मनसुनका बेला महामारीको डर यस्तो बेला कस्तो खाना खाने ?

यतिबेला मुलुकमा मनसुन सक्रिय भएको छ । छिनमा पानी पर्ने र छिनमै प्रचण्ड घाम लागेर बढ्ने हपहपी गर्मीले सबैलाई सास्ती दिएको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटो पनि कम छैन । यस्तो बेला स्वास्थ्य बिग्रिने अर्को जोखिमपूर्ण पाटो हो । विगतलाई स्मरण गर्ने हो भने, हरेक वर्षायाममा अनेक रोग र महामारी फैलिने गरेको छ । कहिलेकाहीँ ती महामारी मान्छेको नियन्त्रण बाहिर गएर निम्त्याएको क्षति कम दुःखद् छैन । यस्तो बेला अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि त्यतिकै बढेको विभिन्न तथ्यांकले देखाउँछन् ।

वर्षायाममा जताततै पानी नै पानी हुन्छ जुन कैयौँ किटाणुको प्रश्रय स्थल पनि हो । यस्तो अवस्थामा डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोगका किटाणुले टाउको उठाउँछन् । मुख्य कुरा वर्षाद्को समयमा खानेपानीका मुहान प्रदूषित हुन्छन् । पिउने पानी स्वस्थ नभए आधाभन्दा बढी रोग लाग्ने गर्छन् । वर्षायाममा हुने उच्च आद्र्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमता स्वात्तै घटाउने गर्छ । यस्तो बेला शरीर सतप्रतिशत तन्दुरुस्त हँुदैन । त्यसैले रोगका किटाणुले मानिसको रोग प्रतिरोधात्मक शक्तिलाई परास्त गर्छन् । त्यसैले यस्तो बेला खानपिन र जीवनशैलीमा थप ध्यान दिनुपर्ने हुन्छ ।

वर्षायाममा अरूबेलाभन्दा रोगले बढी सताउने गर्छ । चर्को गर्मीले पसिना आउने, डिहाइड्रेसनको समस्या, उकुसमुकुस, अल्छीपन, आलस्यताको समस्या धेरै देखिन्छ । यहीबेला रुखाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउने गर्छ । त्यसैले यस मौसममा खानपानमा विशेष ध्यान पु¥याउनुपर्छ । सकेसम्म ताजा खानेकुरा खानुपर्छ, बासी खानेकुराबाट टाढै रहेको उत्तम हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ ।

हामीले आफ्नो जीवनशैली र खानपानमा ख्याल गर्दा कैयौँ रोगबाट बच्न सकिन्छ । खानपिन मान्छेका लागि नभइ नहुने कुरा हो । तर, त्यही खानपिन मानव शरीरका लागि बचाउने भन्दा अनेक समस्या ल्याउन प्रकारको भयो भने, त्यो झनै दुःखद् हुन्छ । त्यसैले हामीले समय, अवस्था, आफ्नो स्वास्थ्य हेरेर खानपिन गर्नु स्वस्थ्य जीवनका लागि उचित हुनेछ । यसमा प्रश्न उठ्न सक्छ कस्तो खाना खाने त ? कस्तो खानाले स्वास्थ्य बिग्रन दिँदैन ? यसबारेमा जान्नु राम्रो हुनेछ ।

०००

वर्षाका बेला कस्ता खाना खाने ?

हामीले भ्याए र सकेसम्म अन्नको साथै फलफूल खानु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । फलफूलमा आँप, स्याउ, अनार, अम्बा, नासपाती पोषणका भण्डार हुन् । तर, यी फलफूल राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । आँप धेरै खाँदा पखाला, मासी पर्ने हुँदा विचार गर्नुपर्ने विज्ञ बताउँछन् । यो बेला अंगुरबाट टाढै रहेको राम्रो । अंगुरको बाहिरी भाग पचाउन शरीरलाई गाह्रो हुन्छ । खरबुजा पनि वर्षायाममा खासै राम्रो मानिँदैन । साथै फलफूलको जुस बनाएर पनि खान सकिन्छ तर धेरै खानु भने हुँदैन । धेरै फलफूलको जुस पिउँदा पखाला लाग्ने सम्भावना हुन्छ ।

वर्षायाममा काउली, भन्टा, केराउ, गोलभेँडा, हरियो सागपात, बोडी, फर्सी, फर्सीको मुन्टा खानु राम्रो हुन्छ । यी तरकारीमा भिटामिन, मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । यस मौसममा मसालेदार खानेकुरालाई कम गर्नुपर्छ । किनकि बढी मसला खाँदा शरीरको तापक्रम र रक्तसञ्चार बढ्न सक्छ । त्यस्तै नुन पनि यो मौसममा कम खानु राम्रो मानिन्छ । बढी नुनिलो खाँदा शरीरको पानी सुक्ने भएकाले यसको सेवन कम गर्नुपर्छ । तरकारी पकाउँदा राम्ररी पखाल्ने र पाकेको केही समयमै खाँदा लाभदायक हुन्छ । तरकारी सकेसम्म ताजा खानुपर्छ । त्यसमा भएको मिनरल्स नष्ट हुन पाउँदैन । जसले शरीरलाई तन्दुरुस्त र रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।

हाम्रो शरीरका लागि प्रोटिन पनि आवश्यक हुन्छ । वर्षायाममा शरीरमा प्रोटिनको मात्रा पूरा गर्नु पनि उत्तिकै जरुरी छ । त्यसैले दूध, दही, गेडागुडी, च्याउ, मासुजस्ता खानेकुरा प्रशस्त मात्रा खानुपर्छ । यी खानेकुराले शरीरलाई स्वस्थ र रोगसँग लड्ने क्षमता बढाउँछ । सबैजसो खानेकुरा फ्राइ गरेर नभई झोल वा ग्रेभी बनाएर खानु स्वास्थका लागि राम्रो हुन्छ । धेरै तेल मसला भएको खाना खानु हुँदैन ।

प्रोटिन खाएर मात्रै हुँदैन, प्रोटिनयुक्त खानेकुरा पचाउनका लागि फाइबरको पनि जरुरी हुन्छ । त्यसका लागि सलाद, एभोकाडो, स्याउ, काफल, केरा, सुन्तला, बदाम, ओखर, पेस्टा, बाबरी, सौफ, राजमा, सोयाबिन, दाल खान सकिन्छ । फाइबरयुक्त खानेकुराले पेट सफा राखेर कब्जियतको समस्याबाट पनि छुटकारा दिन्छ । यस्तै राम्रो फ्याट दिने घिउ, चिज, बटर पनि सन्तुलन मिलाएर वर्षायाममा खान सकिने विज्ञ बताउँछन् ।

००००

पानी

पानी शरीरका लागि महत्वपूर्ण चिज हो । वर्षायाम गर्मीको पनि समय भएकाले पानी प्रशस्त पिउनुपर्छ । यसबेला सादा पानी मात्र सेवन गर्न मन नलागे जीवनजल मिसाएर पनि खान सकिने विज्ञ बताउँछन् । पानीलाई सकेसम्म उमालेर वा फिल्टर गरेर पिउनुपर्छ । किनकि वर्षाको समयमा ढल फुट्ने, खानेपानीको पाइपमा ढल मिसिने जोखिम हुन्छ । जसको सिधा असर पिउने पानीमा पर्छ । त्यसैले पानी उमालेर सेलाएर पिउने, फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । बाहिर निस्कँदा झोलामा पानी बोकेर हिँडे अझ राम्रो हुन्छ ।

यस्तै शरीरलाई चाहिने पोषण पूरा गर्ने काममा तरकारीको भूमिका महत्वपूर्ण हुन्छ । सधैँभर धेरै तरकारी खानुपर्छ भनेर सिकाइने गरिन्छ, तर वर्षायाममा ध्यान नपुराई खाँदा उल्टो हानि गर्न सक्छ । प्रायः सबै तरकारी खाँदा राम्रो हुन्छ, तर काउली, भिन्डी र केराउजस्ता तरकारीचाहिँ कम खानुपर्छ । टमाटर पनि कम खानु राम्रो हुने चिकित्सक बताउँछन् । वर्षायाममा सकेसम्म कम मसालेदार खाना स्वास्थ्यवद्र्धक मानिन्छ ।

मासु खानु राम्रो मानिए पनि पाचन गर्न शरीरलाई अलि धेरै समय लाग्ने भएकोले वर्षायाममा मासु कम खानु राम्रो हुन्छ । शरीरको पाचन क्षमता स्वाट्टै घटेको बेला शरीरलाई थप भार नदिन माछा मासु कम गर्नुपर्छ । तेल प्रयोग गर्दा हल्का जस्तै भटमासको तेल, सूर्यमुखीको तेल प्रयोग गर्नु राम्रो हुन्छ । तोरीको तेल फाइदाजनक भए पनि यो मौसममा राम्रो मानिँदैन ।

प्रायः मानिसको दिनचर्या बिहानीको चिया/कफीबाट सुरु हुन्छ । वर्षायाममा हर्बल चिया सकेसम्म धेरै पिउनु राम्रो मानिन्छ । यसमा एन्टी ब्याकेटेरयिल गुण धेरै हुने गर्छ । अदुवा, मरिच, पुदिना, मह जस्ता चिज प्राकृतिक एन्टी बायोटिक हुन् । यस्ता चिज चियामा मात्र होइन, तरकारी, अचारमा धेरैभन्दा धेरै मिसाए रोग संक्रमणको खतराबाट बच्न सकिन्छ ।

यसैगरी बाहिरका र बासी खाना खानु हुँदैन । गर्मीका बेला खान छिट्टै बिग्रने भएकाले बासी र बाहिर होटलका खाना राम्रो मानिँदैन । हामीले मौसमअनुसार आफ्ना खानपान र जीवन शैलीलाई ठिक राख्न सक्यौँ भने, स्वास्थ्यका कारण धेरै समस्या झेल्नु पर्दैन ।

००००

काँचो कचिलो खानु हुँदैन : डा.उमा कोइराला, पोषणविद्

डा.उमा कोइराला, पोषणविद्

गर्मीका बेला रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ । संक्रमण, पाचन प्रणालीको कमजोरी र पानीजन्य रोगहरूको जोखिम उच्च हुने भएकाले सन्तुलित, ताजा र सुपाच्य खानपान शैली अपनाउनु पर्छ ।

वर्षातका बेला अरूबेला भन्दा खानपानमा ख्याल गर्नुपर्छ । सकेसम्म धेरै बाहिरको खाना नखानु राम्रो मानिन्छ । तर, कति सम्भव होला ! त्यो आफ्नै ठाउँमा छ । घरबाहिर काम गर्नेका लागि बाहिरको खाना बाध्यता होला । बाहिर खानै पर्दा पनि घरमा बनाएको खानु राम्रो हुन्छ । अहिले वर्षात र गर्मी निकै हुने भएकाले यस्तो बेला भने सबैले खानपानमा ध्यान दिनुपर्छ । नत्र जोखिम उत्पन्न हुन सक्छ । खाने कुरा पनि राम्रोसँग पकाएर खानुपर्छ । काँच्चो कचिलो खानु हुँदैन ।

गर्मीको बेला खानेकुरा छिट्टै बिग्रन्छ । त्यसैले पकाएको लामो समय भएको बासी खाना खानु हुँदैन । खानपानले स्वास्थ्यमा ठुलो असर पु¥याउने भएकाले सचेत हुन आवश्यक छ । खाना मात्रै होइन, गर्मीका बेला शरीरलाई पानीको धेरै आवश्यकता हुन्छ । तर, पानी कस्तो प्रयोग गर्ने भन्ने बारेमा पनि ध्यान दिनुपर्छ । गर्मीका बेला वर्षात् धेरै हुने भएकाले पानीको मुहान दूषित भएको हुन सक्छ । त्यसैले पिउने पानीका बारेमा अझ बढी ध्यान दिनुपर्छ । उमालेको पानी पिउनुपर्छ ।

यस्तै यो बेला खाने कुरामा हल्ला खाना रोज्नुपर्छ । भारी खाना पचाउन गाह्रो हुन्छ । वर्षाका बेला तापक्रम पनि बढी हुने र शरीरको तापक्रम पनि बढी हुँदा पसिना आइरहेको हुन्छ । त्यसले गर्दा पाचन प्रक्रियालाई लोड पर्छ । त्यसैले यो बेला सकेसम्म कम र हलुका खाना खानु राम्रो हुन्छ । यसका साथै धेरै अमलीय पदार्थ खानु हुँदैन । धेरै अमिलो खानु भएन । ताजा कागती, ताजा दही खानु राम्रो हुन्छ ।

यो मौसममा बढी रोगका संक्रमणहरू देखिने भएकाले पनि खानपानमा ख्याल गर्नुपर्छ । बाटोमा राखेका खानेकुरा जस्तै चटपटे, पानीपुरी, समोसा, पकोडा, मःम खानु हुँदैन । मनसुनमा जहाँतही किटाणु हुने भएकोले बजारिया खानेकुरा कम गर्नुपर्छ । अन्य समयमा भन्दा वर्षात्मा रोगले बढी सताउँछ । यस समयमा रुघाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउने गर्दछ । त्यसैले यस मौसममा खानपानमा विशेष ध्यान दिई सकेसम्म ताजा खानेकुरा खानुपर्ने तथा बासी खानेकुराबाट टाढा रहनुपर्छ ।
गर्मीका बेला रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ । संक्रमण, पाचन प्रणालीको कमजोरी र पानीजन्य रोगहरूको जोखिम उच्च हुने भएकाले सन्तुलित, ताजा र सुपाच्य खानपान शैली अपनाउनु पर्छ ।

यस मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र पेटलाई स्वस्थ राख्ने खानेकुरामा जोड दिनु आवश्यक छ । यो मौसममा खाने कुरामा मात्रै ख्याल गरियो भने पनि स्वास्थ्यमा असर पुग्दैन ।
अझ वर्षात्का बेला बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको खानपिनमा बढी ध्यान दिनुपर्छ । हामीले बर्सेनि यो मौसमा अनेक प्रकारका स्वास्थ्य महामारीको सामना गर्नुपरेको छ । विगतको स्मरण गर्दै यस्ता समस्याबाट बचियो भने, विपत्को जोखिम बेहोर्नु पर्दैन ।

प्रतिक्रिया