कतिपयले ठुलो र अग्लो घर बनाउने तर पार्किङका लागि केही व्यवस्था नगर्ने गरेको देखिन्छ । जब यस्ता घरमालिकहरूले आफ्नो घर, फ्ल्याट र कोठा कार्यालय प्रयोजन वा अन्य प्रयोजनका लागि भाडामा दिन्छन्, उनीहरूले साझा रूपमा रहेको सडक–गल्ली वा छिमेकीको घरको वरिपरि र मूल गेटकै अगाडि पार्किङ गराउने गर्छन्

२५ असारमा मुगुका गणेश नेपाली र काठमाडौँ महानगरपालिकाका नगरप्रहरीबीच मोटरसाइकल पार्किङका विषयमा विवाद भयो । विवादका क्रममा भएको गलफत्तीका कारण केही समयपछि गणेश नेपालीले आफ्नै मोटरसाइकलबाट केही पेट्रोल झिकेर पार्किङभन्दा केही टाढा गई आफैँले आफ्नो शरीरमा आगो लगाई आत्महत्या गरे ।
यो घटना भइसकेपछि (गणेश नेपालीको मृत्युपछि) संघीय सरकार, काठमाडौँ महानगर र मृतक गणेशका परिवारबीच भएको क्षतिपूर्तिसम्बन्धी सहमतिलाई लिएर कतिपयले क्षुद्र टिप्पणी गरेको पनि सुनिन्छ । यस्ता टीका–टिप्पणी सार्वजनिक रूपमा चिया पसल एवं सडक–गल्लीहरूमा सुनिन्छ ।
झट्ट सुन्दा यो क्षुद्र र अति गैरजिम्मेवार टिप्पणी गरेजस्तो लाग्छ नै । तापनि मर्नेले जसरी मरे पनि त्यसपछि मृतकका परिवार र सरकार वा सम्बन्धित पक्षबीच हुने गरेको सहमतिले त्यही कुरा बताउने गरेको देखिन्छ । कुनै पनि (सामान्य वा जघन्य प्रकारका) घटनापछि सम्बन्धित व्यक्तिले आत्महत्या वा मृत्युवरण गरेपछि मृतकको परिवार र सरकार वा अर्को पक्षबीच हुने लेनदेनको सहमतिले मृतकका आफ्नी पत्नी, छोराछोरी वा परिवारका अन्य सदस्यहरूले क्षतिपूर्ति माग्ने गर्छन् । यसले कतिपय अवस्थामा वस्ताविक पीडितलाई राहत पनि पुगेको होला तर कतिपय अवस्थामा यसको दुरुपयोग पनि हुने गरेकोले यो एउटा गम्भीर समस्याको रूपमा देखा पर्दै गएको छ ।
सुरुमै भनियो, कुनै पनि मान्छेको त्यसरी ज्यान जानुलाई दुःखद् मान्नुपर्ने हुन्छ । त्यसैले गणेश नेपालीको उपचारका क्रममा ज्यान गएकोमा उनको आत्माले चीर शान्ति पाओस् भनेर कामना गर्दछु । तर जोकोहीले पनि देशको ऐन, कानुन, नियम, नीति, कार्यनीति आदिलाई मान्नु पर्दैन ? अझ मान्छेले सकेसम्म आफू स्वयंले पनि असल नागरिक हुने प्रयास गर्ने कि नगर्ने ? मेरो मुख्य चासो यसमा हो ।
किनभने, नेपालका कुनै पनि गाडी (कार, जिप, मोटरसाइकल, स्कुटर) आदिका धनीले जहाँ पायो त्यहीँ, पार्क गर्न निषेध गरिएको क्षेत्रहरू, अर्काको घर अगाडि, घरको ढोका अगाडि सडकको किनारमा, त्यो पनि विपरीत दिशातर्फ पार्क गर्न मिल्छ ? हामीले यस विषयमा पनि छलफल र बहस गर्नुपर्ने हुन्छ ।
म आफूचाहिँ कुनै पनि गाडी (कार, जिप, मोटरसाइकल, स्कुटर) आदिका धनीहरूले जहाँ पायो त्यहीँ, जस्तै पार्क गर्न निषेध गरिएको क्षेत्रहरू, अर्काको घर अगाडि, घरको ढोका अगाडि, सडकको किनारमा त्यो पनि विपरीत दिशातातर्फ पार्क गर्न दिनु हुँदैन भन्ने मानिस हुँ । तर मैले त्यसरी म बसेको घर अगाडि र घर वरपर गाडी (कार, जिप, मोटरसाइकल, स्कुटर) आदि पार्क गर्न नदिँदाखेरि गाडीका धनीहरूले ‘यो सडक (रोड) हो, तेरो बाबुको जग्गा हो र ? हो भने यहाँ घर बनाएर देखा त’ भन्दै आमचकारी गाली दिने, झगडा गर्ने र हातै हाल्न तम्सिनेसम्मको काम हुने गरेको छ ।
जबकि सडक (रोड) भनेको गाडी (कार, जिप, मोटरसाइकल, स्कुटर) पार्क गर्नलाई होइन, कुदाउन र गुडाउनलाई हो भन्ने थाहा नहुने ‘बरा–विचरा !’ उनीहरूकै ठुलो स्वर हुने गरेको छ । त्यतिले मात्रै नपुगेर ती गाडीका धनीहरूले ‘मैले कर तिरेको छु’ भन्न पनि भ्याउँछन् । तर फेरि पनि दोहो¥याएर भन्नुपर्दा उनीहरूले तिरेको कर जुन छ, त्यो जहाँ पायो त्यहीँ जस्तै पार्क गर्न निषेध गरिएको क्षेत्रहरूमा, अर्काको घरको अगाडि, घरको ढोका अगाडि, सडकको किनारको विपरीत दिशातातर्फ पार्क गर्नका लागि नभई सडकमा गुडाए वा कुदाएवापतका लागि हो ।
तथापि गणेश नेपालीको आत्महत्या प्रकरणपछि मौकामा चौका हान्दै नेकपा (एमाले), (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अरू राजनीतिक पार्टीहरू चाहिँ संसद्मा कहिल्यै नपाक्ने रोटी सेक्न खोज्दै छन् । अरू त अरू नै भइ गए, गत फागुन २१ मा भएको निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट पनि नजितेको र समानुपातिक मतमा देशभरिबाट १ सिट एवं कुल खसेको सदर मतको ३ प्रतिशत कटाउन नसकेर राष्ट्रिय पार्टी हुन नसकेका उपेन्द्र यादवले समेत हत्तपत्त वक्तव्य जारी गरे, गणेशको आत्महत्या प्रकरणमा ।
एवं प्रकारले काठमाडौँका साथै देशका अधिकांश ठाउँमा घर–जग्गा भएकाहरू, जो नक्कली सुकुमबासी भएर (साढे २–३ तले घरका मालिक) नेतागिरि गर्ने र तिनका नेता भएकाहरू र केही प्रचारका भोका मानिसहरूले युट्युबलगायत सामाजिक सञ्जालमा भाइरल हुने अवसरका रूपमा उपयोग गरे, गरिरहेका छन्, गणेश नेपालीले गरेको आत्महत्या प्रकरणलाई । अरू त अरू नै भइगए, यस मामिलामा नेपालका बुद्धिजीवी भन्नेहरूले समेत वास्तविक धरातलमा नउभिइकन जताभावी बोलेको र अन्तर्वार्ताहरू दिएको सुन्न, हेर्न र देख्न सकिन्छ ।
त्यसैले घटनाको सुरुआत हेर्दा र घटनाको प्रकृतिअनुसार सुरुमा जो मरेर गए तिनले अर्थात् गणेश नेपालीले नै पार्क गर्न निषेध गरिएको क्षेत्रमा आफ्नो मोटरसाइकल पार्क गरेको देखिन्छ, बुझिन्छ । अब त्यसरी गलत ठाउँमा पार्किङ गरिसकेपछि उनले (गणेश नेपालीले मात्रै नभएर जोकोहीले) कानुनअनुसार जरिमाना तिर्ने कि नतिर्ने ? यस विषयमा पनि बहस र छलफल गर्नुपर्ने हुन्छ । खासमा राहदानी विभागमा काम लिएर जाने जोकोही सेवाग्राहीको सवारी साधन (कार, जिप, मोटरसाइकल, स्कुटर) आदि पार्क गर्ने व्यवस्था राहदानी विभागले गर्नुपर्छ ।
अब जहाँ पायो त्यहीँ पार्क गर्न निषेध गरिएको क्षेत्रहरू, अर्काको घर अगाडि, घरको ढोका अगाडि सडकको किनारमा त्यो पनि विपरीत दिशातातर्फ पार्क गर्न मिल्छ र ? निश्चय नै यस्तो स्थितिमा नगरप्रहरी वा ट्राफिक प्रहरीले पार्क नगर्न अनुरोध गर्ने र नमानेमा जरिमाना गर्ने गर्छ नै । त्यो उनीहरूको कर्तव्य हो । तर नागरिकप्रति राज्यका निकायको व्यवहार भने रुखो र प्रतिशोधात्मक भने हुन भएन ।
खासमा भन्नुपर्दा जुन घरधनीहरू र सरकारी निकायले आफ्नो कार्यालय स्थापना गर्छन्, त्यस्ता घरधनी र सरकारी कार्यालयका साथै निजी घरका घरधनीहरूले आफ्नो घर, फ्ल्याट र कोठा कार्यालय प्रयोजन वा अन्य प्रयोजनका लागि भाडामा दिँदा सवारी साधन पार्किङको पनि व्यवस्था गर्नुपर्ने देखिन्छ । अन्यथा (सवारी साधन पार्किङ व्यवस्था गर्न नसक्नेले) आफ्नो घर, फ्ल्याट र कोठा कार्यालय प्रयोजन अथवा अन्य प्रयोजनका लागि भाडामा लाउन नपाउने नियम वा कानुन नै ल्याउनुपर्ने र लागू गर्नुपर्ने देखिन्छ ।
कतिपयले ठुलो र अग्लो घर बनाउने तर पार्किङका लागि केही व्यवस्था नगर्ने गरेको देखिन्छ । जब यस्ता घरमालिकहरूले आफ्नो घर, फ्ल्याट र कोठा कार्यालय प्रयोजन वा अन्य प्रयोजनका लागि भाडामा दिन्छन्, उनीहरूले साझा रूपमा रहेको सडक–गल्ली वा छिमेकीको घरको वरिपरि र मूल गेटकै अगाडि पार्किङ गराउने गर्छन् । त्यस्तो अवस्थामा अर्को घरको मानिसले केही बोल्यो भने उल्टै ऊ नै नराम्रो हुने गर्छ । यसरी हेर्दाखेरि हाम्रो देश नेपालमा अचम्मै हुने गर्छ ।
अन्तिममा के भनौँ भने, निजी घरधनी एवं सरकारी कार्यालयहरूले सवारी साधन पार्किङको व्यवस्था गर्नुपर्ने, अन्यथा सवारी साधन पार्किङ व्यवस्था गर्न नसक्नेहरूले आफ्नो घर, फ्ल्याट र कोठा कार्यालय प्रयोजन अथवा अन्य प्रयोजनका लागि भाडामा लाउन नपाउने नियम वा कानुन ल्याउनुपर्ने देखिन्छ । यस्तो कानुन सक्दो चाँडो लागू गर्नुपर्ने देखिन्छ । साथै यस्तो कानुन र नियम लागू नभएसम्म २४ घण्टा क्लोज सर्किट टेलिभिजन क्यामेरा (सिसिटिभी) ले हेर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
यसो गर्दा कुन सवारी साधनका चालकले कहिले अनि कहाँ कुन खालको गल्ती गरेको हो, ती सवारी चालकलाई १ हप्ता वा १ महिनाभित्र बोलाएर नियम र कानुनले तोकेअनुसार जरिमाना गरेमा युवा पुस्ताले छिट्टै र सजिलै सिक्लान्, चेत्लान् कि त ? त्यसो भएपछि कुनै पनि सवारी साधनका चालक अथवा मालिकले ट्राफिक प्रहरी वा नगर प्रहरीसँग गलफत्ती पनि गरिरहनु परेन । त्यसरी सवारी साधनका चालक अथवा मालिकले ट्राफिक प्रहरी अथवा नगर प्रहरीसँग प्रत्यक्ष रूपमा गलफत्ती गर्नु नपरेपछि त्यस्ता सवारी साधनका धनीहरूले मानसिक तनाव लिइरहनु पनि परेन । आत्महत्या गर्ने झनै टाढाको कुरो हुने भयो । हुन त यस विषयमा मनोविज्ञानका अध्येता वा मनोचिकित्सकहरूले अरू बढी भन्न र अध्ययन गर्न सक्छन् ।
प्रतिक्रिया