मेची इन्डस्ट्रिज र भारतको लक्ष्मी एन फ्याबबीच उत्पादन क्षमता बढाउने सम्झौता

काठमाडौं । नेपालको एएसी ब्लक उत्पादन क्षेत्रमा नयाँ कोसेढुंगा थपिएको छ । नेपालको अग्रणी एएसी ब्लक उत्पादक कम्पनी मेची इन्डस्ट्रिज लिमिटेड र भारतको प्रतिष्ठित प्रविधि प्रदायक कम्पनी लक्ष्मी एन फ्याब प्राइभेट लिमिटेड बीच उत्पादन क्षमता अभिवृद्धिका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता बमोजिम मेची इन्डस्ट्रिजले आफ्नो उत्पादन क्षमतामा प्रतिमहिना ५,००० क्युबिक मिटर एएसी ब्लकको थप उत्पादन गर्ने निर्णय गरेको छ ।

क्षमता अभिवृद्धिसँगै कम्पनीले आफ्नो उत्पादनको दायरा विस्तार गर्ने दीर्घकालीन रणनीति अनुरूप मोटर एडेसिभ, रेडीमिक्स प्लास्टर, टायल एडेसिभ र वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरणहरू खरिद गर्ने निर्णय गरी सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौता समेत सम्पन्न गरिसकेको छ ।

यो साझेदारीले दिगो विकास, अत्याधुनिक प्रविधि र निर्माण क्षेत्रमा बलियो उत्पादन क्षमताको साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै नेपाल र भारतबीचको औद्योगिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

यसैबीच, मेची इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सुदृढ बनाउँदै तीनवटा महत्वपूर्ण विधामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्रमाणपत्रहरू हासिल गरेको छ । झापाको दमक नगरपालिका– ४ मा उद्योग रहेको यस कम्पनीले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली, आईएसओ १४००१ः२०१५ वातावरणीय व्यवस्थापन प्रणाली र आईएसओ ४५००१ः२०१८ व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो ।

कम्पनीका अध्यक्ष पवन घिमिरेका अनुसार यो उपलब्धिले कम्पनीको उत्पादकत्वमा गुणस्तर, संस्थागत सुशासन, वातावरणीय जिम्मेवारी र कर्मचारीको स्वास्थ्य एवं सुरक्षाका लागि सुरक्षित कार्य वातावरणप्रतिको प्रतिबद्धतालाई थप विश्वव्यापी मान्यताका साथ प्रमाणित गरेको छ ।

साथै, मेची इन्डस्ट्रिज आगामी दिनहरूमा पनि निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन र गुणस्तरीय उत्पादन मार्फत राष्ट्रिय औद्योगिक विकासमा योगदान पुर्‍याउने अग्रणी नेपाली उद्योगको रूपमा स्थापित हुन दृढ संकल्पित रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया