
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रदर्शनोन्मुख नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल बन्द गर्न माग गरेको छ ।
आगामी भदौ ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रको हालै सार्वजनिक भएको प्रचार सामग्री (गीत) ले शिक्षक र शिक्षण पेसाकै गरिमामाथि प्रहार गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघको राष्ट्रिय समिति सानोठिमी, भक्तपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको दाबी गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त विवादित गीतलाई तुरुन्त प्रसारण बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ ।
शिक्षण पेसा जस्तो संवेदनशील र मर्यादित क्षेत्रलाई नजरअन्दाज गर्दै सिर्जना गरिएको यस्ता सामग्रीले समाजमा नकारात्मक असर पुर्याउने महासंघको ठहर छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, यदि महासंघको यस आग्रहलाई बेवास्ता गरी उक्त गीतलाई निरन्तरता दिइएमा त्यसबाट उत्पन्न हुन सक्ने जुनसुकै असहज परिणामको जिम्मेवार चलचित्र निर्माता तथा त्यससँग आबद्ध कलाकारहरू नै हुनुपर्ने चेतावनी समेत दिइएको छ । पत्र संख्या २९–२०८३ रहेको उक्त विज्ञप्ति २०८३ साल साउन १ गते जारी गरिएको छ ।

प्रतिक्रिया