जनतामा छाएको निराशा र सरकारको जिम्मेवारी

पाठकपत्र

रुषा थापा

सम्पादक ज्यू,

विगतको निर्वाचन सम्पन्न भई प्रतिनिधिसभा गठन भएको ४ महिना पूरा भएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राम्रो जनमत पायो र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा सरकार गठन भयो । निर्वाचनअघि रास्वपा र बालेनले उद्योगधन्दा खोल्ने, वैदेशिक रोजगारीको अन्त्य गर्ने, अर्थतन्त्र चलायमान बनाउने, सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने जस्ता थुप्रै लोभलाग्दा वाचाहरू गरेका थिए ।

तर, सरकार गठनपछिको ४ महिनामा परिणाम ठ्याक्कै उल्टो देखिएको छ । महँगी र बेरोजगारी झन् बढेको छ भने सरकार आफैँ ठुलो वैदेशिक ऋण लिन व्यस्त छ । सबैभन्दा गम्भीर र चिन्ताजनक कुरा त सरकार गठनअघि जनतामा जति उत्साह थियो, अहिले त्यति नै निराशा छाएको छ ।

पछिल्ला दिनहरूमा गरिबी, बेरोजगारी र आर्थिक मन्दीका कारण देशका विभिन्न स्थानमा नागरिकहरूले आत्मदाह गर्ने र प्रयास गर्ने जस्ता दुःखद् घटनाहरू ह्वात्तै बढेका छन् । गत बिहीबार राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आत्मदाह गरे, सोही दिन सर्लाहीमा एक युवकले प्रयास गरे भने शनिबार बुद्धनगरमा अर्का व्यवसायीले आत्मदाह गरे । यी घटनाले देशमा चरम निराशा व्याप्त छ भन्ने स्पष्ट पार्छ ।

हिजोका दिनमा जनताले बालेन र रास्वपाप्रति ठुलो विश्वास गरेका थिए । तर सत्तामा पुगेपछि उनीहरू पनि पुरानै प्रवृत्तिका देखिएका छन् । यति मात्र होइन, सरकार बिस्तारै निरंकुश बन्न खोज्दै छ र आफ्नो विरुद्ध बोल्नेका आवाज दबाउन थालेको छ । यसले हजारौँको बलिदानबाट आएको लोकतन्त्र र गणतन्त्रलाई नै संकटमा पार्ने देखिन्छ ।

सरकार जनताका पीडा देख्दैन, केवल विरोधका आवाज दबाउन खोज्छ । गृह मन्त्रालयले आत्मदाहको दोष स्थानीय तहमाथि थुपारेर पन्छिन खोज्नु गैरजिम्मेवारीपन हो । विगतमा ‘जेनजी आन्दोलन’ का क्रममा भएका क्षति र वर्तमान समयमा भइरहेका आत्मदाहहरूको नैतिक जिम्मेवारी वर्तमान सरकारले लिनै पर्छ ।

बालेन सरकारले सय दिनमा खासै काम गर्न नसके पनि सर्वसाधारणहरू अझै आश बोकेर चुपचाप बसेका छन् । तर यो मौनतालाई सरकारले कमजोरी ठानेर जनतामाथि विश्वासघात गरिरह्यो भने जनता सडकमा ओर्लन बाध्य हुनेछन् र विगतको भन्दा ठुलो आन्दोलन हुन सक्छ । सरकारले स्टन्टबाजी छोडेर कामतर्फ ध्यान दिनु जरुरी छ ।
‘हामीसँग सेना छ’ भनेर सरकार ढुक्क बस्नु हुन्न । इतिहास साक्षी छ, सेनाले सधैँ सरकारलाई बचाउन सक्दैन र सेना प्रयोग गरेर जनता दबाउँछु भन्नु सरकारको भ्रम मात्र हो । तसर्थ, सरकार समयमै सचेत बनोस् र नागरिकको जीवन रक्षाका लागि गम्भीर बनोस् ।

रुषा थापा

भक्तपुर

प्रतिक्रिया