बढी देखा पर्छ । अर्को भनेको शारीरिक व्यायाम नगर्ने, शारीरिक बल पर्ने काम नगर्नेमा पनि यो देखिने गरेको छ । यसका लागि नियमित शारीरिक व्यायाम महत्वपूर्ण हुन्छ । शारीरिक बलको काम नगर्ने, मोटो र अल्छी मान्छेमा यो बढी देखा पर्छ ।
उच्च रक्तचाप बनाउन कोलेस्ट्रोल बढी भएकालाई पनि सहयोग गर्छ । त्यसैले यसमा खानपान र जीवनशैली पनि जोडिन्छ । यो मुटुसँग सम्बन्धित नै पर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि स्वस्थ जीवनशैली अपनाउने, नुन कम खाने, धूमपान र मद्यपान नगर्ने, दैनिक कम्तिमा आधा घण्टा पसिना आउने गरी कसरत गर्ने, मासु नखाने तथा बजारमा पाइने तयारी खानेकुरा अर्थात जंक फुड नखाने । यसैगरी तनाव व्यवस्थापन र समय–समयमा रक्तचाप परीक्षण गर्नुपर्छ ।
धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिमा तौल बढी हुने गरेको पाइन्छ । तौल घटाउँदा रक्तचाप पनि घट्ने भएकाले सन्तुलित आहार र नियमित शारीरिक गतिविधिमा ध्यान दिन आवश्यक हुन्छ । तौल घटाउने मुख्य सिद्धान्त भनेको कम क्यालोरी सेवन गर्नुपर्छ । त्यसका लागि जंक फुड त्याग्ने, दैनिक हिँडडुल गर्ने र सक्रिय जीवनशैली अपनाउने बानी बसाल्नुपर्छ । पछिल्ला दिनमा मान्छे राती अबेर सुत्ने बिहान अबेर उठ्ने गरेको पाइन्छ । यसले पनि रक्तचाप बढाउन सहयोग गर्छ । शारीरिक व्यायामको कमी र जीवनशैलीमा आएको परिवर्तन नै उच्च रक्तचापको कारण हो ।
अहिलेको मान्छे हलो कोदालो गर्दैन । ५ मिनेटको बाटो पनि पैदल हिँड्दैन । उकालो ओरालो गर्दैन । गाडी चड्ने, काम कम्प्युटरमा बसेर गर्ने गरेको पाइन्छ । यस्तै पहिलेका मान्छेको जस्तो स्वस्थ खाना छैन । सबै तयारी वा जंकफुड खाने गरेको पाइन्छ । यी सबै कारणले अहिलेका मान्छेमा उच्च रक्तचापको समस्या देखिने गरेको छ । यसका लागि जीवनशैली ठिक ढंगले चलाउनुपर्छ ।
प्रतिक्रिया