
काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३.५१ प्रतिशत आम्दानी र ८०.५५ प्रतिशत खर्च भएको देखिएको हो ।
सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख रूपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
चालु शीर्षकमा गत आव सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड रूपैयाँ विनियोजन गरेकामा त्यसको ८८.४ प्रतिशत खर्च भएको छ । गत आवको कुल चालुगत बजेट खर्च १० खर्ब ४३ अर्ब ९९ करोड ६२ लाख रूपैयाँ छ ।
पुँजीगत खर्च निकै कमजोर देखिएको छ । यस अवधिमा जम्मा १ खर्ब ९० अर्ब ८४ करोड १४ लाख रूपैयाँ खर्च भएको छ । जुन लक्ष्यको ४६.७९ प्रतिशत मात्र हो ।
गत आर्थिक वर्षका लागि पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रूपैयाँ विनियोजन गरिएको थियो । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ४७ अर्ब ३३ करोड ६ लाख रूपैयाँ खर्च भएको छ । जुन खर्च ९२.५६ प्रतिशत हो ।
वित्तीय व्यवस्था शीर्षकका लागि गत आव ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रूपैयाँ विनियोजन गरिएको थियो । सरकारको राजस्व असुली लक्ष्यभन्दा कम देखिएको छ ।
गत आवका लागि सरकारले कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, १२ खर्ब ८० अर्ब ६५ करोड ३६ लाख रूपैयाँ मात्र राजस्व संकलन भएको छ । जुन लक्ष्यको ८३.५१ प्रतिशत कम हो । गत आवका लागि सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रूपैयाँ वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेको थियो यद्यपि लक्ष्यको ५८.५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रूपैयाँ अनुदान आएको छ ।
प्रतिक्रिया