‘मृत्युमार्ग’ बन्दै कर्णाली राजमार्ग

काठमाडौँ । एउटा राजमार्ग— जहाँ हालसम्म सयौँ यात्रुले अनाहकमा ज्यान गुमाए । गन्तव्यमा पुग्नै नपाई आधा बाटोमै ज्यान गुमाएका उनीहरूको मृत्युको दोष कसले लियो ? त्यही राजमार्गबाहेक कसैले पनि आजसम्म ती नागरिकको मृत्युको जिम्मा लिएका छैनन् । २०६३ चैतमा आंशिक रूपमा सुरु भएको कर्णाली राजमार्गले यो २० वर्षको अवधिमा कतिको ज्यान लियो, कुनै लेखाजोखा छैन । कर्णालीको ‘समृद्धिको ढोका’का रूपमा हेरिएको यो राजमार्गले वास्तविकतामा भने ‘मृत्युमार्ग’को उपमा पाएको छ ।

गत बिहीबार फेरि यो राजमार्गमा अर्को कहालीलाग्दो घटना दोहोरियो । सुर्खेतबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ख१०५५ नम्बरको मिनिबस (फोर्स गाडी) दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित राजमार्गबाट कर्णाली नदीमा खस्यो । त्यसपछि उद्धारका लागि करिब १०० जना प्रहरी र सशस्त्र प्रहरीका ६ जना गोताखोर पनि खटाइयो । तर, अहिलेसम्म उक्त दुर्घटनाग्रस्त गाडी भेटिएको छैन । उक्त दुर्घटनामा परी ज्यान गुमाएका २ जनाको शव भेटिए पनि त्यसमा सवार यात्रुको यकिन विवरण अहिलेसम्म आउन सकेको छैन । तर, बाटोकै कारण दुर्घटना भएको भन्ने विषयमा कसैको दुईमत छैन ।

२०४२ सालमा सर्वे भएको उक्त सडकखण्ड २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरे पनि सशस्त्र द्वन्द्व र बजेट अभावमा कछुवा गतिमा काम भयो । यहाँ सडक बनाउन निकै सकस भएपछि नेपाली सेनालाई ट्र्याक खोल्ने जिम्मा दिइयो र शिलान्यासको १५ वर्षपछि सेनाले ट्र्याक खोल्ने काम सकेपछि ३० चैत, २०६३ मा यसलाई राजमार्ग घोषणा गर्दै सडक खुला गरियो । पछि सरकारले विश्व बैंकको सहयोगमा सुर्खेतबाट खिड्की ज्युलासम्म १२६ र खिड्की ज्युलादेखि जुम्लासम्म १०७ किलोमिटर सडकमा कालोपत्र गर्यो । तर, सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर जुम्लासम्म पुग्ने २३३ किलोमिटरको यस राजमार्गको उपादेयता आजसम्म पुष्टि हुन सकेको छैन ।

कर्णालीवासीको ‘समृद्धि सपना’ २०६३ सालमा पूरा हुनै लाग्दा कर्णालीको जीवनरेखा भनेर नेताहरूले गाउँगाउँमा भाषण गरे, त्यसैलाई देखाएर भोट मागे, जनताको भोट लिएर नेताहरू सांसद र मन्त्री पनि बने । तर, अहिले त्यही जीवनरेखा ‘मृत्युरेखा’ बन्दै गर्दा तैँ चुप मै चुपको अवस्था छ । कुनै बेला यही सडकको नाममा दर्जनौँ हर्षका गीत गुन्जिने कर्णालीमा अहिले वियोगका गीत सुनिन्छन् ।

चुनावी एजेन्डामा सीमित राजमार्ग

२०४८ यताका हरेक चुनावमा दलहरूका चुनावी एजेन्डा बन्ने यो राजमार्ग ३५ वर्षसम्म भोट माग्ने माध्यम मात्र बनेको देखिन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका अधिकांश उम्मेदवारको एजेन्डा बन्छ— कर्णाली राजमार्ग । तर, चुनाव जितेपछि भने उनीहरू आफूले चुनावताका गरेका बाचा बिर्सन्छन् । कर्णाली राजमार्ग भएर आफ्नो निर्वाचन क्षेत्र ओहोरदोहोर गर्ने तिनै जनप्रतिनिधिलाई पनि बाटो सुधार गर्नुपर्छ भन्ने लागेको छैन । २०४८ यता यहाँबाट दर्जनौँ व्यक्ति सांसद र मन्त्री हुँदै सत्तामा पुगे । संघीयतापछि कर्णालीको समृद्धिको अभिभारा प्रदेश सरकारमा गयो । तर, दलका दर्जनौँ मन्त्री र ४ थान मुख्यमन्त्री पाउनु नै कर्णालीको उपलब्धि भएको छ । संघीय अधिकारक्षेत्रको सडक भन्दै प्रदेश सरकारले सडकको सुधार नगर्ने, संघमा प्रतिपक्षमा भएका बेला राजमार्गको दयनीय अवस्थाप्रति प्रश्न उठाउने, तर सत्तामा पुगेपछि आफ्नै प्रश्न बिर्सिने प्रवृत्तिले कर्णाली राजमार्गमा नागरिक जीवन हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् ।

०००

कहालीलाग्दो दुर्घटना ग्राफ, प्रदेशभरको दुर्घटनामा कर्णाली राजमार्ग एक्लैको हिस्सा दुईतिहाइ


कर्णाली राजमार्ग सुरु भएयता यस सडकखण्डमा दुर्घटनाका कारण कति नागरिकले ज्यान गुमाए भन्ने यकिन तथ्यांक सरकारी निकायहरूसँगै छैन । तर, विगत २० वर्षमा हजारौँ दुर्घटनामा करिब ३ हजार नागरिकले ज्यान गुमाएको हुन सक्ने बताइन्छ ।

संघीयतापछिको दस्तावेजीकरण हेर्ने हो भने कर्णाली प्रदेशमा हुने सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी यही राजमार्गका छन् । अहिले पनि यस राजमार्ग भएर यात्रा गर्ने जोकोही जीवन दाउमा राखेर यात्रा गर्न बाध्य छन् । राजमार्गको सुर्खेत खण्डमा सबैभन्दा बढी दुर्घटना हुने गरेको देखिन्छ । जहाँ विगत ५ वर्षमा करिब २०० जनाको ज्यान गइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को असार २२ सम्म थप ३७ जनाले सुर्खेत खण्डमा मात्रै ज्यान गुमाएका छन् ।

२०७६ यतामात्र राजमार्गको यस खण्डमा २ हजार ४८४ सवारी दुर्घटना हुँदा २२३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, राजमार्गको कालीकोट खण्डमा २३२ दुर्घटनामा ६९ जनाले ज्यान गुमाएका छन् भने दैलेख खण्डमा भएका ३४२ दुर्घटनामा ९२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । त्यस्तै, जुम्ला खण्डमा २०६ दुर्घटनामा ४७ जनाले ज्यान गुमाएको देखिन्छ । यसरी कर्णाली राजमार्गमा विगत ५ वर्षयता मात्रै भएका ३ हजार २६४ सवारी दुर्घटनामा ४३१ जनाले ज्यान गुमाएका छन् ।

०००

राजमार्गको औचित्यमै प्रश्न

कर्णालीको विकासका लागि कर्णाली राजमार्गको आवश्यकता जति छ, यसको औचित्यमाथि त्यति नै प्रश्न पनि छ । यो राजमार्ग जहाँ र जसरी निर्माण भएको छ, यसबारे विगतदेखि नै प्रश्न उठ्दै आएको हो । एक त पहाडी भूभाग, त्यसमाथि राजमार्गको नाममा मात्र एक लेनको सडक । त्यसबेला यो सडक निर्माण (ट्र्याक) खोल्दै गर्दा यसलाई राजमार्गको अवधारणमा ल्याइएकै थिएन । २०६१ सालतिर सेनाले ट्र्याक खोलेर जिम्मा दिएपछि तत्कालीन सरकारले २०६३ सालमा अकस्मात् राष्ट्रिय राजमार्ग घोषणा गर्यो । त्यसबेला उक्त सडक राजमार्गको कुनै पनि मापदण्डमा थिएन र अहिले पनि छैन ।

सडक निर्माण र त्यसबाट कर्णालीवासी लाभान्वित हुने सवालमा कुनै प्रश्न नभए पनि कर्णाली राजमार्ग जसरी बन्नुपर्ने थियो त्यसरी बन्यो त ? भनेर सार्वजनिक यातायात सुधार कार्यदलको संयोजकका रूपमा काम गरेका पूर्वसचिव शरदचन्द्र पौडेल प्रश्न गर्छन् । त्यसबेला राजनीतिक लाभका लागि सडकको शिलान्यास गर्ने मात्र होड चलेको, तर कालान्तरसम्म ती सडक सञ्चालन हुने÷नहुने र त्यसको फाइदाका बारेमा नहेरिँदाको परिणाम कर्णाली राजमार्ग भएको उनको बुझाइ छ । बजेट र अध्ययनको अभावजस्ता कारणले जुन ठाउँबाट राजमार्ग लानुपर्ने थियो, त्यहाँबाट नलगिएको उनी बताउँछन् । ‘हामीकहाँ सडक बनाउँदा त्यसको मापदण्ड र भविष्यको बारेमा विचार गर्ने बानी नभएकाले यस्ता राजमार्गहरू थपिँदै जान सक्छन् । यसमा विचार पुर्याउन जरुरी छ,’ उनले भने ।

यसै सन्दर्भमा उक्त राजमार्गको गुणस्तर र मापदण्डबारे छानबिन गर्न मंगलबार संसद्मै माग उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेशकुमार सापकोटाले कर्णाली राजमार्ग निर्माणको गुणस्तर र मापदण्डबारे छानबिन गर्न सरकारसँग माग गर्दै उक्त राजमार्ग आवश्यक थियो ? भन्ने बहससमेत उठाए । उनले भनेका थिए, ‘के यो राजमार्ग बनाउन लायकको थियो ? यदि यो राजमार्ग मापदण्डअनुसार छैन भने तत्कालीन सरकारको पालामा राजमार्ग बनाउने इन्जिनियर, ठेकेदारहरूलाई पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

०००

साँघुरो सडकमा ट्राफिक नियमविपरीत हुइँकिन्छन् गाडी

साँघुरो र अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेका छन् । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको १६८ किलोमिटरमा १५ स्थानमा पहिरोको जोखिम छ । दहीखोला, गगनेखोला, एसमोड, हुल्म, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा बर्सेनि पहिरोको बढी जोखिम छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले सडकको अवस्था दयनीय भए पनि चालकहरूको लापरबाहीका कारण यस सडकखण्डमा बढी दुर्घटना हुने गरेको बताउँछन् । ‘कर्णाली राजमार्गमा हुने गरेका सडक दुर्घटनालाई हेर्ने हो भने सडकको अवस्थाबाहेक मुख्यतः ट्राफिक नियम पालना नगरेरै हो । ओभरलोड, गाडी चलाउँदा मोबाइलको प्रयोग र यात्रुसँग अनावश्यक गफकै कारण दुर्घटना परेको हामीले पाएका छौँ,’ काफ्लेले भने ।

यातायात व्यवसायीहरू यस राजमार्गमा दुर्घटना कम गर्न सडक चौडा बनउनु नै पहिलो आवश्यकता भएको बताउँछन् भने प्रदेश प्रहरी कार्यालय यात्रु र चालकले ट्राफिक नियम पालना मात्र गरिदिए पनि दुर्घटनामा कमी आउने बताउँछ । साँघुरो बाटो, त्यसमाथि वर्षौँसम्म मर्मतसम्भारको अभाव । त्यसमाथि चालकको लापरबाहीजस्ता कारणले कर्णाली राजमार्ग ‘डेथ रोड’ बन्दै गएको छ ।

अधिकांश पहाडी भूभागमा रहेको यस राजमार्गमा सवारीसाधनहरू सुरक्षाभन्दा पनि कमाउने मानसिकतामा बढी देखिन्छन् । डरलाग्दो सडकमा थोत्रा गाडीमा यात्रु कोचेर हिँडेको देख्नु यो राजमार्गको सामान्य विषय नै बनिसकेको छ । तर, जोखिम मोलेरै भए पनि यात्रा गर्नुपर्ने बाध्यतामा कर्णालीवासी छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम राज्यको लापरबाहीकै कारण सवारी दुर्घटना बढेको आरोप लगाउँछन् । भएको कानुनी व्यवस्था कार्यान्वयन गरिदिने हो दुर्घटना ७० प्रतिशतसम्मले घट्ने उनको दाबी छ ।

‘कर्णाली राजमार्गमा सरकारले बनाउनुपर्ने सुरक्षाका आधारभूत संरचनाहरू राखेको छैन । त्यसैले यस सडकखण्डलाई राजमार्ग भन्नै सुहाउँदैन,’ उनी भन्छन्, ‘कुन सडकमा कस्तो र कत्रो सवारीका लागि अनुमति दिने भन्ने कानुनी व्यवस्था बेवास्ता गरेर आँखा चिम्लिदिँदा दुर्घटना बढेको छ । यदि भएका कानुनको उचित कार्यान्वयन गर्ने हो भने हामी यातायात व्यवसायी नै बढी लाभान्वित हुने थियौँ ।’

सुरुमा त राजमार्ग बनाउने भनेर त्यहाँको ट्र्याक खोलिएकै थिएन, पछि राजनीतिक लाभका लागि त्यसै राजमार्ग घोषणा गरियो । अर्को कुरा बजेट र अध्ययनको अभावजस्ता कारण त्यो राजमार्ग जुन ठाउँबाट लानुपर्ने थियो, त्यहाँबाट लगिएन, जसले गर्दा साँघुरो र जोखिमयुक्त सडक बन्यो । हामीकहाँ सडक बनाउँदा त्यसको मापदण्ड र भविष्यबारे विचार गर्ने बानी नभएकाले कर्णालीजस्ता राजमार्ग थपिँदै जान सक्छन् । यसमा विचार पुर्याउन जरुरी छ । – शरदचन्द्र पौडेल, पूर्वसचिव

०००

कर्णाली राजमार्गमा हुने गरेका सडक दुर्घटना हेर्ने हो भने सडकको अवस्थाबाहेक मुख्यतः ट्राफिक नियम पालना नगरेरै हो । ओभरलोड, गाडी चलाउँदा मोबाइलको प्रयोग र यात्रुसँग अनावश्यक गफकै कारण बढी दुर्घटना भएको हामीले पाएका छौँ । – अविनारायण काफ्ले, प्रवक्ता, नेपाल प्रहरी

०००

कर्णाली राजमार्गमा सरकारले बनाउनुपर्ने सुरक्षाका आधारभूत संरचनाहरू राखेको छैन । त्यसैले यस सडकखण्डलाई राजमार्ग भन्नै सुहाउँदैन । दुर्घटनाको सवालमा सबैभन्दा ठुलो कमजोरी राज्यकै छ । कुन सडकमा कस्तो र कत्रो सवारीलाई अनुमति दिने भन्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गरेर आँखा चिम्लिदिँदा दुर्घटना बढेको छ । – डेकनाथ गौतम, महासचिव, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

प्रतिक्रिया