लगानीकर्ताको घट्दो मनोबल र पुँजी बजारको संकट

देशमा स्थिर सरकार, न्यून ब्याजदर र पर्याप्त तरलता जस्ता अनुकूल वातावरण हुँदाहुँदै पनि सेयर बजार निरन्तर ओरालो लाग्नु चिन्ताजनक छ । बजेट र मौद्रिक नीतिले लगानीकर्ताको मनोबल बढाउन नसकेको वर्तमान अवस्थामा सरकार तथा नियामक निकायहरू बजारप्रति गम्भीर र सकारात्मक बन्नै पर्छ

०००

नरेन्द्रमान श्रेष्ठ

देशको एकमात्र सेयर बजारको वर्तमान अवस्थालाई हेर्दा कतिपय लगानीकर्ताहरूले ‘घण्टीमा छाप, पोर्टफोलियो साफ’ भन्दै व्यंग्य गर्न थालेका छन् । यसलाई सेयर बजारका लागि खतराको घण्टीका रूपमा समेत हेरिएको छ । बजारको यही अवस्था रहिरहे आगामी दिनमा लगानीकर्ताहरूको पोर्टफोलियो १० प्रतिशत मात्र बाँकी रहने हो कि भन्ने चिन्ता छाएको छ ।

कतिपय लगानीकर्ताहरूको भनाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वालेन्द्र साह (बालेन ) को संयुक्त नेतृत्वमा सरकार बनेपछि देशको पुँजी बजार ध्वस्त हुने खतरामा परेको छ । नयाँ सरकार गठन भएयता सेयर बजार ओरालो लागेको कुरालाई नकार्न सकिँदैन । रास्वपाका समर्थकहरू यसमा सरकारको कुनै गल्ती नभएको दाबी गर्छन् । खासगरी आमलगानीकर्ताहरू भने सेयर बजारको यो हविगत देखेर अर्थमन्त्रीमाथि खनिएका छन् । बजार निरन्तर ओरालो लाग्दासमेत अर्थमन्त्रीले कुनै चासो नदेखाएको भन्दै उनीहरू आक्रोश पोखिरहेका छन् ।
अर्कातर्फ, दलका अन्धभक्त मानिने केही लगानीकर्ताहरू भने सरकार र अर्थमन्त्रीको बचाउमा लागिपरेका छन् । तर, वर्तमान सरकार आएपछि सेयर बजार ओरालो लागेको सत्य हो, यसमा दुई मत छैन । सरकारले यसको वास्तविक कारण खोज्नुपर्नेमा कानमा तेल हालेर र आँखा चिम्लेर बसेको देखिन्छ । सेयर बजारले राज्यलाई अर्बौं रुपैयाँ लाभकरका रूपमा राजस्व बुझाउँदै आएको छ । यस्तो संवेदनशील बजार ध्वस्त हुने खतरा मडारिइरहँदा पनि सरकार मौन बस्नुलाई सरकारको अकर्मण्यता नै मान्नुपर्छ ।

पुँजी बजारले देशको विकासका लागि आवश्यक पुँजी जुटाउन मद्दत गर्छ भन्ने कुरा सरकारलाई थाहा हुनुपर्ने हो । ओरालो लागेको सेयर बजारलाई आर्थिक वर्ष २०८३÷०८४ को बजेट र मौद्रिक नीतिले समेत उकास्न सकेन । मौद्रिक नीति जारी भएको भोलिपल्टै नेप्से झन्डै ३१ अंकले घट्यो । बजारलाई न त पिएचडीधारी अर्थमन्त्रीले बचाउन सके, न त बजेट र मौद्रिक नीतिले नै । लगानीकर्ताका लागि यो बजेट र मौद्रिक नीति ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भएको छ ।

यद्यपि, यसपालिको बजेट र मौद्रिक नीतिमा केही सकारात्मक पक्षहरू पनि नभएका होइनन् । बजेटले व्यक्तिगत लगानीकर्ताका लागि पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्ने व्यवस्था गरेको छ, जुन स्वागतयोग्य छ । त्यसैगरी, गैरआवासीय नेपालीहरूलाई सेयर बजारमा भित्र्याउने कुरा गरिएको छ । यो विगतका बजेटहरूमा पनि सुनिँदै आएकाले यसमा नयाँपन भने केही छैन । तर, यसपालि सेयर बजारमा ‘इन्ट्रा–डे ट्रेडिङ’ ‘सर्ट सेलिङ’ जस्ता अन्तर्राष्ट्रिय अभ्यासहरू सुरुआत गरिने भनिएको छ । यसले बजारको दायरा र कारोबार बढाउनुका साथै तरलता अभाव हुन नदिने सरोकारवालाहरूको भनाइ छ ।

अर्कातर्फ, नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशत कायम राखी बाँकी ३४ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने र राष्ट्रिय बिमा संस्थानको सेयर पनि सर्वसाधारणमा ल्याउने घोषणा गरिएको छ । विगतमा बैंक तथा वित्तीय संस्थाहरूको मर्जरका कारण सेयरको आपूर्ति अत्यधिक भई बजारले गति लिन नसकेको अवस्था छ । यस्तो अवस्थामा नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानको थप सेयर आपूर्ति बजारले धान्न सक्ला कि नसक्ला भन्ने संशय पैदा भएको छ ।

अहिले देशमा झण्डै दुई–तिहाइ नजिकको एकल, बलियो र स्थायी सरकार छ । तैपनि सेयर बजार किन बढ्न सकिरहेको छैन ? भन्ने आमलगानीकर्ताको प्रश्न छ । कतिपय बजार विश्लेषक र विज्ञहरूका अनुसार बैंकको ब्याजदर घटेपछि र देशमा स्थायी सरकार बनेपछि सेयर बजार बढ्छ भन्ने मान्यता थियो । तर, पछिल्लो समय बजारले यो मान्यतालाई गलत साबित गरिदिएको छ ।

बैंकको ब्याजदर र सेयर बजारबीच विपरीतसम्बन्ध हुन्छ भनिन्छ, अर्थात् ब्याजदर बढे बजार घट्ने र ब्याजदर घटे बजार बढ्ने । यदि त्यसो हो भने, अहिले बैंकहरूको ब्याजदर एकल अंकमा झर्दा र बैंकहरूमा पर्याप्त तरलता हुँदा पनि नेप्से र कारोबार रकम किन बढ्न सकेको छैन ? यसको जबाफ सरकारले खोज्नुपर्छ । सेयर बजारका लागि अहिले अनुकूल वातावरण बन्दै गएको छ – ब्याजदर न्यून छ, तरलता सहज छ र स्थिर सरकार छ । तैपनि बजारले गति लिन सकेको छैन ।

लगानीकर्ताहरूले व्यंग्य गर्दै सोध्न थालेका छन्, के सेयर बजारले विदेशमा पढेका चर्चित अर्थविद् डा.स्वर्णिम वाग्लेलाई नपत्याएको हो ? के लगानीकर्ताहरूलाई अर्थमन्त्रीका रूपमा विष्णु पौडेल नै चाहिएको हो ? वास्तवमा, विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजार सधैँ लयमा फर्किएको इतिहास छ । विगत हेर्दा पिएचडी होल्डरहरू अर्थमन्त्री हुँदा सेयर बजारले दुःख पाएको देखिन्छ । डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजार झन्डै ध्वस्त भएको थियो, डा.युवराज खतिवडाको कार्यकालमा पनि बजार सुस्तायो र अहिले डा.स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा नेप्से सूचक मात्र होइन, कारोबार रकमसमेत निकै खस्किएको छ ।

सेयर बजार सुधार हुनका लागि सरकार, अर्थमन्त्री र केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) का गभर्नर सबै पुँजी बजारप्रति सकारात्मक र बजारमैत्री हुनुपर्छ । अहिलेको बलियो स्थायी सरकार पनि सेयर बजारका लागि कागजको बाघ जस्तै सिद्ध भएको छ । बजारका नियामक निकायहरू सकारात्मक नभएसम्म बजारले गति लिन सक्दैन । चौतर्फी अनुकूल वातावरण हुँदाहुँदै पनि लगानीकर्ताको मनोबल किन बढ्न सकेको छैन र उनीहरू किन त्रासमा छन् भन्ने कुराको गम्भीर समीक्षा सरकारले गर्नुपर्ने बेला आएको छ ।

बजार घट्नुमा सरकारको मात्र दोष नभई कतिपय लगानीकर्ताहरू स्वयं पनि सचेत नभएका हुन् कि भन्ने देखिन्छ । सेयर बजारका लगानीकर्ताहरू बजारका प्राविधिक र आधारभूत पक्षबारे जानकार, सचेत र विशेष गरी धैर्य गर्न सक्ने हुनु जरुरी छ ।

प्रतिक्रिया