
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वसँग औपचारिक रूपमा पहिलो पटक संवाद गरेका छन् । बुधबार प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्री बालेन र व्यवसायीबीच मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धतासमेत जनाए ।
छलफलका क्रममा व्यवसायीहरूले पछिल्लो समय भइरहेको धरपकडका विषय पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए । व्यवसायीहरूको उक्त गुनासोप्रति प्रधानमन्त्रीले जबाफ दिँदै सरकार व्यवसायीकै पक्षमा भएको र देशको अर्थतन्त्र हाँक्ने उद्यमीमाथि कुनै अनुचित व्यवहार राज्यको तर्फबाट नहुने विश्वस्त पारेका थिए ।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवद्र्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझावसमेत प्रस्तुत गरेका थिए । प्रधानमन्त्री बालेनले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत् आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताउँदै आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे ।
निजी क्षेत्रसम्बद्ध उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवद्र्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबीचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया