अब पनि राज्यले टालटुले छानबिन समिति गठन गर्ने र झारा टार्ने परम्परा दोहो¥याउने हो भने सडकहरू यसै गरी जलिरहनेछन् । जरिमाना प्रणालीलाई राजस्व संकलनको लक्ष्यसँग जोड्ने वर्तमान प्रशासनिक परिपाटी तत्काल बन्द गरिनुपर्छ । जरिमानाको दर श्रमिकको दैनिक न्यूनतम ज्यालाको अनुपातमा मात्र निर्धारण गरिनुपर्छ ।

नेपाली समाज यतिबेला फेरि एकपटक स्तब्ध र तरंगित भएको छ । ३ वर्षअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घाउ निको हुन नपाउँदै, मुगुका २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वरको व्यस्त सडकमा दिनदहाडै आफ्नो शरीरमा आगो झोसे । यो घटनाको ७२ घण्टा नबित्दै सर्लाहीका विवेक मण्डल र काठमाडौँ बुद्धनगरका आश्विन राउतले पनि आत्मदाहको प्रयास गर्नुले नेपाली समाजभित्र गुम्सिएको चरम निराशा र आक्रोश कुन हदसम्म विस्फोटको मोडमा पुगेको छ भन्ने स्पष्ट पार्छ ।
दैनिक औसत १८ देखि २० जना नेपालीले आत्महत्या गर्ने तथ्यांक आफैँमा भयावह छ । तर, गणेश नेपालीहरूको आत्मदाह आत्महत्याको एउटा अंक थपिएको मात्र होइन, यो त राज्य संयन्त्र, सिंहदरबार र सामाजिक व्यवस्थाविरुद्धको एउटा भयानक राजनीतिक र समाजशास्त्रीय विद्रोह हो । यस परिघटनालाई फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमको आत्महत्यासम्बन्धी सिद्धान्त र नेपाली राज्यको ‘राणाकालीन प्रशासकीय मानसिकता’ को कसीमा राखेर विश्लेषण गर्नु जरुरी छ ।
इमाइल दुर्खिमका अनुसार जब समाज वा राज्यको नियमन यति क्रूर, कठोर र दमनकारी हुन्छ कि व्यक्तिले आफ्नो स्वतन्त्रता र भविष्य पूर्ण रूपमा अन्धकार देख्छ, तब भाग्यवादी आत्महत्या जन्मन्छ । गणेश नेपालीको आत्मदाहको पछाडि काठमाडौँ महानगरपालिकाका नगरप्रहरीको रुखो र कठोर व्यवहार जोडिएको अपुष्ट समाचारहरू बाहिरिएका छन् । दैनिक गुजाराका लागि सडकमा श्रम गरिरहेका तृणमूल तहका जनताका लागि स्थानीय सरकार अभिभावक बन्नुपर्ने थियो । तर, कानुन कार्यान्वयनका नाममा उनीहरूलाई लखेट्ने, आतंकित पार्ने र उनीहरूको आत्मसम्मानमा चोट पु¥याउने जुन राणाकालीन पशुवत् शैलीले निरन्तरता पाएको छ, त्यसले श्रमजीवी नागरिकलाई ‘निरूपाय’ बनाइदियो ।
जब राज्य संयन्त्रमा रहनेहरू विवेकहीन र संवेदनाहीन बन्छन्, सानातिना कमी–कमजोरीलाई अवसरका रूपमा लिएर नागरिकलाई प्रताडित गर्छन्, तब सीमान्तकृत नागरिकका लागि भविष्यका सबै ढोका बन्द हुन्छन् । यही चरम प्रशासनिक उत्पीडनले युवाहरूलाई भाग्यवादी आत्मदाहको विन्दुमा धकेलेको छ ।
दुर्खिमको अर्को महत्वपूर्ण अवधारणा हो, ‘विसंगतिजन्य आत्महत्या’ । जब समाजमा तीव्र परिवर्तन हुन्छ वा नागरिकले राखेको ठुलो अपेक्षा एक्कासि भत्किन्छ, तब समाजमा एकप्रकारको नियमहीनता र शून्यता छाउँछ । नेपालमा परम्परागत दलहरूको असफलता र राज्यको चरम बेथिति उजागर गर्दै छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिहरू सत्तामा पुग्दा तृणमूल तहका जनतामा एउटा ठुलो आशा पलाएको थियो । श्रमजीवी वर्गले सोचेका थिए, अब त राज्यले उनीहरूको श्रमको सम्मान गर्नेछ । तर, सत्ताको लुछाचुँडी र पुरानै प्रवृत्तिको निरन्तरताले त्यो आशालाई तीव्र निराशामा परिणत गरिदियो । आशा र यथार्थबीचको यो विशाल खाडलले नेपाली युवा मानसपटलमा ‘एनोमी’ सिर्जना ग¥यो । गणेश नेपालीको आत्मदाह त्यही आशाभंगको भयानक उपज हो ।
दुर्खिमले आफ्नो सिद्धान्तमा समाजका लागि ज्यान दिने कार्यलाई परार्थवादी आत्महत्याको श्रेणीमा राखेका छन् । गणेश नेपालीको घटनालाई केवल व्यक्तिगत निराशाका रूपमा मात्र हेर्नु भूल हुनेछ । यो एउटा सामूहिक सन्देश र राजनीतिक विद्रोह हो । आजको नयाँ पुस्ता, विशेष गरी ‘जेनजी’ राजनीतिक र नागरिक अधिकारप्रति सचेत छ ।
उनीहरू इतिहासका रैती होइनन्, जसले शासकको हरेक लात्ती र डन्डालाई भाग्यको लेख्त ठानेर सहुन् । उनीहरूले ‘रैती’ र ‘नागरिक’ बीचको भेद बुझेका छन् । त्यसैले, जब राज्यले उनीहरूको आत्मसम्मानमा प्रहार गर्छ, उनीहरू चुपचाप कोठामा झुन्डिनुको साटो त्रिपुरेश्वर वा बानेश्वर जस्ता ‘प्रतीकात्मक सार्वजनिक स्थल’ मा आफ्नो शरीरमा आगो झोस्छन्, ताकि उनीहरूको बलिरहेको शरीरले सिंहदरबारको बन्द आँखा खोल्न सकोस् । यो व्यक्तिगत आत्मसमर्पण होइन, बरु राज्यको विद्रुप अनुहार जनसमक्ष उदांगो पार्ने एक विद्रोही चेत हो ।
७२ घण्टाभित्र ३–३ वटा आत्मदाहका प्रयास हुनुले के स्पष्ट पार्छ भने नेपालको सामाजिक र शासकीय संरचना भित्रभित्रै तीव्र रूपमा कुहिएर भत्किँदै छ । राज्य र नागरिकबीचको सम्बन्ध कसिलो हुनुको सट्टा पूर्ण रूपमा टुट्ने अवस्थामा पुगेको छ । सरकारले छानबिन समिति त गठन गरेको छ, तर प्रतिवेदनहरू दराजमा थन्क्याउनका लागि मात्र हुनु हुँदैन ।
नेपाल प्रहरीको पछिल्लो वस्तुगत तथ्यांकलाई केलाउने हो भने भित्रभित्रै जलिरहेको र भत्किरहेको नेपाली समाजको चित्र अझ बढी कहालीलाग्दो र विकराल देखिन्छ । नेपालमा वार्षिक ६ हजार ८०० देखि ७ हजार २०० भन्दा बढी नागरिकले आत्महत्याको बाटो रोज्छन्, जसको अर्थ दैनिक औसतमा १८ देखि २० जनाले आफ्नो ज्यान लिइरहेका छन् । दुःखको कुरा, यसरी ज्यान गुमाउनेहरूमा झन्डै ४६ प्रतिशत हिस्सा कृषि र अनौपचारिक श्रम क्षेत्रमा आबद्ध भुँइमान्छेहरूको छ । विद्यार्थी र युवाहरू यसको अर्को ठुलो सिकार भइरहेका छन् ।
यो त नेपाली समाजमा दुर्खिमले भनेको ‘एनोमी’ (नियमहीनता) र ‘भाग्यवादी’ संकटको प्रत्यक्ष प्रमाण हो । २०७९ सालमा प्रेमप्रसाद आचार्यले पुँजीवादी बजार, बैंकको ब्याजदर र कर्पोरेट घरानाको एकाधिकारविरुद्ध प्रश्न उठाउँदै आत्मदाह गर्दा उनको संकट मुख्यतः ‘नियमहीनतावादी’ थियो । तर, २०८३ सालमा आइपुग्दा गणेश नेपालीले भोगेको संकट ‘भाग्यवादी’ थियो, जहाँ स्थानीय प्रशासन र महानगरको गरिखान नदिने कठोर नियन्त्रण, जरिमानाको पासो र प्रशासनिक दमनले उनलाई उम्किने कुनै बाटो दिएन । प्रेमप्रसादसँग २५ बुँदे लामो वैचारिक ‘सुसाइड नोट’ लेख्ने समय थियो भने मुगुका श्रमिक गणेश नेपालीसँग सडकमै भोग्नुपरेको तात्कालिक अन्याय, अपमान र राज्यको ‘ह्विल लक’ विरुद्धको प्रत्यक्ष चित्कारबाहेक केही थिएन ।
अब सिंहदरबारले गम्भीरतापूर्वक सोच्न ढिला भइसकेको छ । नियम र कानुन कार्यान्वयन गराउने निकाय (जस्तै नगरप्रहरी वा जनपद प्रहरी) को जनशक्तिमा मानवीय संवेदना र विवेकको तालिम अनिवार्य गरिनुपर्छ । सडकमा पसिना बगाएर गुजारा गर्ने तृणमूल तहका नागरिकलाई लखेट्ने होइन, उनीहरूलाई ढुक्कसँग बाँच्न सक्ने आधार र नीतिगत भरोसा राज्यले दिनुपर्छ ।
नागरिकले सडकमा आफ्नै शरीरमा आगो झोस्न थालेपछि सिंहदरबारको जग हल्लिन्छ भन्ने यथार्थ समयमै बुझिएन भने, यो आक्रोशको डढेलोले समग्र व्यवस्थालाई नै खरानी बनाउन सक्छ । सरकार आफ्नो दायित्वबाट नडगमगाओस् ।
पूर्वीय दर्शन र हाम्रा पौराणिक ग्रन्थहरूले आत्महत्यालाई कहिल्यै स्वीकारेका छैनन्, बरु यसलाई चरम कायरता, अधर्म र अज्ञानताको पराकाष्ठा मानेका छन् । वेद, उपनिषद् र पुराणहरूमा मानव जीवनलाई दुर्लभ र अमूल्य भन्दै संघर्षबाट भाग्नुलाई महापाप भनिएको छ । गरुड पुराणमा स्पष्ट रूपमा उल्लेख छ कि आफ्नो आयु पूरा नभई प्राकृतिक नियमविपरीत स्वेच्छाले प्राण त्याग्ने जीवात्माले मुक्ति पाउँदैन, बरु लामो समयसम्म अन्धकार र प्रेतयोनीको कष्ट भोग्नुपर्छ ।
महाभारतको ‘वनपर्व’ मा एउटा सान्दर्भिक कथा छ, जहाँ १२ वर्षको कठोर वनवास र अनेकौँ हिलाम्मे हिलो र हन्डर खाँदा पनि पाण्डवहरूले कहिल्यै हरेश खाएनन् । संकटको चरम घडीमा जब अर्जुन र युधिष्ठिरमा एक किसिमको नैराश्यता देखियो, तब महर्षि व्यासले सम्झाएका थिए कि ‘जीवन एउटा युद्ध हो, र युद्धमैदान छोडेर भाग्ने क्षत्रिय कायर कहलाउँछ । आत्महत्या गर्नु भनेको ईश्वरले दिएको कर्मक्षेत्रप्रति बेइमानी गर्नु हो ।’
त्यसै गरी, ईशावास्योपनिषद् को तेस्रो श्लोकमा भनिएको छ, ‘असूर्या नाम ते लोका अन्धेन तमसाऽवृताः, ताँस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः’ अर्थात् जसले आफ्नो आत्माको हत्या गर्छन्, उनीहरू मृत्युपछि घोर अन्धकारले भरिएको सूर्यहीन लोकमा पुग्दछन् । पौराणिक मान्यताले संकटसँग जुध्ने अदम्य साहस (पुरुषार्थ) लाई मात्र धर्म मान्छ । तर, आजको समाजशास्त्रीय यथार्थ के हो भने, जब राज्यले नागरिकको त्यो ‘पुरुषार्थ’ गर्ने न्यूनतम वातावरण समेत खोसिदिन्छ, तब वैदिक शास्त्रका यी उपदेशहरू भुँइमान्छेका ओठमा फिक्का बन्न पुग्छन् ।
अब पनि राज्यले टालटुले छानबिन समिति गठन गर्ने र झारा टार्ने परम्परा दोहो¥याउने हो भने सडकहरू यसै गरी जलिरहनेछन् । जरिमाना प्रणालीलाई राजस्व संकलनको लक्ष्यसँग जोड्ने वर्तमान प्रशासनिक परिपाटी तत्काल बन्द गरिनुपर्छ । जरिमानाको दर श्रमिकको दैनिक न्यूनतम ज्यालाको अनुपातमा मात्र निर्धारण गरिनुपर्छ । दोस्रो, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यावहारिक विस्तार गरी अनौपचारिक क्षेत्रका श्रमिक, चालक र कृषि मजदुरहरूका लागि न्यूनतम प्रिमियममा राज्यले नै अनुदान थपेर आबद्ध गराउनुपर्छ, ताकि कार्यस्थलमा हुने दुर्घटना वा आर्थिक संकट पर्दा उनीहरूले राज्यको बलियो भरोसा पाउन सकून् ।
तेस्रो, सडक र फुटपाथमा स्वरोजगारमूलक व्यवसाय गर्नेहरूका लागि निश्चित स्थान र समय तोकेर उनीहरूको मर्यादित ढंगले गरिखान पाउने मौलिक हकको रक्षा गरिनुपर्छ । पौराणिक ग्रन्थले यसलाई कायरता भन्ला, तर आधुनिक समाजशास्त्रले यसलाई राज्यको लाचारीको ऐना मान्छ । जबसम्म राज्यले सडकका ह्विललकहरूलाई मात्र आफ्नो बहादुरी ठान्छ र नागरिकको पेटको भोक र मनको छटपटीलाई बुझ्दैन, तबसम्म यी तथ्यांकहरू कागजी प्रतिवेदनमा घटबढ भइरहलान्, तर समाज भित्रभित्रै पोलिइरहनेछ । अबको आवश्यकता मानसिक वा जलन अस्पतालका शय्या थप्ने वा जरिमाना बढाउने मात्र होइन, सिंहदरबारका नीतिहरूलाई श्रममैत्री, न्यायपूर्ण र मानवीय बनाउने हो । राज्यले बेलैमा हेक्का राखोस्, भुइँमान्छेहरूको यो चित्कार र आगोको लप्काले अन्ततः सिंहदरबारकै दम्भको जगलाई भस्म पार्न सक्छ ।
प्रतिक्रिया